गोलीगाँठो फ्र्याक्चरमा शल्यक्रिया भन्दा प्लास्टर सुरक्षित र प्रभावकारी: बीएमजे अध्ययन
काठमाडौं – गोलीगाँठोको हड्डीमा फ्र्याक्चर भए पनि एक्सरे मा जोड मिलेको देखिने तर स्ट्रेस टेस्टमा अस्थिर देखिने ‘वेबर बी’ प्रकारका फ्र्याक्चरमा शल्यक्रियाको सट्टा साधारण प्लास्टर उपचार पनि उत्तिकै प्रभावकारी र अझ सुरक्षित हुने देखिएको छ।
प्रतिष्ठित मेडिकल जर्नल द ब्रिटिस मेडिकल जर्नल (द बीएमजे) मा १४ जनवरी २०२६ मा प्रकाशित एक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। बीएमजेमा प्रकाशित उक्त अध्ययन 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ।
फिनल्यान्डको एक विश्वविद्यालय अस्पतालमा सन २०१३ देखि २०२१ सम्म गरिएको ‘सुपर फिन’ नामक र्यान्डमाइज्ड क्लिनिकल परीक्षणमा १ सय २६ जना बिरामी सहभागी थिए। सबै बिरामीको गोलीगाँठोको बाहिरी भाग (ल्याटेरल म्यालियोलस) मा फ्र्याक्चर भएको थियो। प्रारम्भिक एक्सरे मा हड्डीको जोड मिलेको देखिए पनि ‘एक्सटर्नल रोटेसन स्ट्रेस टेस्ट’ गर्दा ती फ्र्याक्चर अस्थिर ठहरिएका थिए।
अध्ययन अन्तर्गत बिरामीलाई दुई समूहमा विभाजन गरिएको थियो। एक समूहका ६२ जनालाई छ साता सम्म प्लास्टर (कास्ट इमोबिलाइजेसन) लगाएर उपचार गरिएको थियो। अर्को समूहका ६४ जनालाई प्लेट र स्क्रु प्रयोग गरी शल्यक्रिया गरेर त्यस पछि ६ साता सम्म प्लास्टर लगाइएको थियो।
दुई वर्ष सम्म गरिएको फलो अप मूल्याङ्कनमा दुवै समूहको गोलीगाँठोको कार्यक्षमता लगभग समान देखिएको अध्ययनले जनाएको छ। खुट्टाको कार्यक्षमता मापन गर्ने मुख्य सूचक ‘ओलेरुड मोलान्डर एङ्कल स्कोर’ अनुसार प्लास्टर समूहको औसत स्कोर ८९ र शल्यक्रिया समूहको ८७ थियो। अनुसन्धानकर्ताहरूका अनुसार यो अन्तर चिकित्सकीय रूपमा महत्वपूर्ण मानिँदैन।
दुखाइ, जीवन स्तर, गोलीगाँठोको चाल तथा एक्सरे का नतिजामा पनि दुवै समूह बीच उल्लेखनीय भिन्नता देखिएन। दुवै समूहमा एक एक जना बिरामीमा हड्डी नजोडिने समस्या देखिएको थियो।
तर शल्यक्रिया गरिएको समूहमा जटिलता तुलनात्मक रूपमा बढी देखिएको छ। एक जनामा सतही (सुपरफिसियल) सङ्क्रमण र एक जनामा घाउ ढिलो निको हुने समस्या देखिएको थियो। साथै, ९ जनामा शरीर भित्र राखिएको हार्डवेयर (प्लेट, स्क्रु) आदि हटाउन पुनः शल्यक्रिया गर्नु परेको थियो। ती मध्ये दुई जनामा फेरि सङ्क्रमण देखिएको अध्ययनमा उल्लेख छ।
अनुसन्धानकर्ताहरूका अनुसार एक्सरे मा जोड मिलेको देखिने तर स्ट्रेस टेस्टमा अस्थिर देखिने ‘वेबर बी’ प्रकारका गोलीगाँठो फ्र्याक्चरमा शल्यक्रिया अनिवार्य नहुन सक्छ। अध्ययनले प्लास्टर उपचार शल्यक्रिया भन्दा कम प्रभावकारी नभएको र उपचार सम्बन्धी जोखिम पनि कम हुने देखाएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस