राजधानीमा तीन दिने ‘फर्मा एक्स्पो’ सुरु: औषधिमा आत्मनिर्भर बन्दै नेपाल
काठमाडौँ- नेपालमा औषधि उत्पादनको आधुनिक पाटो र यस क्षेत्रमा भइरहेको प्रगतिलाई प्रत्यक्ष देखाउने उद्देश्यले बिहीबार देखि राजधानीमा ‘नेपाल फर्मा एक्स्पो’ सुरु हुँदैछ। भृकुटी मण्डपमा आयोजना हुने यस तीन दिने अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपाली औषधि उद्योगको फेरिँदो तस्बिर मात्र होइन, अबको सम्भावनालाई पनि उजागर गर्नेछ।
स्वदेशी उत्पादन: सस्तो र गुणस्तरीय
धेरैलाई लाग्न सक्छ, के नेपालमा बनेका औषधि भरपर्दा छन ? नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष विप्लव अधिकारी यसलाई ‘भ्रम’ मात्र ठान्छन। उनका अनुसार नेपालले अहिले अन्तर्राष्ट्रिय मापदण्डका औषधि उत्पादन मात्र गरिरहेको छैन, विदेशमा निर्यात समेत गरिरहेको छ।
नेपालको औषधि उद्योग कति सम्म प्रतिस्पर्धी छ भन्ने एउटा बलियो उदाहरण हो सबै नेपालीको घर र जनजीब्रोमा रहेको ‘सिटामोल’। संसारकै सम्भवतः सबै भन्दा सस्तो दरमा (प्रति चक्की ६० पैसा भारु हाराहारीमा) ५०० एमजीको सिटामोल उत्पादन गर्ने क्षमता नेपाल सँग मात्र छ।
‘यदि राज्यले सही नीतिगत सुधार गर्ने हो भने नेपाल औषधिको क्षेत्रमा ८० प्रतिशत आत्मनिर्भर हुन सक्छ,’ अध्यक्ष अधिकारीले दाबी गरे।
एक्स्पोमा के के देख्न पाइन्छ?
- फर्मामा नवीनता: भोलिको स्वास्थ्यका लागि’ भन्ने नाराका साथ सुरु हुन लागेको यो एक्स्पोको १०औँ संस्करण हो। यस पटकको प्रदर्शनीमा आकर्षणका धेरै पक्ष छन ।
- २०० भन्दा बढी स्टल: जहाँ अत्याधुनिक ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, औषधि सम्बन्धी र प्याकिङका आधुनिक मेसिनहरू राखिएका छन्।
- प्रविधि प्रदर्शन: औषधि कसरी बन्छ र यसको गुणस्तर कसरी जाँचिन्छ भन्ने कुरा सर्वसाधारणले नजिकबाट हेर्न पाउनेछन।
- दक्ष जनशक्ति: प्रदर्शनीको पूर्वसन्ध्यामा बुधबार १०० जना नेपाली फार्मासिस्टहरूलाई अन्तर्राष्ट्रिय विज्ञहरूले गुणस्तर सम्बन्धी विशेष तालिम समेत दिइ सकेका छन।
किन जाने एक्स्पो?
नेपाल फर्मा एक्स्पोका कोअर्डिनेटर सन्तोष बरालका अनुसार यो मेला केवल व्यवसायीका लागि मात्र होइन। आफ्नो देशमा औषधि उत्पादनको अवस्था कहाँ पुग्यो र हामी स्वास्थ्य प्रविधिमा कति अगाडि छौँ भन्ने जान्न चाहने जो कोहीका लागि यो एउटा खुला पाठशाला हो।
बिहीबार बिहान प्रभात फेरि गरेर कार्यक्रमको औपचारिक सुरुवात गरिने मिडिया कोर्डिनेटर शैलेश वैद्यले जानकारी दिए। यो एक्स्पो ले नेपाली औषधि उद्योगलाई हेर्ने दृष्टिकोण बदल्ने अपेक्षा गरिएको छ।
तीन दिन सम्म चल्ने यो औषधि मेलाले आफ्नै माटोमा बनेका औषधिमा गौरव गर्ने र यस क्षेत्रमा लगानी वा करियर खोज्नेहरूका लागि एउटा ठूलो अवसर बन्न सक्ने वैद्य बताउँछन।

प्रतिक्रिया दिनुहोस