नेपाली मूलका डा. सिद्धार्थ यादवलाई २ करोड ६० लाख को एएससीओ करियर डेभलपमेन्ट पुरस्कार


सिकागो – क्यान्सर क्षेत्रमा कार्यरत चिकित्सकहरूको अग्रणी संगठन अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी’ (आस्को) ले नेपाली मूलका डा. सिद्धार्थ यादवलाई २०२३ एएससीओ करियर डेभलपमेन्ट पुरस्कारले सम्मानित गरेको छ । यो पुरस्कारले प्रत्येक वर्ष अमेरिकामा क्यान्सर अनुसन्धानका लागि सर्वश्रेष्ठ र महत्वपूर्ण युवा अन्कोलोजिस्ट हरूलाई प्रदान गरिन्छ ।

डा. यादवले उक्त पुरस्कार वंशानुगत स्तन क्यान्सर को जिन को खोजीमा गरेको अनुसन्धानको लागि प्राप्त गरेका हुन्। डा. यादवले उक्त पुरस्कार अन्तर्गत २ लाख अमेरिकी डलर (२ करोड ६० लाख नेपाली रुपैयाँ ) प्राप्त गरेका हुन् । उक्त पुरस्कार राशि डा. यादवले आफ्नो आगामी अनुसन्धानमा खर्च गर्नेछन् ।

आस्को को ‘कक्वेर क्यान्सर फाउंडेशन’ का अध्यक्ष डा. हावर्ड ए. बरिसले उक्त पुरस्कार डा. यादवलाई सिकागो मा आस्को को ५९ औं वार्षिक सम्मेलनमा प्रदान गरेका हुन्। पुरस्कार प्रदान गर्ने क्रममा डा. बरिसले क्यान्सर अनुसन्धानमा अग्रणी भूमिका खेलेका डा. यादव र अरु युवा अनुसन्धानकर्ताहरूका क्यान्सर अनुसन्धान प्रति को प्रतिबद्धताको प्रशंसा गरेर आगामी दिनमा यस्तो अनुसन्धानको माध्यमबाट सन्सारभरि को मानिसहरूले क्यान्सरलाई जित्न सक्ने विश्वास व्यक्त गरे ।

नेपालहेल्थप्रेस सँग कुरा गर्दै डा. यादवले एएससीओको पुरस्कार चयन समितिलाई धन्यवाद दिएका छन’ । ‘यो पुरस्कारले मलाई क्यान्सर अनुसन्धानमा काम गर्ने थप उर्जा दिएको छ। आगामी दिनमा मेरो अनुसन्धानलाई फराकिलो बनाउँदै नेपाल र दक्षिण एशिया मा क्यान्सर गराउने जिन हरूको खोजीमा पनि लाग्ने छु। यो पुरस्कार मेरो अनुसन्धानका मेन्टरहरू, परिवार र नेपाली साथीभाइहरू तथा शुभचिन्तकहरू को सपोर्ट र प्रोत्साहनको नतिजा हो’, उनले भने ।

न्युजविक को अनुसार विश्वमा उत्कृष्ट अस्पताल मिनेसोटाको मेयो क्लिनिकमा डा. सिद्धार्थ यादव अन्कोलोजी का सहायक प्राध्यापक र अन्कोलोजी विभागका वरिष्ठ सल्लाहकार समेत हुन्। डा. यादवले स्तन र गर्भाशयको क्यान्सरको व्यवस्थापनमा विशेषज्ञता राख्छन्। उनको अनुसन्धान मुख्यतः महिलाहरूमा क्यान्सर गराउने जिन हरूको खोजीमा केन्द्रित छ।

डा. यादवले आफ्नो अनुसन्धानका लागि पहिले पनि अमेरिकी सरकारको नेशनल क्यान्सर इन्स्टिच्युट, अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्च , एएससीओ र मेयो क्लिनिकबाट अरु अनुसन्धान पुरस्कारहरू पाएका छन्। डा. यादवले क्यान्सर सम्बन्धी १०० भन्दा बढी अनुसन्धानहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित गरेका छन्।

आस्को करियर डेभलपमेन्ट पुरस्कार सन १९९२ मा युवा अनुसन्धानकर्तालाई सम्मान र प्रोत्साहन गर्न स्थापना गरिएको हो। आस्को को स्थापना सन १९६४ मा भएको थियो र आजको दिनमा संसारभरका क्यान्सर सम्बन्धी पेशामा संलग्न ४५ हजार सदस्य छन् । आस्को लाई संसारमै क्यान्सर सम्बन्धी काम गर्ने चिकित्सकहरूको सबैभन्दा ठूलो संस्थान मानिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!