कपाल/ टाउको को लागि कुन तेल राम्रो ?


नेपाल, भारत लगायत विश्वका विभिन्न भागमा टाउकोमा तेल लगाउँदा कपाल झर्नबाट रोक्छ, टलक ल्याउँछ, घना बनाउनुको साथै फुल्न वाट जोगाउने लगायतका विश्वास गरिन्छ । कपालमा काइँयो गरेर जरा देखि टुप्पोसम्म तेल लगाइन्छ भने स्याम्पु वा कपाल सफा गर्नु भन्दा अघि सातामा एक पटक प्रायः तेल लगाइने गरिन्छ ।

अझ नेपाल र छिमेकी भारतमा हुर्केका हरुको गाँउ घरमा मात्र हैन शहरको परिवेशमा समेत अझै टाउकोमा राम्ररी मालिस सहित तेल लगाउँदा कपाल को स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मान्यता शताब्दीयौं देखी रहँदै आएकोहो ।

हामी कहाँ चार दशक नाघेका अधिकांश महिलाहरू बाल्यकालमा आमाको काखमा बसेर टाउकोमा तेल सहित मालिसको अनुभव बटुलेकै हुन्छन । टाउको देखी कपाल सम्ममा राम्ररी तेल लगाउने हाम्रो समाजका परापूर्व काल देखी जारी यो प्रकृया धेरै हद सम्म वैज्ञानिक रूपले सही पनि छ ।

शताब्दीयौं देखी जारी रहेको यो विश्वासको नाजायज फायदा थुप्रै प्रकारका कपाल स्याहार गर्ने उत्पादनको माध्यमले कस्मेटिक उद्योग द्वारा उठाइदै आइएको समेत छ ।

वजारमा छ्यापछ्याप्ती अनेकन सम्भव असम्भव दाबी सहित विभिन्न तेलको वजार मौलाउदै गएको समय कपालमा लगाइने यस्ता तेलहरू बारे पछिल्लो दिनहरूमा छाला रोग विशेषज्ञहरू सँग सल्लाह लिनेहरूको संख्या बढ्दो देखिएको छ ।

सबै भन्दा बढी नरिवल, तोरी, तिल, अमला, जैतुन, कास्टर(अँडीर), अलसी आदि कपालमा लगाउने तेल को फायदा लगायतका बारे आम व्यक्तिले सोध्ने गरेका छन ।

हामी सबैलाई थाहा छ, यी विषयमा उपलब्ध वैज्ञानिक सामाग्री हरु सीमित छन । यति मात्र नभइ यस्ता तेलहरूको बारेमा प्रमाण आधारित तथ्याङ्क विना नै यसको आश्चर्यजनक प्रभावहरू बारे अतिरञ्जित दाबीहरू समेत प्रसस्त गरिन्छ ।

यसैले होला हाल कस्मेटिक कम्पनीहरु द्वारा उपलब्ध असंख्य व्यक्तिगत कपाल हेरचाह उत्पादन लगायतका तेलको बारेमा उपयुक्त जानकारी खोज्न चाहनेहरू को संख्या कम छैन । नाफाको लागि असामान्य दावी सहित सौन्दर्य उत्पादन पस्किने गरिएको समय सामान्य कपालको तेलको बारेमा जान्न आवश्यक छ ।

नरिवल तेल
सबै भन्दा पहिले नेपालमा सहजै र सस्तो रुपमा उपलब्ध नरिवल तेलको चर्चा गरौँ । नरिवल वाट पाइने यो तेल हाम्रो छिमेकी भारतको दक्षिण तटहरुमा व्यापक रुपमा पाइनुको साथै जिउ कपालमा लगाउन मात्र नभइ खान समेत अत्यधिक उपयोग गरिन्छ । नरिवल तेल नेपाल, भारत मात्र नभए श्रीलंका, इन्डोनेसिया, मलेसिया, अस्ट्रेलिया दक्षिण अमेरिकामा धेरै बढी लोकप्रिय छ ।

नरिवल तेलमा सन्तृप्त फ्याटी एसिड हरू हुन्छ भने यो ‘मिडियम चेन फ्याटी एसिडले सबै भन्दा बढी परिपूर्ण हुन्छ । यसमा भएको मुख्य फ्याटी एसिडमा माइरिस्टिक एसिड, क्याप्रिक एसिड, लौरिक एसिड,र मोनोलारिन आदि हुन । यसमा फेनोलिक एसिड र टोकोफेरोल जस्ता एन्टि अक्सिडेन्ट समेत हुन्छ ।

नरिवल तेलको टाउको र कपालमा विभिन्न प्रभावहरू पर्ने दाबी गरिन्छ । यस अन्तर्गत सावुन स्याम्पु वनाउने प्रकृयाको लागि समेत प्रयोग हुने यो तेल राम्रो माध्यम हो । यो तेलमा एन्टिव्याक्टेरियल गतिविधि समेत हुन्छ । तेलमा पाइने मोनोलाउरिन को जीवाणुरोधी एजेन्टको रुपमा प्रभावकारिता देखिएको छ । यसले विभिन्न व्याक्टेरियाको लिपिड झिल्ली लाइ विघटन गरेर काम गर्छ । मोनालाउरिनले एन्टि फंगल गतिविधि समेत प्रदर्शन गर्छ ।

