बोसोबाट प्राप्त स्टेम सेलले मेरुदण्डको भाँचिएको हड्डी सफलतापूर्वक पुनःनिर्माण


जापानका अनुसन्धानकर्ताहरूले बोसो बाट निकालिएका स्टेम सेल प्रयोग गरेर जनावरमा गरिएको प्रयोगमा मेरुदण्डको भाँचिएको हड्डी पुनःनिर्माणमा सफलता हासिल गरेका छन्। यो खोजले अस्टियोपोरोसिस (अस्थिरोग) का कारण हुने मेरुदण्ड फ्र्याक्चरको उपचारका लागि नयाँ आशा जगाएको छ।

यो अध्ययन बोन एन्ड जोइन्ट रिसर्च  मा प्रकाशित गरिएको छ जसलाई यहाँ 👉 क्लिक गरेर पढ्न सकिन्छ। ओसाका मेट्रोपोलिटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले शरीरको बोसोयुक्त तन्तुबाट स्टेम सेल लिएर मुसामा प्रयोग गरेका थिए।

यी मुसामा गरिएका परीक्षणहरू मानिसमा देखिने अस्थिरोग जन्य मेरुदण्ड भाँचिने अवस्थासँग मिल्दो जुल्दो थिए। अध्ययनले देखायो कि बोसोबाट प्राप्त स्टेम सेलहरू संकलन गर्न सजिलो मात्र होइन, तिनीहरू वृद्ध व्यक्तिबाट पनि सहज रूपमा निकाल्न सकिन्छ र शरीरमा कम असर पार्छन्।

अनुसन्धानमा ३३ ओभरियेक्टोमी गरिएको मुसा प्रयोग गरिएको थियो। एल ४ र एल ५ कशेरुका स्थित हड्डीमा कृत्रिम रूपमा दोष सिर्जना गरी विभिन्न उपचार विधिहरू तुलना गरियो। एउटा समूहमा हड्डी बन्ने क्षमता भएका स्टेम सेल स्फेरोइड्स र बि-ट्राइक्याल्सियम फस्फेट  मिसाएर प्रयोग गरियो, अर्कोमा सामान्य स्फेरोइड्स, र तेस्रोमा केवल बि-ट्राइक्याल्सियम फस्फेट राखियो।

चार र आठ साता पछि गरिएको परीक्षणमा स्टेम  सेल स्फेरोइड्स प्रयोग गरिएको समूहमा सबै भन्दा राम्रो हड्डी पुनःनिर्माण देखियो। हड्डीको घनत्व, संयोजन गुणांक (फ्युजन स्कोर) र यान्त्रिक बल उल्लेखनीय रूपमा सुधारिएको थियो। माइक्रो  सिटी स्क्यान र हिस्टोलोजिकल विश्लेषणले नयाँ हड्डी निर्माण र बि ट्राइक्याल्सियम फस्फेट सँगको उत्कृष्ट एकीकरण देखायो।

अनुसन्धानले हड्डी निर्माणसँग सम्बन्धित जीनहरू एएलपी, ओसीएन, रनएक्स२  र पुनःनिर्माणमा सहयोग गर्ने बिएमपी७, आइजिएफ१, एचजिएफ१ र ओसिटी४  को स्तर वृद्धि भएको पनि पुष्टि गर्‍यो। मृत कोषहरूको दर घटेको र उपचार क्षेत्रमा स्टेम सेलहरू सक्रिय रहेको प्रमाण भेटियो।

ओसाका विश्वविद्यालयका अनुसन्धान टोलीका युता सवादाका अनुसार, ‘यो अध्ययनले बोसो युक्त तन्तु प्रयोग गरेर मेरुदण्ड फ्र्याक्चरको नयाँ उपचारको बाटो खोलेको छ। बोसोबाट स्टेम सेल निकाल्दा शरीरमा कम दबाव पर्छ, जसले बिरामीको सुरक्षालाई सुनिश्चित गर्छ।’

वैज्ञानिकहरूले यो विधि भविष्यमा अस्थिक्षयजन्य हड्डी भाँचिने बिरामीका लागि सरल, सुरक्षित र प्रभावकारी उपचार विकल्प बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!