सन २००८–२०१७ बीच जन्मिएका नेपाली युवामा पेटको क्यान्सरको जोखिम, करिब ६६ हजार प्रभावित हुन सक्ने अनुमान

हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियाको संक्रमण मुख्य कारक, समयमै परीक्षण र उपचारले ७५ % सम्म जोखिम घट्न सक्ने वैज्ञानिकहरूको चेतावनी


काठमाडौं -नेपाल सहित दक्षिण तथा पूर्वी एशिया का देशहरूमा पेटको क्यान्सर (ग्यास्ट्रिक क्यान्सर) एक ठूलो स्वास्थ्य संकटको रुपमा उब्जन थालेको एक नयाँ अध्ययनले देखाएको छ।

नेचर मेडिसिन जर्नलमा प्रकाशित अन्तर्राष्ट्रिय वैज्ञानिक प्रतिवेदन अनुसार सन् २००८ देखि २०१७ को बीचमा जन्मिएका १ करोड ५६ लाख युवा मध्ये ठूलो संख्यामा ग्यास्ट्रिक क्यान्सरको जोखिम रहेको उल्लेख छ।

रिपोर्ट अनुसार भारत र चीनमा आगामी दशकहरू मा पेटको क्यान्सरका ६५ लाख भन्दा बढी नयाँ बिरामी देखिने अनुमान गरिएको छ। त्यस्तै, नेपालमा करिब ६६ हजार युवामा भविष्यमा यस्तो क्यान्सर विकसित हुन सक्ने सम्भावना औंल्याइएको छ। एसियामा यो सङ्ख्या १ करोड ६ लाख सम्म पुग्न सक्छ ।

वैज्ञानिकहरूका अनुसार पेटको क्यान्सरको मूल कारण हेलिकोब्याक्टर पाइलोरी नामक एक सामान्य तर घातक सूक्ष्म जीवाणु हो। यो ब्याक्टेरिया पेटको भित्ता भित्र लुकेर बस्ने र दीर्घकाल सम्म शरीरमा असर पुर्‍याउने खालको हुन्छ।

सानै उमेरमा शरीरमा प्रवेश गर्ने यो जीवाणु वर्षौं सम्म कुनै लक्षण नदेखाइकन पेटको भित्तामा सुन्याई र क्षति पुर्‍याउँछ। यिनै क्षतिको कारण पछि गएर अल्सर र ग्यास्ट्रिक क्यान्सर समेत हुनसक्ने अध्ययनले चेतावनी दिएको छ।

लक्षणबारे बेवास्ता घातक

सामान्यतया ग्यास, अपच, पेट पोल्ने वा बारम्बार एसिडिटी हुने जस्ता लक्षणलाई धेरै जसो मानिसले सानो समस्या ठानेर बेवास्ता गर्ने गर्छन्। तर यिनै लक्षणहरू हेलिकोब्याक्टर पाइलोरीको संकेत हुन सक्छ।

रोकथाममा समय मै उपचार

अध्ययनमा उल्लेख गरिएको छ कि यदि हेलिकोब्याक्टर पाइलोरीको ठूलो मात्रामा परीक्षण र उपचार सुनिश्चित गरियो भने पेटको क्यान्सरका ७५ प्रतिशत सम्म सम्भावित केसहरू रोक्न सकिने छ। वैज्ञानिकहरूले यस ब्याक्टेरियाको परीक्षण र उपचारलाई प्राथमिक स्वास्थ्य सेवाको हिस्सा बनाइनुपर्ने सुझाव दिएका छन्।

एशिया बढी प्रभावित, नेपालमा पनि चुनौती

संसार भर पेटको क्यान्सर हाल क्यान्सरजन्य मृत्युको पाँचौं प्रमुख कारण बनेको छ। एशिया यस बाट सबै भन्दा बढी प्रभावित क्षेत्र बन्ने क्रममा रहेको अध्ययनले देखाएको छ। खास गरी निम्न तथा मध्यम आय भएका देशहरू, जस्तै नेपालमा स्रोत साधनको अभाव, अधूरा तथ्यांक र जनचेतनाको कमीका कारण समस्या झन जटिल बन्दै गएको वैज्ञानिकहरूको भनाइ छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!