नरिवल तेलमा नरम पार्ने गुण अर्थात मृदुकारी समेत देखिएको छ । नरिवल तेलले कपालमा कोटिंग बनाउछ । जसले गर्दा क्युटिकल लाइ ‘सील’ गरेर भित्रको नमीलाइ जोगाएर राख्छ । यो चिल्लो पदार्थको रुपमा समेत काम गर्छ । यसले कपालको त्यान्द्रो हरु विच बढ्दो चिप्लाइ (स्लिप) कायम राख्छ । यहि चिप्लाइको अभावमा कपाल झर्छ । यो चिल्लोले छालाको सतहलाइ चिल्लो र समतल वनाउछ जसले गर्दा कपालको त्यान्द्रोहरुको स्वास्थ्य र उपस्थितिमा सुधार हुन्छ ।

नरिवल तेलको कम आणविक तौल र सिधा रैखिक श्रृंखला ले गर्दा यो कपालको साफ्ट भित्र छेडेर जान सक्षम छ । जसले गर्दा कपाल वाट प्रोटिनको हानीलाइ जोगाउछ । यहि कारणहरुले गर्दा नरिवल तेल विश्वको धेरै भागमा कपाल/टाउकोमा प्रयोगको लागि व्यापक स्विकार्यता पाएको छ ।

जैतुन (ओलिभ)को तेल
हाम्रो मुलुकमा खासै उपयोग नभए पनि आश्चर्य जनक रुपमा थुप्रै संस्कृतीहरुमा लामो समय देखी जैतुनको तेल को उपयोग कपाल र छालाको लागि सौन्दर्य प्रसाधनको रुपमा हुदै आएको छ ।

यो तेलमा अराकिन, लिनोलियनन, पाल्माइटिन पाइन्छ । तर मुख्य घटक ओलिन हो । यसमा स्टेरोल, कराटिनोइडस, टाइटेपेनिक तेल र फेनोलिक यौगिक हरू समेत हुन्छ । तेलमा प्रोटेक्टिभ र मोइश्चराइज गर्ने गुण पाइन्छ । यसले तपाइको कपालको प्राकृतिक कैरोटिनलाइ जोगाउछ । यसमा प्रचुर मात्रामा भएको एन्टि अक्सिडेन्ट गुण प्राकृतिक कन्डिसनरको रुपमा काम गर्छ ।

जैतुनको तेलले कपालमा इमोलियन्ट(नरम पार्ने) प्रभाव दिन्छ । यो तेलले क्युटिकल लाइ सिल गरेर भित्रको मोइश्चरलाइ कपाल मै राखि रहन्छ अर्थात लक गर्छ । यद्यपी नरिवलको तेलले यो कार्य झन राम्ररी गर्छ । भिटामिन इ ले परिपूर्ण यो तेल कपालको सम्पुर्ण विकासको लागि राम्रो मानिन्छ ।

यो तेल परावैजनी किरण वाट हुने क्षती वाट कपाललाइ जोगाउछ । यो तेलमा एन्टि फंगल प्रभाव समेत देखिएको छ । यो तेललाइ विभिन्न सामाग्रीको संयोजनमा प्रयोग गर्दा सोराइसिसमा राम्रो प्रभाव देखिएको छ । सामान मात्रामा मह, जैतुनको तेल र मोमको मिश्रणले रातो पना, स्केलिग, मोटोपना, प्रुराइटिस जस्ता लक्षणहरुमा उल्लेखनिय सुधार देखाएको छ ।

तोरी को तेल
नेपाल भारतमा जहा पनि सबै भन्दा बढी भान्सामा उपयोग गरिने तोरीको तेल मा आरचिडिक, विहेनिक, लिनोलिएक, लिनोलेनिक, ओलिक, पालमिटिक, इरुचिच, लिग्नोसेरिक, माइरिस्टिक एसिड हुन्छ । यसमा कैरोटिनोइडस टोकोफेरोल र सिनिग्रन समेत पाइन्छ ।

गाउ घरमा यो तेल खाना पकाउन मात्र नभइ शरिरमा मालिस गर्न टाउकोमा लगाउन समेत उपयोग गरिन्छ । यो तेलमा एन्टि अक्सीडेन्ट गुण हुन्छ । यसमा भएको एमिनो एसिड, सिस्टनले एन्टिअक्सिडेन्टको काम गर्छ । सिस्टनले शरिर लाइ ‘फ्रि रैडिकल’, अर्थात मुक्त कणवाट जोगाउछ । फ्रि रैडिकले शरिरमा डिएनए र कोषिका को झिल्ली लाइ क्षती पुर्याउछ ।

तोरीको तेलले सुर्य को प्रकास ले छालामा पार्ने नराम्रो प्रभाव विरुद्घ सन स्क्रिनको काम समेत गर्छ । यसको वाक्लोपना र उच्च मात्रा मा पाइने भिटामिन इ ले गर्दा यसले परावैजनी किरणवाट जोगाउछ ।

यति मात्र नभइ यसमा एन्टिफंगल गुण समेत पाइन्छ । यो तेलले कपालमा टी मेन्टाग्रोफाइटको प्रवेसलाइ उल्लेखनिय रुपमा रोक्छ । तर यो अमला र नरिवलको तेलको दाजोमा फंगस विरुद्घ कम प्रभावकारी देखिएको छ । यो तेलमा एन्टिमाइक्रोवियल गतिविधि समेत देखिएको छ ।

अमलाको तेल
हामीहरुले भिटामिन ‘सि’ को उच्च श्रोत रहेको खाने अमला को तेल समेत परापूर्व काल देखी नै उपयोग गर्दै आएका छौं । अमला भारत र नेपालमा उच्च मात्रा मा पाइन्छ ।

अमलाको तेलमा ढुसीनाशक गुण समेत हुन्छ । ०.५ प्रतिसत कन्सट्रेसन भएको अमलाको तेलमा एम. क्यानिस, एम.जिप्सियम, ट्राइको फिटन रुब्रमको लागि फंगीसाइडल अर्थात ढुसी/फंगस नास गर्ने क्षमता हुन्छ । यो क्षमता यसमा भएको असन्तृप्त ‘सि–१८’ फैटि एसिडले गर्दा देखिएको हो ।

यो तेलमा एन्टि माइक्रोवियल गुण समेत हुन्छ । यो तेलले इ.कोलाइ, क्लेवसिएला, निमोनिया, क्लेवसिएला ओजाएना, प्रोटस मिरावालिस, पी.एरुगिनोसा, साल्मोनेला टाइफी विरुद्घ शक्तिशाली जीवाणुरोधी गतिविधि देखाएको छ ।

कैस्टर अर्थात अँडीर/अंडीको तेल
यो तेल कपालको सुन्दरता बढाउन गाउ घरमा केहि दशक अघि सम्म लगाइने गरिन्थ्यो । मधेशमा सहजै पाइने स्थानीय भाषामा अंडी भनिने अँडीर बढी वाक्लो र सस्तो हुने भएकोले स्थानीय व्यक्तिहरु आफनो वैलगाडाको पांग्रामा लुव्रिकेन्टको रुपमा समेत उपयोग गर्ने गर्थे ।

एन्टि माइक्रोवियल गुणले युक्त यो तेलमा भिटामिन ‘इ’, प्रोटिन र मिनरल पाइन्छ । यसमा भएको एन्टि माइक्रोवियल गुणले कपालमा भएको चाया, र टाउको को छालामा देखिने समस्यावाट जोगाउछ ।

यसमा भएको रिसिनालिक एसिडले टाउकोमा भएको सुन्नाइ (इन्फालामेसन) हटाउन सघाउछ । यति मात्र होइन यो तेलले टाउकोमा अर्थात मस्तकको रक्त संञ्चार प्रणालीमा सुधार ल्याएर कपाल लाए मोइश्चराइज गर्ने दाबी समेत गरिन्छ । यो तेलले कपालको मोइश्चर( आद्रता) को स्तर लाइ सन्तुलित वनाइ राख्न सघाउछ ।यो तेल लगाएर कपाल धुनु अलि अप्ठयारो हुने भएकोले मनतातो पानी उपयोग गर्न सकिन्छ ।

अलसी/तिसीको तेल
हाल सुपर फुडको रुपमा मान्यता पाउदै गरेको अलसीको तेलमा भिटामिन ‘इ’ हुन्छ जसले कपाललाइ पोषण दिने दाबी गरिन्छ । यस्तै यो भिटामिन ‘इ’ले नया कपाल को विकासको लागि प्रोत्साहन दिने दाबी समेत गरिन्छ ।

यो तेलमा भएको ‘लिग्नान’, वलियो एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ । जसले स्वस्थ र वलियो कपालको पुर्नरविकास गर्न सक्छ । अलसीमा हुने ओमेगा–३ फैटि एसिडले सुन्नाइ कम गर्न सघाउछ । यसले चाया, टाउको मा समस्या र कपाल झर्न कम हुने मान्यता छ ।

यसमा भएको स्वस्थ प्रोटिनले कपाललाइ राम्रो टलक युक्त वनाउनुको साथै मोलायम ओसिलो वनाउने दाबी गरिन्छ । यसले चाया वाट राहत दिने समेत विस्वास गरिन्छ ।

तिलको तेल(सेसमी ओयल)
एन्टि व्याक्टेरिल गुण र भिटामिन ‘इ’ ले परिपूर्ण तिलको तेल भारतीय उप महाद्विपमा घरेलु उपचार र आयुर्वेदिक प्रकृया मा शताब्दीयौं देखी उपयोग गरिदै आइएको छ । परम्परागत पद्घतीहरुमा यसले कपालको बृद्घि गर्ने दाबी गरिन्छ भने टाउकोको संक्रमणमा समेत प्रभावकारी ठानिने गरिन्छ । (डा.कर्ण छाला रोग तथा सौन्दर्य विशेषज्ञ हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!