काठमाडौं महानगरपालिका मा समेत स्वास्थ्य बिमा


काठमाडौं– काठमाडौं महा नगरपालिका र स्वास्थ्य बिमा बोर्ड बिच स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको छ । महा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बिमा बोर्डका कार्यकारी निर्देशक डा. मदन कुमार उपाध्यायले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा स्वास्थ्य बिमा नियमावली २०७५, स्वास्थ्य बिमा ऐन २०७४ एवं स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन हुने उल्लेख गरिएको छ ।

बिमा गरेको प्रत्येक ५ जना परिवारलाई एउटा इकाई मानेर १ वर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बिमा बोर्डले महा नगरपालिका अन्तर्गत रहेको प्रवर्द्धन केन्द्रलाई शोध भर्ना गर्ने महा नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेल ले बताए ।

यस्तै महा नगरपालिकाले तयार पारेका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू बोर्डमा सूचीकृत हुनेछन् । त्यसपछि केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गरिनेछ । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरूमा पठाइने समेत उनले उल्लेख गरे ।

पौडेलका अनुसार महा नगरपालिकाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरूको प्राप्तिको काम गरिरहेको छ । सबै ३२ वटै वडाका लागि बिमा दर्ता सहयोगी छनोट गरिसकेको छ । दर्ता सहयोगीको तालिमपछि बिमित भएको मितिले ३ महिनापछि सेवाग्राहीले सुरु सम्पर्क बिन्दु अर्थात् स्वास्थ्य प्रवर्द्धन केन्द्र बाट सेवा सुविधा प्राप्त गर्नेछन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!