माइतीघर बाट डा.गोविन्द केसी पक्राउ, निषेधित क्षेत्रमा प्रदर्शन


काठमाडौं —चिकित्सा शिक्षा र सेवा सुधार का अभियन्ता प्रा.डा.गोविन्द केसी सहित ९ जना प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ ।  डा.केसी, प्रेम चलाउने, पवन थापा, पुकार बम सहित पक्राउ परेका ९ जनालाई महा नगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

डा केसीले शनिवार बिहानै विज्ञप्ति जारी गर्दै सशस्त्र द्वन्द्व पीडित लाई न्याय र सबै नेपाली हरूको स्वास्थ्य सेवा र शिक्षा मा समान पहुँच लगायत सुशासनको लागि दबाब मुलुक अभियान अन्तर्गत माइतीघर मण्डलामा दिउसो १२ बजे सहभागिताको लागि अनुरोध गरेका थिए ।

सरकारले गत मंसिर ५ गते माइतीघर, बानेश्वर लगायत काठमाडौं का विभिन्न क्षेत्रमा सभा, जुलुस, प्रदर्शन लगायतका गतिविधि गर्न रोक लगाएको थियो ।

सोही कार्यक्रम अन्तर्गत शनिवार मध्यान्ह डा.केसी लगायतले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया छिट्टै टुङ्गोमा पुर्याउनु पर्ने, नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नु पर्ने लगायतका माग राख्दै प्रदर्शन समेत गरेका थिए ।

डा.केसी द्वारा शनिवार बिहान जारी प्रेस विज्ञप्ति 

हामी लामो समय देखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनका लागि निरन्तर लडिरहेका छौं । तर एकपछि अर्को गरी सत्तामा पुग्ने दलहरूले भने निरन्तर लुट तन्त्र र दण्ड हीनतालाई प्रश्रय दिइरहेका छन् ।

भ्रष्टाचार निसासिंदो छ । सार्वजनिक क्षेत्रका सेवा प्रदायक संस्थाहरू धराशायी हुने अवस्थामा छन् । नेताहरूले भने तिनलाई डुबाएर नाफाखोरी गर्ने निजी क्षेत्रका सीमित माफिया र अपराधीहरू सित साठ गाँठ गरिरहेका छन् । उता वास्तवमै उद्यम र व्यवसाय गर्ने, नियम संगत रूपमा कर तिर्ने व्यवसायीहरू कठिन परिस्थितिमा छन् ।

यस्तो अवस्थामा आम मानिस विरोध र प्रदर्शनमा उत्रनु स्वाभाविक हो । लोकतन्त्रमा यो हामी नागरिकको आधारभूत अधिकार पनि हो । तर प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने हाम्रो संविधान प्रदत्त अधिकार समेत खोसेर नागरिकको मुख थुन्न खोजेको छ ।

अहिले देशमा जति पनि दण्ड हीनता र अत्याचार व्याप्त छ, त्यसको जडमा छ द्वन्द्व कालमा भएका जघन्य र मानवता विरुद्धको अपराधका दोषीहरूलाई दण्ड नभएको अवस्था । अब त्यो दण्ड हीनता अन्त हुनुपर्छ र पीडितले न्याय पाउने गरी शीघ्र संक्रमण कालीन न्याय प्रक्रिया टुंगिनुपर्छ ।

त्यसैले निम्न मागहरू राखेर हामीले आज (शनिवार) माइतीघर मण्डलाको कथित निषेधाज्ञा तोड्ने निर्णय गरेका छौं ।

प्रदर्शनका मागहरूः

१) सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्याइयोस् ।

२) नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गरियोस् ।

३) चिकित्सा शिक्षा आयोगका निर्देशकहरूको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाइयोस् ।

४) यसअघि हामीसित भएका सम्झौताहरू कार्यान्वयन गरियोस् :

गेटामा तत्काल हामीसित सम्झौता भए बमोजिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याइयोस् । चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याइयोस् ।  जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरू खोलियोस् ।  १०० शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम हरू शुरु गरियोस् ।

विश्वविद्यालय र प्रतिष्ठानहरूमा राजनीतिक भागबन्डाको अन्त गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्नका लागि मापदण्डसहित उच्च शिक्षा ऐन तत्काल जारी गरियोस् एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गरियोस्

५) औषधि उपचार निःशुल्क गर

६ ) सरकारी अस्पतालमा दरबन्दी थप गर।

डा गोविन्द केसी

काठमाडौं, २०८० पौष २१


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!