४० प्रतिशत क्यान्सर रोक्न सकिने: डब्लुएचओ र आइएआरसीको नयाँ अध्ययन सार्वजनिक
काठमाडौँ -विश्वभर देखिने १० क्यान्सरका केस मध्ये मध्ये करिब चार वटा (४० प्रतिशत) घटना रोक्न सकिने नयाँ अध्ययनले देखाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र यसको ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ (आइएआरसी) ले सार्वजनिक गरेको विश्वव्यापी विश्लेषणले क्यान्सरका प्रमुख रोकथाम योग्य कारणहरू पहिचान गरेको हो।
विश्व क्यान्सर दिवस (४ फेब्रुअरी) को अवसर मा सार्वजनिक गरिएको अध्ययन अनुसार सन् २०२२ मा देखिएका सबै नयाँ क्यान्सरका ३७ प्रतिशत, करिब ७१ लाख घटना, रोक्न सकिने कारण सँग सम्बन्धित थिए।
अध्ययनले धूम्रपान, मदिरा सेवन, उच्च शारीरिक तौल, शारीरिक निष्क्रियता, वायु प्रदूषण, पराबैंगनी किरण तथा पहिलो पटक क्यान्सर गराउने नौ प्रकारका संक्रमण समेत गरी ३० कारणको विश्लेषण गरेको छ।
१८५ देश र ३६ प्रकारका क्यान्सरको तथ्यांकमा आधारित अध्ययनले धूम्रपानलाई क्यान्सरको सबै भन्दा ठूलो रोकथाम योग्य कारणका रूपमा देखाएको छ।
धूम्रपानले विश्व भर देखिने नयाँ क्यान्सरका १५ प्रतिशत घटनामा भूमिका खेलेको अध्ययनमा उल्लेख छ। त्यस पछि संक्रमण (१० प्रतिशत) र मदिरा सेवन (३ प्रतिशत) रहेका छन्।
फोक्सो, पेट र पाठेघरको मुख (सर्भाइकल) क्यान्सरले पुरुष र महिलामा देखिने सबै रोक्न सकिने क्यान्सरका करिब आधा घटना ओगटेका छन्। फोक्सोको क्यान्सर मुख्यतः धूम्रपान र वायु प्रदूषणसँग, पेटको क्यान्सर हेलिकोब्याक्टर पाइलोरी संक्रमण सँग र सर्भाइकल क्यान्सर प्रायः ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) सँग सम्बन्धित रहेको अध्ययनले देखाएको छ।
डब्लुएचओको क्यान्सर नियन्त्रण टोलीका प्रमुख तथा अध्ययनका लेखक डा. आन्द्रे इल्बावीले भने, ‘रोक्न सकिने कारण बाट कति क्यान्सरको जोखिम आउँछ भन्ने देखाउने यो पहिलो विश्वव्यापी विश्लेषण हो। देश र जनसमूह अनुसारका प्रवृत्ति बुझ्दा सरकार र व्यक्तिलाई क्यान्सर सुरु हुनु अघि नै धेरै घटना रोक्न सहयोग पुग्छ।’
अध्ययन अनुसार रोकथाम योग्य क्यान्सरको भार महिला भन्दा पुरुषमा बढी देखिएको छ। पुरुषमा देखिने नयाँ क्यान्सरका ४५ प्रतिशत घटना रोक्न सकिने कारणसँग सम्बन्धित छन् भने महिलामा यो अनुपात ३० प्रतिशत छ। पुरुषमा धूम्रपानले २३ प्रतिशत, संक्रमणले ९ प्रतिशत र मदिराले ४ प्रतिशत क्यान्सरको कारण बनेका छन्। महिलामा भने संक्रमण (११ प्रतिशत), धूम्रपान (६ प्रतिशत) र उच्च शारीरिक तौल (३ प्रतिशत) प्रमुख कारण रहेका छन्।
क्षेत्र अनुसार पनि ठूलो भिन्नता देखिएको छ। महिलामा उत्तर अफ्रिका र पश्चिम एसियामा रोकथाम योग्य क्यान्सर २४ प्रतिशत रहेको छ भने उप सहारा अफ्रिकामा ३८ प्रतिशत पुगेको छ। पुरुषमा पूर्वी एसियामा यो अनुपात सबै भन्दा बढी ५७ प्रतिशत छ भने ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा सबैभन्दा कम २८ प्रतिशत छ।
आइएआरसी क्यान्सर सर्वेक्षण इकाइ की उप प्रमुख तथा अध्ययनकी वरिष्ठ लेखक डा. इसाबेल सोर्जोमातारामले भनिन्, ‘संक्रमणजन्य कारणलाई पनि समेटेर गरिएको यो अध्ययन विश्वव्यापी रूपमा रोक्न सकिने क्यान्सरको सबैभन्दा विस्तृत मूल्यांकन हो। यी कारणलाई सम्बोधन गर्न सकिए क्यान्सरको विश्वव्यापी भार घटाउने ठूलो अवसर छ।’
अध्ययनले क्यान्सर रोकथामका लागि सशक्त सुर्ती नियन्त्रण, मदिरा नियमन, एचपीभी र हेपाटाइटिस बी विरुद्धको खोप, वायु गुणस्तर सुधार, सुरक्षित कार्यस्थल तथा स्वस्थ खानपान र शारीरिक गतिविधि प्रवर्द्धन जस्ता सन्दर्भ अनुसारका रणनीति आवश्यक रहेको औंल्याएको छ। यसका लागि स्वास्थ्य, शिक्षा, ऊर्जा, यातायात र श्रम क्षेत्रबीच समन्वय आवश्यक हुने अध्ययनको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस