मेडिकल काउन्सिलको रजिस्ट्रार नियुक्तिमा ‘लक्ड स्पेसिफिकेसन’ को आरोप: कसका लागि हो मापदण्ड?


काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार नियुक्तिका लागि सरकारले तोकेको नयाँ मापदण्ड प्रति काउन्सिल कै निर्वाचित सदस्य र युवा चिकित्सकहरूले गम्भीर आपत्ति जनाएका छन। स्वास्थ्य मन्त्रालयले हालै जारी गरेको कार्यविधिमा चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी/ एमएस) गरे पछि थप १० वर्षको अनुभव हुनुपर्ने सर्त राखे पछि, यो मापदण्ड खुला प्रतिस्पर्धा गराउन नभई सरकारले ‘आफ्नै कुनै खास व्यक्ति’ लाई भित्र्याउन ‘लक्ड स्पेसिफिकेसन’ का रूपमा तयार पारेको आरोप लागेको छ।

उनीहरूले बालेन सरकारले युवा चिकित्सकको प्रतिनिधित्व रोक्न कै लागि यस्तो क्राइटेरिया बनाएको समेत दाबी गरेका हुन । केही युवा चिकित्सकले नाउ उल्लेख नगर्ने सर्तमा नेपालहेल्थप्रेस सँगको कुराकानीमा यति सम्म आरोप लगाए ‘कुनै खास कम्पनी कै सामान किन्नको लागि सरकारी स्वास्थ्य निकायमा केही वर्ष अघिदेखि अपनाइँदै गरिएको लक्ड स्पेसिफिकेसन जस्तै यस पटकको रजिस्टारको क्राइटेरिया पनि हो।’

नेपाल मेडिकल काउन्सिल को महिला सदस्यहरू मध्ये सबै भन्दा बढी मतले निर्वाचित डा. सारीका गोईत ले नेपालहेल्थप्रेस सँग कुरा गर्दै भनिन -‘सम थिङ इज फिशी, चिकित्साशास्त्रमा स्नातकोत्तर गरेपछि १० वर्ष काम गरेको हुनुपर्ने क्राइटेरिया कुनै व्यक्तिलाई नै लक्षित गरिएर बनाइएको हो । यसले पुरानै टिके प्रथाको निरन्तरता कायम भएको छ ।’

‘एमडी/एमएस पछि १० वर्षको अनुभव भन्नुको तात्पर्य १६ वर्षमा एसएलसी गरेर चिकित्साशास्त्र मा निरन्तर पास गर्दै जाँदा पनि कम्तीमा ४० वर्ष पुगेकै डाक्टर हुनु पर्छ’,  डा. गोइतले अगाडि थपिन -‘प्रधानमन्त्री ३५ वर्षको हुन पाउने, अधिकांश मन्त्री सांसद युवा नै हुने तर काउन्सिलको रजिस्टार हुन ४५ – ४६ वर्षको स्नातकोत्तर गरेको डाक्टर हुनुपर्ने क्राइटेरियाले स्पष्ट रुपमा भन्छ, कहिँ न कहीँ बास्केटमा एउटा व्यक्ति छ र त्यसलाई नै बनाउन यो क्राइटेरिया निर्माण गरिएको हो।’

उनले रजिस्टारको क्राइटेरियाले गर्दा आफ्नो सम्पर्कमा आएका धेरैजसो युवा पुस्ताका डाक्टर लाई ‘एक खास व्यक्ति’,लाई नै त्यस ठाउँमा पठाउन यस्तो क्राइटेरिया बनाइएको लागिरहेको औल्याउँदै यसले युवा चिकित्सक जमातमा निराशा फैलाएको समेत दाबी समेत गरिन ।

मेडिकल काउन्सिलका पूर्व रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारी भन्छन -‘गगन थापा स्वास्थ्य मन्त्री हुँदा पहिलो पटक काउन्सिलको रजिस्ट्रारको लागि न्यूनतम योग्यता निर्धारण गर्दा स्नातकोत्तर गरेका डाक्टर लाई जम्मा १० वर्षको अनुभव भएको हुनुपर्ने बनाइएको थियो भने अध्यक्षको लागि स्नातकोत्तर सँगै १५ वर्षको अनुभव हुनुपर्ने थियो। यो क्राइटेरिया भन्दा अघि कानुन अनुसार कुनै योग्यता तोकिएको थिएन। पछिका सरकारले भने यो क्राइटेरियालाई पनि बेवास्ता गरे ।’ उनी अगाडि थप्छन् काउन्सिलको रजिस्टार हुन स्नातकोत्तर गरेर चार – पाँच वर्षको अनुभव उपयुक्त हुन्छ ।

