पहिलो ‘मधेश स्वास्थ्य शिखर सम्मेलन’ सम्पन्न, मधेशको स्वास्थ्य चुनौती र समाधान मा केन्द्रित


जनकपुर धाम– मुलुकमा पहिलो पटक मधेश प्रदेशमा देखिएका स्वास्थ्य चुनौती र यसको समाधान विषय केन्द्रित ‘मधेश स्वास्थ्य शिखर सम्मेलन’ जनकपुर धाममा सम्पन्न भएको छ ।

नेपाल चिकित्सक संघ, जनकपुर अञ्चल शाखा द्वारा आयोजित उक्त सम्मेलनमा मधेश लगायत देशभरिका ३ सय चिकित्सक, विशेषज्ञहरूको सहभागिता थियो ।

उक्त सम्मेलन को वैज्ञानिक सत्रमा चिकित्सकहरूले विभिन्न विषयमा कार्य पत्र समेत प्रस्तुत गरेका थिए । यस अन्तर्गत चिकित्सा नैतिकता विषयमा प्रा.डा.जयनारायण साह, चिकित्सकहरूले सामना गर्ने मानसिक स्वास्थ्य चुनौती विषयमा डा.रोविन झा, चिकित्सा अभ्यासमा आध्यात्मिकता विषयमा प्रा.डा.राकेश पंडीत, मधेश प्रदेशमा स्वास्थ्य अनुसन्धानको अवसर विषयमा प्रा.डा.विनोद कुमार यादव, चिकित्सा अभ्यासमा उद्यमशीलता अन्तर्गतको विषयहरूमा डा.योविन कुमार यादव, सिए विनय यादव, डा.रामज्ञान यादवले कार्य पत्र प्रस्तुत गरेका थिए ।

यस्तै मधेश प्रदेशमा फार्माकोभिजलेन्स को आवश्यकता विषयमा डा.लोकेश्वर चौरसिया, टेली मेडिसिन को ग्रामीण क्षेत्रमा प्रयोग विषयमा डा.प्रमेन्द्र प्रसाद गुप्ता, कृत्रिम बुद्धिमत्ता को चिकित्सा क्षेत्रमा प्रयोग विषयमा प्रा.डा.जितेन्द्र कुमार सिंह लगायतकाले कार्य पत्र प्रस्तुत गरेका थिए ।

शनिवार सम्पन्न सम्मेलनमा मधेश प्रदेशका स्वास्थ्य समस्या र चुनौतीहरू विषयक प्यानल छलफल समेत भएको थियो । उक्त छलफलमा प्रा.डा.रामनरेश पंडीत, डा.राजिव झा, डा.मनिष पांडे, डा.श्रवण मिश्र र डा.नथ्थु प्रसाद चौधरी को सहभागिता थियो ।

चिकित्सक संघ, जनकपुर अञ्चल शाखाका अध्यक्ष डा.रामजी यादव ले सम्मेलन मै काठमाडौं उपत्यका बाहिर पहिलो नेपाल चिकित्सक संघ, मधेश प्रदेश कमिटी गठन भएको बताए । नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा.अनिल विक्रम कार्की समेत सम्मेलनमा सहभागी भएका थिए ।

सम्मेलनमा मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवले मधेश प्रदेशका आठ वटै जिल्लामा एक/एक वटा गरी आठ वटा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको बताए । मुख्य मन्त्री यादवले प्रदेशमा स्वास्थ्य मा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको जनाउँदै आगामी दिनमा स्वास्थ्य बजेट बीस–पच्चीस प्रतिशत सम्म पुर्याउने जनाए ।

सम्मेलनमा मधेश प्रदेश का स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह, पूर्व राज्यमन्त्री डा. सुरेन्द्र यादव लगायत ले समेत सम्बोधन गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!