रिजर्भ एन्टिबायोटिक्स अस्पताल फार्मेसीबाट मात्र बिक्री हुने


काठमाडौं – औषधि व्यवस्था विभागले रिजर्भ समूहका एन्टिबायोटिक्स औषधिहरू अब देखि अस्पताल फार्मेसीबाट मात्र बिक्री गर्न पाइने निर्णय गरेको छ ।

विभागले सार्वजनिक गरेको सूचनाका अनुसार, प्रतिजैविक प्रतिरोध (एन्टीवायोटिक रेसिस्टेन्स) बढ्न नदिन तथा औषधिको अनुचित प्रयोग रोक्न यस्तो कदम चालिएको हो।

विभागका अनुसार, पछिल्लो समय रिजर्भ समूहका एन्टिबायोटिक्सको खपत तीव्र गतिमा बढिरहेको छ। तर, औषधि सिफारिस गर्ने चिकित्सक, विक्रेता तथा प्रयोगकर्ताहरूलाई यस समूहका औषधिहरूबारे पर्याप्त जानकारी नहुँदा अनावश्यक प्रयोग भइरहेको छ। यसले एन्टिबायोटिक्स प्रतिरोधको समस्या गहिरिँदै गएको छ, जसले भविष्यमा उपचारलाई नै प्रभावहीन बनाउने खतरा छ।

के-के निर्णय भए?

औषधि सल्लाहकार समितिको सिफारिस अनुसार, औषधि व्यवस्था विभागले निम्न निर्णयहरू कार्यान्वयन मा ल्याउने भएको छ ।

  • रिजर्भ समूहका एन्टिबायोटिक्स अस्पताल फार्मेसीबाट मात्र बिक्री गरिने।
  • अस्पताल फार्मेसीले यी औषधिको वार्षिक खपत विवरण अभिलेख राख्ने।
  • राष्ट्रिय अत्यावश्यक औषधि सूची अन्तर्गत अन्य एन्टिबायोटिक्सलाई दर्ता गर्दा एक्सेस (Access), अवेर (Aware) र रिजर्भ (Reserve) समूहमा वर्गीकरण गरिने।

यी औषधिहरू प्रभावित हुने

नयाँ नियमअनुसार, निम्न एन्टिबायोटिक्सहरू अस्पताल फार्मेसीबाट मात्र पाइनेछन्

  • मेरोपेनेम (Meropenem)
  • पोलिमिक्सिन बी (Polymyxin B)
  • पाइपरासिलिन + टेजोब्याक्टाम (Piperacillin + Tazobactam)
  • भ्यान्कोमाइसिन (Vancomycin)
  • कोलिस्टिन (Colistin)
  • लिनेजोलिड (Linezolid)

एन्टिबायोटिक्स प्रतिरोध रोक्न महत्वपूर्ण कदम

विशेषज्ञहरूका अनुसार, एन्टिबायोटिक्सको अनियन्त्रित प्रयोगले ब्याक्टेरियाहरू ती औषधि हरू प्रति असंवेदनशील (रेसिस्टेन्ट) हुने समस्या बढाएको छ।

रिजर्भ समूहका औषधिहरू अन्तिम उपायका रूपमा प्रयोग गरिने भएकाले तिनको अनावश्यक प्रयोग रोक्न कडाइ गर्नु जरुरी भएको चिकित्सकहरू बताउँछन् ।

औषधि व्यवस्था विभागको आग्रह

विभागले स्वास्थ्यकर्मी, औषधि विक्रेता, फार्मेसी तथा सर्वसाधारणलाई नयाँ नियमको पालना गर्न आग्रह गरेको छ। एन्टिबायोटिक्स प्रतिरोध नियन्त्रणका लागि सचेत भएर औषधि प्रयोग गर्नसमेत अनुरोध गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!