पिसाब / भोक बढी लाग्ने, घाउ खटिरा, थकाइ, यौन क्रम घटने अवस्था ? कहि मधुमेह त छैन


काठमाडौं– के तपाइलाई पिसाब बढी भइरहेको छ ? राती पिसाब फेर्न उठ्नु पर्ने हुन्छ । कमजोरी, भोक बढी लाग्ने, जिउ चिलाउने, एक्कासि छालामा घाउ खटिरा आउने, संक्रमण लगायत आँखा कमजोर हुने, धमिलो देखिने थाल्ने,  थकाइ, यौन क्रम घटने आदि समस्या भइ रहेको छ ।

यदि हो भने, एक पटक डाक्टरलाई हेराउनुस । यस्तो खाले लक्षण मधुमेहको कारणले पनि हुन सक्छ र समय मै रोग पहिचान गरेर उचित उपचार प्रकृया अपनाउँदा सहज जीवन यापन गर्न सकिन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा द्वारा विश्व मधुमेह दिवसमा आयोजित कार्यक्रममा विशेषज्ञ चिकित्सकहरूले मधुमेह मा देखिने लक्षणहरू प्रति संवेदनशील हुन आग्रह गरेका छन ।

‘मधुमेहका सबै लक्षण एकै चोटि आउँछ भन्ने छैन’, बीर अस्पतालका कन्सलटेन्ट इन्डोक्राइनोलजिष्ट डा.दिपक मल्ल भन्छन्–‘ तर यस्तो लक्षण देखिए तुरुन्त चिकित्सकिय सल्लाह अनुसार आहार, शारीरिक गतिविधि र औषधिहरूको माध्यमले सहज जीवन यापन गर्न सकिन्छ ।’

समय मै रोग पहिचान गरेर उपचार प्रकृयामा शुरु गर्दा बिरामीहरू भविष्यमा देखिन सक्ने जटिलताबाट धेरै हद सम्म बाच्न सक्छन् भने उनीहरूको आकाल मृत्यु हुने जोखिम समेत कम हुन्छ ।

उसो केही व्यक्तिहरू अन्यको दाँजोमा मधुमेहको बढी जोखिममा समेत हुन्छन् । डा.मल्लको अनुसार परिवारको नजिक सदस्य लाइ मधुमेह देखिएको छ भने तपाइमा समेत मधुमेह हुन सकने जोखिम अन्यको दाँजोमा बढी हुन्छ ।

यस्तै उच्च रक्तचापबाट पीडित, आवश्यकता भन्दा बढी तौल भएकाहरु, रगतमा बोसोको मात्रा बढी देखिएका, धेरै शारीरिक परिश्रम गर्नु नपर्ने जीवन शैली भएकाहरु मा मधुमेह हुने जोखिम बढी हुन्छ । यति मात्र नभइ गर्भावस्थामा मधुमेह देखिएकाहरुमा समेत यो रोग हुने जोखिम बढ्छ ।

तपाइलाई मधुमेह छ वा छैन यो जान्न केही सामान्य परीक्षणले थाहा पाउन सकिन्छ । यस अन्तर्गत फास्टिङ्ग ब्लड सुगर(खाली पेटमा गरिने रगतको जाँच) अन्तर्गत ८ घण्टा केही नखाइ रगतको परीक्षण गरिन्छ । यो प्रायः मधुमेह वा पूर्व मधुमेह(प्रिडाइविटिक) जाँच गर्ने पहिलो परीक्षण हो ।

यस्तै ‘पीपी’ अर्थात् खाना खाएको २ घण्टा पछि गरिने परीक्षण ले समेत तपाइको मधुमेहको अवस्था वारे औँल्याउँछ ।

तर ‘एचबी१सी’, अर्थात् ‘हेमोग्लोविन ए१सी’, परीक्षण भने सबै भन्दा बढी महत्वपुर्ण रहेको जनाउँदै डा.मल्ल भन्छन–‘रगत वाट गरिने एचबी१सी परीक्षणले तपाइको को औसत ब्लड सुगर(ग्लुकोजको स्तर) पछिल्लो दुई देखी तिन महिनामा कति थियो भनेर बताउँछ ।’

यस्तै पिसाब परीक्षण वाट समेत मधुमेहको बारेमा धेरै जानकारी प्राप्त हुन्छ । प्राचिनकालमा पिसाबमा जम्मा हुने कमिलोले नै मधुमेह भएको आकलन गरिने गरिएको जनाउँदै  डा. मल्ल भन्छन्–‘रगतमा सुगर(चिनी) बढी भए पछि यो पिसाब वाट पनि निस्किन थाल्छ ।’

मधुमेह ‘टाइप–१’, ‘टाइप–२’, गर्भावस्थामा हुने मधुमेह(गेस्टेसनल डाइविटिज) र अन्य प्रकारको हुने गरे पनि प्रायः जसो व्यक्तिलाई टाइप–२ मधुमेह भइ रहेको हुन्छ ।

