गाजल, सिन्दूर र टुथपेस्टमा ‘सिसा’को साम्राज्य: जनस्वास्थ्यमाथि गम्भीर खेलबाड, प्रख्यात ब्रान्डहरू नै असुरक्षित
काठमाडौँ – नेपालमा दैनिक उपभोग गरिने सौन्दर्य प्रसाधन र व्यक्तिगत सरसफाइका सामग्रीहरूमा भेटिएको अत्यधिक ‘सिसा’ (लिड) को मात्राले सरकारी अधिकारी र विज्ञहरू माझ हलचल पैदा गरेको छ। जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड) को पछिल्लो अध्ययनले हाम्रा भान्छा र शृङ्गार कोठामा विषालु धातुको प्रवेश भएको पुष्टि गरेको छ।
प्रख्यात ब्रान्डहरू समेत असुरक्षित
अचम्मको कुरा के छ भने, बजारमा धेरै बिक्री हुने र विश्वसनीय मानिने ब्रान्डका उत्पादनमा समेत सिसाको उपस्थिति डरलाग्दो भेटिएको छ। प्रतिवेदनका अनुसार निम्न उत्पादनहरूमा सिसा भेटिएको छ:
- मञ्जन (टूथपेस्ट): पेप्सोडेन्ट, कोलगेट, दन्त कान्ति, क्लोज अप, डाबर रेड।
- सिन्दूर र गाजल: ममता सिन्दूर र पतञ्जली गाजल।
विज्ञहरूका अनुसार यो विषालु धातुले बालबालिकाको मस्तिष्क विकास रोक्ने, गर्भवतीको गर्भ खेर फाल्ने र वयस्कमा मिर्गौला तथा मुटुको रोग निम्त्याउँछ।
‘शून्य विषाक्तता नै हाम्रो लक्ष्य हुनुपर्छ’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन, ‘दैनिक उपभोग्य वस्तुमा हेभी मेटल हुनु खतराको घण्टी हो। कुनै पनि वस्तुमा लेड विषाक्तता शून्य हुनु नै उत्तम हो।’ यस्तै, स्वास्थ्य मन्त्रालयका डा. समीर अधिकारीले यसबारे थप विस्तृत अध्ययन आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय बालअधिकार परिषद्की सदस्य सचीव इंदिरा देवि ढकालले सरकारले तत्काल ‘लेडको अधिकतम अनुमति सीमा’ (स्टै्न्डर्ड लिमीट) लागू गर्नुपर्नेमा जोड दिएकी छन् ।
अध्ययनले देखाएको डरलाग्दो चित्र
काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरबाट संकलन गरिएका १०० नमुनाहरूको परीक्षण गर्दा ३१% मा सिसा भेटिएको छ ।
मुख्य तथ्यहरू:
सिन्दूर: ४०% नमुनामा सिसा भेटियो, जुन स्वास्थ्यका लागि घातक छ।
मञ्जन: ४५% नमुनामा सिसा पाइयो। बालबालिकाले प्रयोग गर्ने टुथपेस्ट मा समेत यसको मात्रा उच्च छ।
सहरको अवस्था: काठमाडौँमा सबैभन्दा बढी (४२.५%) नमुनाहरू प्रदूषित पाइएका छन्।
नियमन गर्ने कानुनको अभाव
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालका अनुसार नेपालमा सौन्दर्य प्रसाधन नियमन गर्ने छुट्टै एजेन्सी छैन। औषधि ऐनमा संशोधन नभए सम्म यस्ता वस्तुलाई प्रभावकारी रूपमा रेगुलेट गर्न कठिन रहेको उनले स्वीकार गरे।
वातावरण वैज्ञानिक एवं सिफेडका कार्यकारी निर्देशक रामचरित्र साहले ‘हर्बल’ भनिएका सामग्रीमा झन् बढी सिसा भेटिनु चिन्ताको विषय भएको बताएका छन।
स्वास्थ्यमा हुने गम्भीर असरहरू
- बालबालिकामा: बौद्धिक क्षमता (आइक्यू) घट्ने, पढ्न लेख्न समस्या हुने र एएचएचडी जस्ता व्यवहारिक समस्या।
- गर्भवतीमा: गर्भ खेर जाने वा समय नपुगी बच्चा जन्मिने जोखिम।
- दीर्घरोग: मिर्गौला, मुटु र उच्च रक्तचापको समस्या।
विज्ञहरूको सुझाव
उपभोक्ताहरूले सामग्री खरिद गर्दा ‘सिसा परीक्षण गरिएको’ (लेड टेस्टेड) प्रमाणित लेबुल मात्र हेर्न र बालबालिकालाई गाजलको प्रयोग नगराउन विज्ञहरूले आग्रह गरेका छन्। सरकारले तत्काल अनिवार्य राष्ट्रिय मापदण्ड लागू गरी बजार अनुगमन बढाउनु पर्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस