अनुसन्धान
छालाको स्क्यानबाटै मुटु रोगको जोखिम पत्ता लाग्ने प्रविधि, क्यापिलरी तहसम्म खराबी देखियो
काठमाडौँ – छालाको साधारण स्क्यानबाटै मुटु तथा रक्तनली रोगको सुरुआती जोखिम पहिचान गर्न सकिने नयाँ इमेजिङ प्रविधि विकास भएको छ।
जर्मनीको हेल्महोल्ट्ज म्युनिख र टेक्निकल युनिभर्सिटी अफ म्युनिख (टियुएम) का वैज्ञानिकहरूले विकास गरेको रास्टर-स्क्यान अप्टोअकोस्टिक मेसोस्कोपी (आरएसओएम) अर्थात ‘फास्ट-आरएसओएम’ (एफआरएसओएम) नामक प्रविधिले शल्यक्रिया बिना छाला मुनिका एक एक क्यापिलरी सम्मको कार्यक्षमता मापन गर्न सफल भएको हो।
अध्ययन अनुसार मुटु रोग सुरु हुने सबै भन्दा प्रारम्भिक खराबी ठूला धमनीमा होइन, साना रक्तनली अर्थात् माइक्रो भास्कुलर तहमा देखिन थाल्छ। यस अवस्थालाई ‘माइक्रोभास्कुलर एन्डोथेलियल डिस्फङ्सन’ (एमआईभीइडी) भनिन्छ, जसको प्रत्यक्ष र सुरक्षित मापन अहिले सम्म सम्भव थिएन।
धूम्रपान र मुटु रोगको असर छालामै देखियो
अनुसन्धान टोलीले ‘एफआरएसओएम’ प्रयोग गरी धूम्रपान गर्ने व्यक्ति र एथेरोस्क्लेरोटिक मुटु रोग भएका बिरामीको छालामा परीक्षण गरेको थियो। नतिजाले देखायो कि धूम्रपान र मुटु रोग दुवैले छालाका साना रक्तनलीको कार्य क्षमतामा स्पष्ट असर पार्छन। तर संरचनात्मक रूपमा ती रक्तनली सामान्य देखिनु, कार्यगत खराबी नै रोगको अझै सुरुआती संकेत भएको वैज्ञानिकहरूको निष्कर्ष छ।
अध्ययनमा विशेष गरी छालाको दुई तह, सब प्यापिलरी डर्मिस र रेटिकुलर डर्मिस मा फरक फरक असर देखिएको छ। धूम्रपान गर्ने र मुटु रोग भएका व्यक्तिमा सतही तहका क्यापिलरी बढी प्रभावित देखिएका छन, जुन परम्परागत डप्लर वा अन्य स्क्यान प्रविधिले छुट्याउन सक्दैनथे।
‘पहिलो पटक एक एक क्यापिलरीको प्रतिक्रिया मापन गर्न सक्यौँ’
हेल्महोल्ट्ज म्युनिखका अनुसन्धानकर्ता तथा अध्ययनका प्रमुख लेखक डा.हाइलोङ हे भन्छन, ‘फास्ट-आरएसओएमको प्रयोगबाट हामीले पहिलो पटक मानिसको शरीरमा एक एक क्यापिलरीको स्तर मै रक्तनलीको कार्यक्षमता हेर्न सकेका छौँ। यो पूर्ण रूपमा गैर आक्रामक(नन इनभेसिभ) र सुरक्षित विधि हो।’
टियुएम अस्पतालका भास्कुलर सर्जन तथा सह लेखक डा. एन्जेलोस कार्लासका अनुसार यो प्रविधिले मुटु रोग कसरी सूक्ष्म तहबाट विकसित हुँदै जान्छ भन्ने विषयमा प्रत्यक्ष प्रमाण दिएको छ। ‘लक्षण देखिनु अघि नै जोखिम देखिनु नै यसको सबैभन्दा ठूलो उपलब्धि हो,’ उनले भने।
अनुमान होइन, प्रत्यक्ष प्रमाण
अनुसन्धानमा ‘पोस्ट ओक्लुसिभ रियाक्टिभ हाइपरेमिया’ परीक्षण मार्फत रक्तनलीको प्रतिक्रिया मापन गरिएको थियो। ‘एफआरएसओएम’ ले रक्तनली कति फैलियो, कति छिटो प्रतिक्रिया आयो र कति समय मै चरम बिन्दुमा पुग्यो भन्ने तीन प्रमुख जैविक सूचक (बायोमार्कर) पहिचान गरेको छ। यी सूचकहरू धूम्रपान गर्ने र मुटु रोग भएका व्यक्तिमा उल्लेख्य रूपमा कमजोर देखिएका छन्।
वैज्ञानिकहरूका अनुसार यसले अहिले प्रयोग हुँदै आएका अनुमानमा आधारित जोखिम मूल्याङ्कन विधिलाई चुनौती दिन सक्छ। भविष्यमा जीवनशैली परिवर्तन वा उपचारको प्रभाव कति भइरहेको छ भन्ने कुरा पनि यही स्क्यानबाट निगरानी गर्न सकिने अपेक्षा गरिएको छ।
क्लिनिकल प्रयोग तर्फ बाटो खुल्यो
अनुसन्धान टोलीले अब यो प्रविधिलाई ठूलो र विविध बिरामी समूहमा परीक्षण गर्ने तयारी गरिरहेको छ। उपकरण सानो, छिटो र गैर आक्रामक भएकाले भविष्यमा बाह्य बिरामी क्लिनिकमै नियमित मुटु रोग जोखिम परीक्षणका लागि प्रयोग गर्न सकिने वैज्ञानिकहरूको विश्वास छ।
हेल्महोल्ट्ज म्युनिखका बायोइन्जिनियरिङ केन्द्रका निर्देशक प्रा. भासिलिस न्त्जियाख्रिस्टोस भन्छन -‘समय मै सूक्ष्म तहको खराबी पत्ता लागेमा मुटु रोग रोकथाम र उपचारको रणनीति नै बदलिन सक्छ। यसले बिरामीको स्वास्थ्य सुधार्नुका साथै दीर्घकालमा उपचार खर्च पनि घटाउन सक्छ।’
आरएसओएम के हो?
आरएसओएम (रेस्टर स्क्यान अप्टो अकास्टिक मेसोस्कोपी) प्रकाश र अल्ट्रासाउन्डको संयोजनमा आधारित इमेजिङ प्रविधि हो। यसले छाला मुनिका साना रक्तनली, अक्सिजन स्तर र तन्तु संरचनालाई उच्च स्पष्टता सहित त्रिआयामी रूपमा देखाउन सक्छ। नयाँ ‘फास्ट-आरएसओएम’ संस्करणले यही प्रविधिलाई अझ छिटो र क्यापिलरी तह सम्म पुर्याएको हो।
विशेषज्ञहरूका अनुसार छाला अब केवल बाहिरी अंग मात्र नभई, मुटु र सम्पूर्ण रक्तनली स्वास्थ्यको ‘झ्याल’ बन्न थालेको छ।

प्रतिक्रिया दिनुहोस