मुटुरोग विज्ञ डा.ओममुर्तिले ७ वर्ष सम्मको उमेरमा छोरीलाई किन स्कूल पठाएनन्?


काठमाडौं– छोरी लाई ७ वर्ष नाघे पछि स्कूल पठाएका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओममुर्ति अनिल ले ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित गरेका छन् । हाल आमा बुवा र सन्तान बीच बढेको दूरी को कारण खोज्ने प्रयास गर्दा प्राप्त स्व ज्ञानले नै ओममुर्ति लाई २ वर्ष को उमेर देखी नै ससानो बालबालिकालाई स्कूल पठाउन थाल्ने समाजमा ७ वर्ष पुगे पछि मात्र छोरी लाई स्कूल पठाउन प्रेरित गर्यो ।

‘छोरीले बुवा आमा सँग समय बिताउनु पर्यो भन्ने सोचले ७ वर्ष सम्म घर मै शिक्षा दिएर त्यस पछि स्कूल पठाए’, डा.ओममुर्ति भन्छन–‘बुवा आमा वाट सन्तान अलग हुनु नै सम्बन्ध लाई कमजोर बनाउनु हो ।’

उनी अगाडि थप्छन–‘हामी सबैले सोच्नु पर्छ, जस्तो सुकै सम्बन्ध पनि टाढिए पछि किन कमजोर हुन्छ ? तर कुनै सम्बन्ध, रगतको नाता नभए पनि किन धेरै बलियो हुन्छ ?’ अहिले धेरै जसो बच्चाहरूलाई आमा बुवा कति कष्ट गरेर कमाएर उनीहरूको हरेक इच्छा पूर्ति गरी रहेका छन्, सन्तानको भविष्य लगायतका बारेमा चिन्तित छन भन्ने बारे नत बच्चा लाई चासो छ न त जिम्मेवारी बोध नै ।

डा. ओम भन्छन् –‘नयाँ पुस्तामा यो जुन संस्कार जन्म लियो, त्यसको दोषी को ? कहाँ त्रुटि भइ रहेको छ ।’ चिकित्सक व्यक्तिको जीवनको प्रत्येक चरण लाई सूक्ष्म रूपले हेरिरहेको जनाउँदै डा. ओम भन्छन–‘खानु पिउनु, बच्चा जन्माउनु, हुर्काउनु, पढाउनु, विदेश पठाउनु नै जीवन हो ? हामी जनावर भन्दा पनि निम्न श्रेणी को त भइ रहेका छैनौ ।’

‘जीवन्त सम्बन्ध’ पुस्तकमा आफ्नो निजी घटनाहरूलाई विश्लेषण गर्दै प्रश्न उठाउने प्रयास गरेको औँल्याउँदै डा.ओम भन्छन–‘ हामी सबै लाई आ–आफ्नो यथा स्थिति मा जीवनलाई उपयोगी र खुशियाली भएको बनाउनु पर्छ ।’

डा.ओममुर्ति ले स्वास्थ्य सचेतना फैलाउनु आवश्यक ठानेर ‘म पनि डाक्टर’ पुस्तक लेखेको ठीक एक दशक पछि ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित गरेका हुन । पछिल्लो १० वर्षमा स्वास्थ्य भन्दा पनि ठूलो त अन्य विषय रहेछ भन्ने परिमार्जित सोच अनुसार ओममुर्तिले जीवन र यसलाई राम्रो बनाउन सम्बन्ध चाहिने आफ्नो स्व अनुभूति लाई किताबमा उतारेका हुन ।

उनकै शब्दमा ‘सम्बन्ध बुझ्नु भनेको जीवन बुझ्नू हो, बोध युक्त जीवन बाच्नु हो तथा जीवनको सार्थक गन्तव्य पहिचान गर्नु हो ।’ यही जीवन र सम्बन्ध बीचको यात्रामा प्राप्त सम्भावना, आशा, निराशा, ज्ञान, हाँसो , खुशी, सम्भावना र सार्थकता समेटेर ओममुर्ति ५३ वटा जीवन उपयोगी संस्मरण लाई पुस्तकमा समेटेका छन् । यस अन्तर्गत पुस्तकमा जीवन र मृत्यु, सम्बन्ध र संस्कार, भावना र व्यवहार , कर्म र फल , आत्म संघर्ष र सामाजिक रूपान्तरण लाई समेत समेटिएको छ ।

यो पुस्तकको बिक्री बाट आउने सबै रकम असहाय वृद्ध वृद्धाका निम्ति डा. ओम फाउन्डेसन मार्फत खर्च हुनेछ । यो ओममुर्ति वाट स्थापित गैर नाफा मूलक संस्था हो ।

मानव जीवनमा स्वास्थ्य भन्दा पनि ठुलो ‘जीवन’ रहेको, यसलाई गुण स्तरीय बनाउन ‘सम्बन्ध’ चाहिने र यसैको सेरोफेरोमा राम्ररी, उल्लास पूर्ण, भय मुक्त भएर आनन्द ले बाच्न सिकाउने पुस्तक लेखेको उनले बताए ।

असोज ५ गते शुक्रबार साँझ बाट बजारमा आउने २ सय ४० पृष्ठको पुस्तकको मूल्य ६ सय रुपियाँ छ । अन लाइन अर्डर भदौ २९ गते शुक्रबार दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइन प्लेटफर्म र डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेस बुक पेजमा गर्न सकिन्छ । यो पुस्तकको काठमाडौं उपत्यकाभित्र निःशुल्क होम डेलीभरि गरिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!