चिकित्सा त्रुटि

दश गुणा बढी किमो दिँदा क्यान्सर बिरामीको मृत्यु, दुई नर्स निलम्बित, डाक्टर सहित तेइस स्वास्थ्य कर्मीलाई स्पष्टीकरण


चितवन –बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा किमोथेरापी अन्तर्गत आवश्यकता भन्दा दश गुणा बढी किमो औषधि दिए पछि बिरामीको मृत्यु हुँदा यो प्रक्रियामा संलग्न दुईजना नर्सलाई निलम्बन गरिएको छ ।

अस्पतालका अनुसार नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको हो ।  करार मा रहेका एक जना नर्सको करार भङ्ग गर्ने तयारी समेत अस्पतालले गरेको छ । यो प्रकरणमा लापरवाही देखिए पछि दुई जना डाक्टर सहित २३ जना सँग स्पष्टीकरण माग गरिएको छ ।

अस्पतालको अनुसार बिरामीलाई ३.४ मिलि ग्राम किमो दिनुपर्ने मा ३४ मिलि ग्राम किमो दिएपछि बिरामीको मृत्यु भएको देखिएको थियो ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बिरामी मृत्यु सम्बन्धी अध्ययन टोली को प्रतिवेदन को आधारमा दुई जनालाई निलम्बन र २३ जनालाई स्पष्टीकरण सोधिएको नेपालहेल्थप्रेस लाई बताए । काममा लापरबाही देखिएकोले आवश्यक कारबाही गर्ने जनाउँदै डाक्टर पौडेलले आगामी दिनमा यस्ता लापरबाही, चिकित्सा त्रुटि (मेडिकल इरर) हुन नदीन नियमित अनुगमनका गर्ने व्यवस्था मिलाउने समेत बताए ।

अस्पतालका सूचना अधिकारी गृही नारायण महतोले क्यान्सर अस्पताल का उप – निर्देशक डा. उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण शाह एवं नर्सिङ प्रमुख अनिता देवकोटा सहितको छानबिन समिति ले साउन ३ गते प्रतिवेदन बुझाएको जनाए ।

लमजुङ दोर्दीका भक्त राज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उपचार भइरहेको थियो । ५० वर्षीय गुरुङको उपचारमा आवश्यकता भन्दा बढी किमो दिइएको थियो । गुरुङलाई १० गुना बढी किमो तीन पटक सम्म दिँदा शरीरले धान्न नसकी असार १३ गते मृत्यु भएको थियो ।

के हो किमोथेरापी

किमोथेरापी अन्तर्गत क्यान्सर कोशिकाहरू लाई नष्ट गर्न औषधि प्रयोग गरिन्छ । यो औषधि रगतको माध्यमबाट शरीरको विभिन्न भागमा पठाइन्छ । औषधिहरूले क्यान्सर कोशिकाहरूलाई क्षति पुर्याउँछ जसले गर्दा तिनीहरू मर्छन् । स्वस्थ कोशिकाहरूलाई पनि क्षति पुग्छ तर तिनिहरू सामान्यतया आफूलाई ठीक पार्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!