छाला रोग उपचारमा व्यापार भन्दा सेवालाई प्राथमिकता दिन प्रा. डा. अनिल झाको आग्रह
काठमाडौं – दि स्किन हस्पिटल एण्ड रिफरल सेन्टर प्रालि को १७ औं वार्षिक उत्सव समारोहमा संस्थापक अध्यक्ष तथा सञ्चालक समितिका कार्यकारी अध्यक्ष प्रा. डा. अनिल कुमार झाले डर्मेटोलोजी क्षेत्रमा बढ्दो व्यवसायिक प्रवृत्ति प्रति चिन्ता व्यक्त गर्दै चिकित्सकले पहिलो प्राथमिकतामा क्लिनिकल डर्मेटोलोजी राख्नु पर्ने बताएका छन।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. झाले हाल प्रत्येक १० मिटरको दूरीमै स्किन सेन्टर देखिन थालेको उल्लेख गर्दै ती अधिकांश केन्द्रले ‘एस्थेटिक’ (सौन्दर्य) शब्दलाई मुख्य आकर्षणका रूपमा प्रयोग गरिरहेको बताए। ‘एस्थेटिकलाई प्राइम इम्पोर्टेन्स नदिनुस। सबै भन्दा पहिले तपाईं क्लिनिकल डर्मेटोलोजिस्ट हुनु पर्छ, त्यस पछि मात्रै एस्थेटिक लगायत अन्य सेवा थप्दै जानुस,’ उनले भने।
आफूले नेपालमा सन १९९४ मै पहिलो पटक हेयर ट्रान्सप्लान्टेसन गर्ने अवसर पाएको स्मरण गर्दै उनले आफू रूढिवादी नभए पनि कहिल्यै बोर्डमा ‘डर्मेटो सर्जन’ वा ‘एस्थेटिक डर्मेटोलोजिस्ट’ जस्ता शब्द प्रयोग नगरेको बताए। ‘हामीलाई पहिला क्लिनिकल डर्मेटोलोजिस्ट हुनैपर्छ,’ उनको जोड थियो।
प्रा. डा. झाले बिरामीप्रतिको दृष्टिकोणमा पनि सुधार आवश्यक रहेको बताए। बिरामी आउने बित्तिकै आर्थिक फाइदाको हिसाबले सोच्ने प्रवृत्ति गलत भएको उनको भनाइ छ। ‘यो बिरामी आज आएको छ, भोलि नआउला भनेर लेजर, केमिकल पिलिङ लगायतका सबै प्रक्रिया गरिदिउँ भन्ने सोच डाक्टरले गर्नु हुँदैन,’ उनले भने।
उनका अनुसार धेरै बिरामीले आफैं लेजर जस्ता प्रक्रिया गर्न आग्रह गर्ने गरे पनि चिकित्सकले त्यसका सबै सकारात्मक र नकारात्मक पक्ष स्पष्ट रूपमा जानकारी गराउनु पर्छ। ‘बिरामीको दृष्टिकोणबाट सोचौँ, पैसा कमाउने दृष्टिकोणले होइन,’ उनले स्पष्ट शब्दमा भने।
समारोहमा प्रा. डा. झाको सम्बोधनले डर्मेटोलोजी अभ्यासमा नैतिकता, पेशागत जिम्मेवारी र बिरामी केन्द्रित सेवाको आवश्यकता पुनः स्मरण गराएको सहभागीहरूले बताएका छन्।
एमडीमा उत्कृष्ट चिकित्सकहरू पुरस्कृत
अस्पतालले आफ्नो वार्षिक उत्सवको अवसरमा चिकित्सा शिक्षाको ‘एमडी डर्मेटोलोजी’ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विश्वविद्यालयका चिकित्सकहरूलाई सम्मानित गरेको छ। सम्मानित हुने हरूमा डा. छिरिङ डोल्मा गुरुङ (त्रिभुवन विश्वविद्यालय), डा. ज्योति भारी (काठमाडौँ विश्वविद्यालय), डा. सुवास पौडेल (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान), डा. अस्मिता आचार्य (न्याम्स, वीर अस्पताल), डा. सबीना महर्जन (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान) रहेका छन । उक्त कार्यक्रममा यी सबै चिकित्सकहरूलाई सम्मान पत्र, ११ हजार १११ रुपैयाँ नगद पुरस्कार र ‘प्रा. अनिल तथा साधना पदक’ प्रदान गरिएको थियो।
न्यूजलेटर विमोचन र विशेष सम्मान
कार्यक्रममा अस्पतालको वार्षिक गतिविधि समेटिएको ‘न्यूजलेटर’ पनि विमोचन गरिएको थियो। सोही अवसरमा वरिष्ठ चिकित्सक डा. विजय बहादुर राजभण्डारीलाई उहाँको सेवा र योगदानको कदर गर्दै विशेष सम्मान समेत प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस