वृहत् यौनिकता शिक्षा सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन बुधवार देखी शुरु


काठमाडौं –मुलुकमा पहिलो पटक बुधवार देखी दुई दिने वृहत् यौनिकता शिक्षा सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय एवं स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजना र संयुक्त राष्ट्रिय जनसंख्या कोष, नेपाल परिवार नियोजन संघ लगायत बृहत् यौनिकता शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्मेलन सञ्चालन हुनेछ ।

दिगो विकास लक्ष्यहरू २०३० हासिल गर्न बृहत् यौनिकता शिक्षा लाई अगाडि बढाउँदै भन्ने मुख्य नाराका साथ नेपालमा विभिन्न जिल्लाका सरोकारवाला, युवाहरू तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागितामा जेठ १० र ११ गते काठमाडौं को होटेल याक एण्ड यती मा बृहत् यौनिकता शिक्षा विषयक पहिलो राष्ट्रिय सम्मेलन हुने भएको छ ।

उक्त सम्मेलनले सन् १९९४ मा सम्पन्न जनसंख्या तथा विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलन , २०१५ को दिगो विकास लक्ष्य, युवा, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रस्ताव २२५०, महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रस्ताव १३२५, २०७२ मा जारी भएको नेपालको संविधान, राष्ट्रिय युवा नीति, युथ भिजन २०२५, विद्यालय शिक्षा क्षेत्र योजना २०२२/२३–२०३१/३२ जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा प्रतिवद्धताहरूको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तिन सय जना सरोकारवाला तथा युवाहरूको सहभागिता रहने आयोजकहरूले बताएका छन् ।

सम्मेलनमा कार्यपत्रहरूको प्रस्तुति पछि बृहत् यौनिकता शिक्षाको घोषणापत्र समेत जारी गरिने छ । आयोजकहरूको अनुसार सम्मेलनले युवाहरूको लागि उमेर– उपयुक्त , वैज्ञानिक र अधिकारमा आधारित बृहत् यौनिकता शिक्षाको पहुँच, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, अल्पसंख्यक समुदाय हरूको अधिकारको सुनिश्चितता, रूढिवादी प्रथा तथा धारणा, हिंसा, बाल विवाह , युवाहरूको विदेश पलायन, शान्ति, सुरक्षा, किशोर किशोरी तथा युवा मैत्री सेवा तथा वातावरण साथै युवा लक्षित विभिन्न राष्ट्रिय नीति तथा त्यसको प्रभावकारी कार्यान्वयन, जस्ता धेरै महत्वपूर्ण मुद्दाहरूमा छलफल गर्ने अवसर प्रदान गर्नेछ । यस्तै युवाहरूकै सहभागितामा यी मुद्दाहरूमा व्यापक छलफल गरि नेपालमा बृहत् यौनिकता शिक्षाको आगामी कार्य दिशा तय गर्ने उद्देश्य राखिएको छ । उक्त मुद्दाहरू दिगो विकासका लक्ष्य २०३० र जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन १९९४ का प्रतिबद्धताहरू प्राप्त गर्ने महत्वपूर्ण आधारहरू हुन् ।

यो सम्मेलनले तीन तहको सरकार, नागरिक समाज र निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ पार्नेछ, थप लगानी, र एकीकृत कार्य योजना हरूको निर्माण गरी बृहत् यौनिकता शिक्षालाई संस्थागत गर्न समन्वयात्मक नीति र कार्यक्रमहरूको प्रवर्द्धन गर्ने समेत बताइएको छ ।

यस सम्मेलन पछि विशेषगरी बृहत् यौनिकता शिक्षा तथा युवा मैत्री सेवाको अभावमा विभिन्न समस्या को सामना गरिरहेका युवाहरूको आवाजलाई एकीकृत गर्दै उनीहरूको आह्वान लाई सरोकारवालाहरू समक्ष पुर्याउन युथ कल फर एक्सन समेत जारी गरिने छ ।

किशोर किशोरी तथा युवाहरूलाई विभिन्न यौन तथा प्रजनन स्वास्थ्य समस्याहरू र अपराधबाट बच्न / बचाउन जीवन उपयोगी शिक्षाको रूपमा बृहत् यौनिकता शिक्षाको विस्तार र विद्यालयको पाठ्यक्रममा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयलाई अनिवार्य विषयको रूपमा पूर्ण कायम गरी सबै युवाहरूको पहुँचमा बृहत् यौनिकता शिक्षाको सुनिश्चितता र शिक्षकहरूलाई बृहत् यौनिकता शिक्षामा तालिम उपलब्ध गराई, पठनपाठनको उचित व्यवस्था गरि सबैका लागि समावेशी तथा समता मूलक गुण स्तरीय शिक्षाको मागका लागि सहभागी सबै युवाहरूद्वारा सामूहिक रुपमा सरकार सँग आह्वान गरिनेछ । यो सँगै युवालाई देशमै स्व रोजगार तथा उद्यमीको व्यवस्था गरी युवा जनशक्तिलाई विदेश पलायन हुनबाट निरुत्साहित गर्नका लागि पनि सरकारसँग आह्वान गरिनेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!