स्वास्थ्य मन्त्री बस्नेत द्वारा एक साता भित्र वीरको सेवामा सुधार गर्न निर्देशन

ड्युटी समयमै वीर अस्पताल छोडेर निजी क्षेत्रका अस्पताल र क्लिनिकमा जाने चिकित्सक र स्वास्थ्य कर्मी लाई कारबाही गरिने


काठमाडौं – स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गरेर एक साता भित्र बिरामीहरू ले महसुस हुने गरी सुधार भएको देखिने गरी अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।

विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर शुक्रबार बिहान काठमाडौं आइ पुगेका मन्त्री बस्नेतले वीर अस्पतालको सेवा सुविधा नसुध्रे सम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताए ।

उनले भने – ‘वीर अस्पताल देशको लिडर अस्पताल हो । वीरको सेवामा तत्काल सुधार हुनै पर्छ । ’ वीरको सेवा सुधार्न हरेक चिकित्सक ले इमानदार प्रयास गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको समेत मन्त्री बस्नेत ले जनाए ।

स्वास्थ्य मन्त्री लाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उप कुलपति प्रा.डा. भुपेन्द्र बस्नेत र वीर का निर्देशक डा. सन्तोष पौडेलले अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधा का विषयमा जानकारी गराएका थिए । मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आईसीयू, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्वपूर्ण विभाग हरूको निरीक्षण समेत गरेका थिए ।

मन्त्री बस्नेतले टिकट काउन्टरको भिड कम गर्न र सेवा सहज बनाउन अन लाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाएर त्यसको जानकारी सर्वसाधारणलाई हुने गरी व्यवस्था गर्न निर्देशन दिएका छन् । यस्तै अस्पतालमा रहेका बेड र आईसीयू बेड खाली भए नभएको जानकारी वेभ साइटमा राख्न समेत स्वास्थ्य मन्त्रीले निर्देशन दिए ।

वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको ९ बेड आईसीयू एक साता भित्रै सञ्चालनमा ल्याएर आईसीयू बेड नपाएर भौँतारिनु पर्ने अवस्थाको अन्त्य गर्न मन्त्री बस्नेतले निर्देशन दिए । उनले भने, – ‘नर्सिङ जनशक्ति केही दिनमा लोकसेवा पास गरेर आउँदैछ भनेर पर्खेर बस्ने अवस्था छैन । अस्पतालकै जनशक्ति तानतुन गरेर भए पनि चाँडो आईसीयू सञ्चालन गर्नु पर्यो ।’

देश भर मिर्गौला फेल हुने बिरामीहरूको संख्या बढ्दै गइ रहेकोले डाइलासिस गराउन आवश्यक पर्ने बेड संख्या थप्न, अस्पतालको सरसफाइमा ध्यान दिन र आकस्मिक कक्षमा बेडको संख्या थप्न पनि मन्त्रीले निर्देशन दिए । वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मी ड्युटी समयमै निजी क्षेत्रका अस्पताल र क्लिनिकहरूमा जाने गरेको पाइएका ले ड्युटी समयमा अस्पताल छोडेर निजी मा जाने चिकित्सक लाई कारबाही गर्न वीरको नेतृत्वलाई स्वास्थ्य मन्त्री ले निर्देशन दिए ।

मन्त्री बस्नेतले भने, – ‘सुरुमा हामी चिकित्सकहरूलाई ड्युटी समयमा निजी अस्पताल क्लिनिक मा नगई दिन अनुरोध गर्दछौँ । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारबाही गरिने छ ।’ निरीक्षण टोलीमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोसन पोखरेल, देव कुमारी गुरागाँई, अतिरिक्त सचिव डा.संगीता मिश्र र मन्त्रालयका अधिकारी हरू थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!