डब्लुएचओ द्वारा मंकीपक्स सम्बन्धी उपचार तथा संक्रमण नियन्त्रणका नयाँ सिफारिस सार्वजनिक

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकीपक्स (एमपक्स) रोगको उपचार तथा संक्रमण नियन्त्रणका लागि नयाँ सिफारिसहरू सार्वजनिक गरेको छ। यी सिफारिसहरू अस्पताल, समुदाय र घरमा हेरचाह गरिने सबै प्रकारका बिरामीहरूमा लागू हुनेछन्।
संगठनले भने अनुसार, यदि बिरामीमा गम्भीर लक्षण छन् वा जटिलता आउने जोखिम छ भने उनीहरूलाई स्वास्थ्य संस्थामा भर्ना गर्नुपर्नेछ ।हल्का र जटिलता नभएका बिरामीहरूलाई भने घरमै हेरचाह गर्न सकिनेछ।
डब्लुएचओले सन् २०२२ मा मंकीपक्स सम्बन्धी अन्तरिम मार्गदर्शन जारी गरेको थियो। तर हालैका वर्षहरूमा मंकीपक्स भाइरस को रूपान्तरण र फैलावटको ढाँचामा परिवर्तन आएको भन्दै नयाँ सिफारिस ल्याइएको हो।
सन् २०२४ देखि अफ्रिकी देशहरूमा क्लेड १ बी को संक्रमण तीव्र गतिमा फैलिएको छ र अन्य महादेशहरूमा समेत संक्रमण देखिन थाले पछि डब्लुएचओ का महानिर्देशकले मंकीपक्स लाई पुनः अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेका हुन।
स्वास्थ्य संस्थामा लागु हुने सिफारिसहरू
स्वास्थ्यकर्मीले बिरामीको अवस्था अनुसार पञ्जा, गाउन, मास्क र आँखाको सुरक्षा प्रयोग गर्नु पर्ने।यदि एयरोसोल उत्पन्न हुने प्रक्रिया भइरहेको छ वा कोठा कम भेन्टिलेटेड छ भने, रेस्पिरेटर अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ।
घरमै उपचार गरिने बिरामीका लागि
घाउहरू राम्ररी ढाकिएको र बिरामीले राम्रो फिट हुने मास्क लगाएको खण्डमा आइसोलेसन आवश्यक नपर्ने। मास्क लगाउन नसक्ने वा घाउ नढाक्न सक्ने बिरामीहरूलाई भने घरमै आइसोलेट गर्नु पर्ने। घरमा संक्रमण फैलिन नदिन सरसफाइ तथा सतह निसंक्रमणमा ध्यान दिन सुझाव दिइएको छ।
चिकित्सकीय सिफारिसहरूमा
मंकीपक्स लागेका आमाहरूले आफ्नो शिशुलाई प्रत्यक्ष सम्पर्क सीमित गर्दै स्तनपान जारी राख्न सक्ने। संक्रमण निको भइसकेपछि स्तनपान र सम्पर्क चाँडै पुनः सुरु गर्न सकिने।
एचआईभी साथ रहेका र औषधि सुरु नगरेका बिरामीहरूलाई चाँडोभन्दा चाँडो एन्टीरेट्रोभाइरल थेरापी सुरु गर्न डब्लुएचओ को सिफारिस छ।
प्रतिक्रिया दिनुहोस