अनुसन्धान

१३ वर्ष भन्दा कम उमेरमा मोबाइल दिनु मानसिक स्वास्थ्यका लागि जोखिमपूर्ण : नयाँ अध्ययन


काठमाडौं –  पछिल्लो समय आमा बुबाले आफ्ना साना बालबालिकालाई सहज बनाउन वा फुर्सद निकाल्नका लागि मोबाइल फोन मार्फत कार्टुन, गीत तथा भिडियो देखाउने प्रचलन बढ्दो छ।

तर, यस्तो अभ्यास बालबालिकाको मानसिक स्वास्थ्यका लागि घातक बन्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ।

१३ वर्षभन्दा कम उमेरमा मोबाइल नदिन सुझाव

‘जर्नल अफ ह्युमन डेभलपमेन्ट एन्ड क्यापेबिलिटिज’, मा प्रकाशित अध्ययन अनुसार, १३ वर्ष भन्दा कम उमेरका बालबालिकालाई स्मार्टफोन उपलब्ध गराउनु आत्महत्या विचारको वृद्धि, भावनात्मक असन्तुलन, आत्म सम्मानमा गिरावट र वास्तविकता सँगको दूरी जस्ता समस्या सँग सम्बन्धित देखिएको छ। अध्ययन अनुसार, यस्तो असर विशेष गरी किशोरीहरूमा बढी देखिएको हो।

मानसिक स्वास्थ्यमा गम्भीर असर

विश्वका १६३ देशका तथ्यांकको विश्लेषण पछि तयार पारिएको उक्त अध्ययनमा १३ वर्ष भन्दा कम उमेरमा स्मार्टफोन चलाउने बालबालिकामा निद्रा सम्बन्धी समस्या, साइबर दुर्व्यवहार (साइबर बुलिङ), नकारात्मक पारिवारिक सम्बन्ध जस्ता समस्या देखिन सक्ने उल्लेख गरिएको छ।

१६ वर्षभन्दा पहिले सामाजिक सञ्जाल प्रयोग नगर्न सुझाव

अहिलेको इन्फ्लुएन्सर प्रवृत्ति र सामाजिक सञ्जालमा प्रसिद्ध बन्ने लहरले गर्दा धेरै बालबालिका पनि त्यसमा संलग्न भइरहेका छन्। तर, अध्ययन अनुसार, १६ वर्ष नपुगेका बालबालिका ले सामाजिक सञ्जालमा खाता नखोल्नु उपयुक्त हुन्छ। किन भने यति उमेर नपुगुन्जेल उनीहरूमा सामाजिक सञ्जालको प्रभाव बुझेको चेतना विकसित भइसकेको हुँदैन।

अनुसन्धानकर्ताहरूको सुझाव

अध्ययन की प्रमुख लेखक डा. तारा त्यागराजनका अनुसार, १३ वर्षभन्दा कम उमेरका बालबालिका लाई स्मार्टफोन र सामाजिक सञ्जाल प्रयोगबाट रोक्नका लागि नीतिगत रूपमा प्रतिबन्धको आवश्यकता छ।

उनले भनिन्, ‘युवाहरूको डिजिटल संसारमा संलग्नता अत्यधिक नियमन गर्न र उनीहरूको स्मार्टफोन पहुँच सीमित गर्न तत्काल कारबाही आवश्यक छ।’

बालबालिकालाई आधुनिक प्रविधिको प्रयोगबाट पूर्णरूपमा टाढा राख्न सम्भव न होला। तर, उमेर अनुसारको उपयुक्तता नहेरी अत्यधिक मोबाइल र सामाजिक सञ्जालमा डुबाउनु उनीहरूको मानसिक विकास र सामाजिक सम्बन्धका लागि दीर्घकालीन असर पार्न सक्छ। अतः बालबालिका को डिजिटल पहुँचमा अभिभावकको सचेत भूमिका अति आवश्यक देखिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!