मधुमेह भएकाहरुले चिकित्सकिय सल्लाह अनुसारको शारीरिक गतिविधि अपनाउँदा धेरै फायदा हुने गरेको छ । मुटुको स्वास्थ्यको लागि व्यायाम धेरै आवश्यक छ । शारीरिक गतिविधिले मोटो पना घटाउन नसके पनि रगतमा सुगर नियन्त्रणमा ल्याउन भने मद्दत गर्ने उल्लेख गर्दै डा.मल्ल भन्छन–‘शारीरिक गतिविधि, जस्तो हिँड्ने, व्यायाम गर्ने वा बाहिरी खेल खेल्ने आदिले रगतमा सुगरको नियन्त्रण, मधुमेहको रोकथाम, तौल घटाउने गर्छ ।’

मधुमेह पीडितहरू ले व्यायाम अन्तर्गत आफूलाई उपयुक्त हुने गरी हिँड्नु पर्छ । यस्तै घर भित्र गर्न सकिने व्यायाम समेत फायदा जनक हुन्छ । अझ कामको काम र व्यायामको व्यायाम अर्थात् बारी, बगैँचामा काम गर्नु समेत राम्रो मानिन्छ । यस्तै चिकित्सकको सल्लाह अनुसार दौडने, कुद्ने, शारीरिक तालिम,  नाच्ने साइकल चलाउने, पौडी लगायत विभिन्न खेल खेल्ने फायदा जनक हुन्छ ।

मुटुको रक्त नलीमा अवरोध(व्लकेज) देखिएकाहरुले चिकित्सकको समेत सल्लाह लिनु पर्ने औँल्याउँदै डा.मल्ल भन्छन्–‘यस्ता व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार प्रतिरोध तालिम साताको तीन पल्ट दिनु पर्छ भन्ने सम्म पनि छ ।’

डा.मल्लका अनुसार मधुमेह भएकाहरुले भने नियमित रूपमा खुट्टाको जाँच, हेरचाह गर्न बिर्सनु हुन्न । यस अन्तर्गत हरेक दिन खुट्टामा फोको छ वा छैन भनेर हेर्नु पर्छ ।

यस्तै खुट्टालाई घाउ, चोटबाट जोगाउन चप्पल, जुत्ता नलगाएर खालि खुट्टा हिँड्नु हुँदैन । अझ मधुमेह भएकाहरु खुट्टामा जुत्ताले औँलाहरू धेरै कस्सिने, घाउ हुने गरी लगाउनु हुँदैन । जुत्ता लगाउनु अघि त्यस भित्र ढुङ्गा , किल्ला, किरा छ वा छैन कि भनेर हेर्नु समेत पर्छ । किनभने मधुमेह भएकाहरुको खुट्टामा समवेदना कम हुने भएकोले जुत्ता भित्र भएको बाहिरी पदार्थले घाउ चोट बनाउन सक्छ ।

अव जाडोको मौसम शुरु भएको छ । यस्तोमा मधुमेह पीडितहरू आगो, हिटरको धेरै नजिक बस्नु, धेरै तातो पानीले खुट्टा धुनु र साथै तातो पानीको ब्याग को प्रयोग भने गर्नु हुँदैन । उनीहरूको छाला पातलो हुने भएकोले तापको दुष्प्रभाव पर्ने डा.मल्ल जनाउँछन् ।

मधुमेह भएकाहरुले कुनै पनि घाउ भएमा सफा पानीले राम्ररी धुनु को साथै स्वास्थ्य कर्मीलाई देखाउनु नै पर्छ । यस्तै मधुमेह पीडितमा खुट्टाको  सानो घाउ पनि पुर्ण रूपमा ठीक नहुदा सम्म पुरा ध्यान दिनु पर्छ । किनभने एउटा सानो घाउले मधुमेह भएकाहरुको ज्यान जोखिममा पार्न सक्छ ।

मधुमेहमा गर्नु पर्ने नियमित जाँचहरू 

  • रगतमा सुगरको जाँच ।
  • तौलको जाँच ।
  • रक्तचापको जाँच।
  • न्यूनतम वर्षमा एक पटक आँखाको जाँच ।
  • खुट्टाको नियमित जाँच ।
  • बर्षको कम्तीमा एक पटक पिसाबमा एल्बुमिन र एल्बुमिन छैन भने पिसाबमा माइक्रोएल्बुमिनको जाँच ।
  • वर्षको २–४ पटक रगतमा २–३ महिनाको सुगरको अवस्था बारे जानकारी दिने ग्लाइकेटेड हेमोग्लोबिन को जाँच ।
  • वर्षको न्यूनतम एक पटक रगतमा मिर्गौला सम्बन्धित परीक्षण जस्तो युरिया,क्रियाटिनिनको जाँच ।
  • बर्षको एकपल्ट रगतमा बोसो लिपिड प्रोफाइलको जाँच ।
  • नियमित र आवश्यकता अनुसार चिकित्सक सग र अन्य जाँचहरू ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!