स्वास्थ्य मन्त्री को निर्देशन पछि वीर अस्पतालको सेवा मा सुधार र विस्तार


काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा ११ शय्या को एचडीयु (हाई डिपेन्डेन्सी केयर युनिट) थपिएको छ । अगामी साता भित्र न्युरो सर्जरी सेवा विस्तार अन्तर्गत थप २ वटा शल्यक्रिया कक्ष र ९ वटा आइसीयु शय्या वाट सेवा समेत प्रदान गरिने भएको छ ।

स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत ले जेठ १२ गते वीर अस्पतालको आकस्मिक अनुगमनमा देखिएका समस्या बारे सुधार कार्य थालनी गर्न दिएको निर्देशन अनुसार नै उक्त क्षमता विस्तार गरिएको हो । स्वास्थ्य मन्त्री ले एक साता भित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी अस्पतालको सेवा सुविधा मा सुधार गर्न निर्देशन दिएका थिए ।

स्वास्थ्य मन्त्री बस्नेतले वीर को अनुगमनमा देखिएका समस्या हरू समाधान गर्ने रणनीति अन्तर्गत आम व्यक्तिलाई सहज उपचार प्राप्तिको लागि विभिन्न पाइला चालिएको स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

यस्तै अस्पतालमा स्टेप डाउन फ्यासिलिटि समेत शुरु गरिएको छ जसले गर्दा आइसीयु वाट निकाल्न सकिने बिरामीहरूलाई सारेर आइसीयु खाली गर्न सकिने अवस्था सृजना भएको र यसले आइसीयुको क्षमता विस्तार भएको प्रतिष्ठानको उपकुलपति डा.भुपेन्द्र बस्नेतले जनाए ।

वीर मा आकस्मिक सेवा विस्तार अन्तर्गत १० वटा शय्या समेत थप गरिएको छ । यस्तै लाइन तथा भिडभाड व्यवस्थापनमा समेत सुधार गरिएको छ । अनलाइन टिकट प्रणाली लाई प्रभावकारी बनाउन , एसएमएस, श्रव्य दृश्य सामाग्री र जनशक्ति सहितको स्टल मार्फत प्रचार प्रसार भइ रहेको अस्पताल ले जनाएको छ ।

अस्पतालको वेब साइट मा आइसीयु, जनरल बेड, क्याबिनको क्षमता र त्यसको उपलब्धता बारे दैनिक अपडेट गर्ने व्यवस्था मिलाइएको डा.वस्नेतले बताए । वीरमा हेमोडायलासिस सेवालाई विस्तार सँगै सुधार गरेको समेत अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्री बस्नेतले एक साता अघि आकस्मिक निरीक्षण गरे पछि मिर्गौला फेल हुने बिरामी हरूको संख्या बढ्दै गएको ले डाइलासिस गराउन आवश्यक बेड संख्या थप्न अस्पताललाई निर्देशन दिएका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!