सुर्खेतमा दोस्रो मिर्गौला प्रत्यारोपण /दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य


सुर्खेत– स्वास्थ्य मन्त्रालय, शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा दोस्रो मिर्गौला प्रत्यारोपण भएको छ ।

मुलुकको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत उक्त प्रत्यारोपण भएको हो । प्रदेश अस्पताल सुर्खेतमा २०७९ माघ २१ गते पहिलो मिर्गौला प्रत्यारोपण सेवा शुरु गरिएको थियो ।

रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं २ निवासी ५५ वर्षीय आमाले बिहीवार ३७ वर्षीय छोरा लाई मिर्गौला दान गरेकी हुन । हाल दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको टिम द्वारा प्रत्यारोपण सम्पन्न भएको हो । मिर्गौला प्रत्यारोपणमा प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरू, ओटी इन्चार्ज तथा ओटी र आइसीयु मा कार्यरत नर्सिङ कर्मचारीहरू साथै प्रयोगशालाकर्मी लगायतका कर्मचारीहरू संलग्न रहेका थिए ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्राविधिक सहयोगमा उक्त प्रत्यारोपण भएको हो । शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक दशकमा झण्डै ११०० सय जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । यस्तै मुलुक मै पहिलो पटक मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचार प्रसार तथा देश भरी डाइलाइसिस विस्तार गर्न सघाउनका साथै सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठका अनुसार गण्डकी प्रदेशको साथै कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत प्रादेशिक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ भने क्रमशः सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौँडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भइ रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!