राति साढे १ घण्टा कम सुत्दा ६ हप्तामै तौल र कम्मरको घेरा बढ्न सक्छ: अध्ययन


काठमाडौँ- यदि तपाईं प्रत्येक रात आवश्यक भन्दा साढे १ घण्टा मात्र कम सुत्नुहुन्छ भने, यसले ६ साता भित्रै तपाईंको शरीरको तौल र कम्मरको घेरा बढाउन सक्ने एक नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ। प्रतिष्ठित जर्नल ‘एनाल्स अफ इन्टरनल मेडिसिन’ मा प्रकाशित अनुसन्धानले कम निद्राले मानिसलाई शारीरिक रूपमा निष्क्रिय बनाउने मात्र नभई तौल बढाउने हर्मोन सक्रिय गराउने पुष्टि गरेको हो। ।एनाल्स अफ इन्टरनल मेडिसिन मा प्रकाशित यो अध्ययनलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ ।

अमेरिकाको नेसनल इन्स्टिच्युट्स अफ हेल्थ र अमेरिकन हार्ट एसोसिएसनको आर्थिक सहयोगमा गरिएको यो अध्ययन दुई वटा र्यान्डमाइज्ड क्रसओभर क्लिनिकल परीक्षणको संयुक्त विश्लेषणमा आधारित हो।

अनुसन्धानमा २० वर्ष वा सो भन्दा माथिका ९५ जना वयस्क सहभागी थिए, जो सामान्यतया दैनिक ७ घण्टा वा सो भन्दा बढी सुत्ने तर मुटु तथा मेटाबोलिक (कार्डियोमेटाबोलिक) रोगको उच्च जोखिममा रहेका थिए। उनीहरूलाई एक चरणमा ६ साता सम्म पर्याप्त निद्रा दिइयो भने अर्को चरणमा प्रत्येक रात सुत्ने समय औसत १.५ घण्टाले घटाइयो। दुवै चरण बीच केही साताको ‘वाशआउट’ अवधि राखिएको थियो।

अध्ययनका क्रममा कम निद्रा लिने समूहको सुताइ औसत ७८.४ मिनेटले घटेको थियो। पर्याप्त निद्रा लिनेहरूको तुलनामा कम सुत्नेहरूको तौल औसत ०.४५ किलोग्राम, कम्मरको घेरा ०.५२ सेन्टिमिटर र शरीरको कुल आयतन ०.५६ लिटरले बढेको अनुसन्धानले देखाएको छ।

त्यस्तै, कम सुत्नेहरू दैनिक औसत १७.२ मिनेट बढी समय निष्क्रिय रहेको पाइयो, जसले ऊर्जा खर्च कम हुन मद्दत गरेको अनुसन्धानकर्ता हरूले बताएका छन।

अध्ययनमा भोक र ऊर्जा सन्तुलनसँग सम्बन्धित लेप्टिन हर्मोनको स्तर पनि कम निद्राको अवस्थामा बढेको देखिएको छ ।अनुसन्धान कर्ताहरूका अनुसार निद्राको कमीले शरीरको ऊर्जा सन्तुलनमा असर पार्ने र त्यसबाट तौल बढ्न सक्ने सम्भावना रहेको संकेत यसले दिएको छ।

यद्यपि, अनुसन्धानकर्ताहरूले ६ साताको अध्ययन अवधि शरीरको बोसोको संरचनामा दीर्घकालीन परिवर्तन मूल्याङ्कन गर्न पर्याप्त नभएको र देखिएको तौल वृद्धि मध्यम स्तरको रहेको उल्लेख गरेका छन।

अध्ययनको निष्कर्षमा लामो समय सम्म आवश्यक भन्दा कम सुत्ने बानीले तौल बढाउने जोखिम बढ्न सक्ने भएकाले तौल नियन्त्रण तथा मुटु र मेटाबोलिक रोगको रोकथामका कार्यक्रमहरूमा सन्तुलित आहार र नियमित शारीरिक गतिविधि सँगै पर्याप्त निद्रालाई पनि मुख्य रणनीतिका रूपमा समावेश गर्नुपर्ने सुझाव दिइएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!