मुटु जोगाउन डा. नरेश त्रेहानका तीन अचुक सूत्र: तौल, व्यायाम र प्राणायाम


काठमाडौं – छिमेकी मुलुक भारतका मुटु रोग विशेषज्ञ डा. नरेश त्रेहानले मुटुलाई स्वस्थ राख्न र दीर्घकालीन रोगहरूबाट बच्न तीनवटा आधारभूत जीवनशैली अपनाउन सुझाव दिएका छन्।

४८ हजार भन्दा बढी सफल ओपन हार्ट सर्जरी गरिसकेका डा. त्रेहानले स्वस्थ मुटुका लागि तौल र आहारको सन्तुलन, नियमित व्यायाम र तनाव व्यवस्थापनलाई अनिवार्य शर्त मानेका छन्।

नेपाल हेल्थ प्रेस डट कमका प्रधान सम्पादक अतुल मिश्र सँगको विशेष कुराकानीमा डा. त्रेहानले मुटु स्वास्थ्यका महत्वपूर्ण पक्षहरू उजागर गरेका हुन्।

मेदान्त द मेडिसिटी अस्पतालका संस्थापक अध्यक्ष तथा पद्मश्री र पद्मभूषणबाट सम्मानित डा. त्रेहानले दिएका मुख्य सुझावहरू यस प्रकार छन्:

१. सन्तुलित आहार र आदर्श तौल

डा. त्रेहानका अनुसार मुटु स्वास्थ्यको पहिलो खुड्किलो सही खानपान हो। उनले आहारमा प्रोटिन, कार्बोहाइड्रेट र फ्याटको उचित संयोजन हुनुपर्ने बताए।

आहारको नियम: खानामा फ्याट (चिल्लो) को मात्रा सबैभन्दा कम हुनुपर्छ। कार्बोहाइड्रेट बढी र प्रोटिन ठिक्क मात्रामा हुनुपर्छ।

तौलको सीमा: उमेर र उचाइ अनुसार हुनु पर्ने आदर्श तौलको १० प्रतिशतको दायराभित्र रहनु स्वास्थ्यका लागि सबै भन्दा सुरक्षित हुन्छ। यदि तौल २० प्रतिशत भन्दा बढी भएमा त्यसले शरीरको जैविक प्रणालीलाई नै बिगार्ने उनले चेतावनी दिए।

२. ४० मिनेटको सक्रिय व्यायाम

मुटु र रक्त धमनीहरूलाई सक्रिय राख्न शारीरिक गतिविधि अनिवार्य छ। डा. त्रेहान भन्छन, ‘हप्तामा कम्तीमा पाँच दिन, दैनिक ४० मिनेट ‘ब्रिस्क वाक’ (छिटो छिटो हिँड्ने) गर्नै पर्छ। यदि यो भन्दा बढी सक्रिय व्यायाम गर्न सकिए अझ लाभदायक हुन्छ।’ यसो गर्दा शरीरका सबै कोषिकासम्म अक्सिजन पुग्ने र कार्डियोभास्कुलर प्रणाली बलियो हुने उनको भनाइ छ।

३. तनाव व्यवस्थापन र प्राणायाम

आजको व्यस्त जीवनशैली र बढ्दो प्रदूषणका कारण उत्पन्न हुने तनावलाई कम गर्न डा. त्रेहानले योग र प्राणायाममा जोड दिएका छन।

प्राणायामको शक्ति: दैनिक ५ देखि १० मिनेट सम्म गरिने अनुलोम-विलोम र कपालभातीले रक्तचाप नियन्त्रण गर्न र मानसिक तनाव घटाउन मद्दत गर्छ।

हाम्रो लक्ष्य लामो जीवन मात्र होइन, स्वस्थ र गुणस्तरीय जीवन हुनुपर्छ,’ डा. त्रेहानले अन्तर्वार्तामा भने। सन्तुलित खानपान, नियमित व्यायाम र प्राणायामलाई जीवनको अभिन्न हिस्सा बनाउन सके मुटु रोग मात्र नभई अन्य धेरै जटिल रोगहरूबाट बच्न सकिने उनको सुझाव छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!