काउन्सिलका अर्का निर्वाचित सदस्य डा. रविन बस्नेत ले नेपालहेल्थप्रेस सँग भने-‘यो ठिक होइन, गलत प्रवृत्ति हो ।सरकारलाई आफ्नो व्यक्ति पठाउनु पर्ने थियो भने डाइरेक्ट पठाए हुन्थ्यो। किन यत्रो नाटक ?’ अझ एक पटक आवेदन मागेर आवेदन हटाउनु ‘टोटल्ली डिस रेस्पेक्टफुल’ हो।’

डा. बस्नेतले रजिस्ट्रार राज्यको पद भएको औल्याउँदै भन्छन, ‘यसमा आएको मान्छे ‘हाइएस्ट नलेज र आफ्नो फ्रिडम लगाउँछ। कर्मचारी जस्ता नियुक्ति पाएकाले कति बौद्धिक स्वतन्त्रता कायम राख्न सक्छन ?’

काउन्सिलका उपाध्यक्ष डा. कुनजाङ शेर्पा का अनुसार हालको काउन्सिलको रजिस्ट्रारको लागि माग गरिएको क्राइटेरिया स्वास्थ्य मन्त्रालयले बनाएको कार्यविधि हो । उनी कुनै पनि प्रशासनिक पदमा क्राइटेरिया तोक्दा युवा सहित सबै योग्य व्यक्तिको लागि उपयुक्त हुनुपर्ने बताउँछन । जसले ती क्षेत्र विशेषमा मिसन, भिजन र गोल भएका इमान्दार व्यक्तिहरु समेटिन सकोस ।

स्वास्थ्य मन्त्री निशा मेहता द्वारा स्वीकृत कार्यविधिले कस्तो रजिस्टार चाहन्छ ?

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको छनौट, सिफारिस र नियुक्ति सम्बन्धी मन्त्रिस्तरीय  २०८३/०२/२९ मा स्वीकृत कार्यविधि अनुसार  नेपाल मेडिकल काउन्सिलका अध्यक्ष पदका लागि दर्तावाला चिकित्सकको रूपमा कम्तिमा बीस वर्षको अनुभव हासिल गरेको र चिकित्सा सम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त चिकित्सक हुनुपर्छ ।  यस्तै नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा १२ बमोजिम रजिस्ट्रार पदका लागि दर्तावाला चिकित्सकको रूपमा चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश बर्षको कार्य अनुभव भएको हुनुपर्ने उल्लेख छ।

मेडिकल काउन्सिल नियमावली २०२४ अनुसार रजिस्टारको काम कर्तव्य

रजिष्ट्रारको काम र कर्तव्य यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम, कर्तव्य र अधिकारको अतिरिक्त रजिष्ट्रारको देहाय बमोजिमको काम र कर्तव्य हुनेछ :-
(१) दर्ताको निमित्त पेश हुन आउने चिकित्सकहरूको दरखास्त कारवाईका निमित्त यस नियमावली अन्तर्गत गठन हुने दर्ता समितिमा पेश गर्ने
(२) चिकित्सकहरूको दर्ता सम्बन्धी रजिष्टर आफ्नो जिम्मामा राखे,
(३) नामावलीको सूचीमा कसैको नाम छुटेको पत्ता लागेमा वा कसैले सो कुराको सूचना पठाएमा आवश्यकता अनुसार संशोधन गर्ने,
(४) काउन्सिलको कोषाध्यक्षको रूपमा काम गर्ने,
(५) काउन्सिलका कर्मचारीहरूको नियुक्ति वा प्रमोशन र निजहरू माथि विभागीय सजायको लागि काउन्सिल छेउ सिफारिस गर्ने,
( ६) काउन्सिल प्रति उत्तरदायी भई काउन्सिलको आन्तरिक दैनिक प्रशासन सञ्चालन गर्ने, नेपाल मेडिकल काउन्सिलको वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गरी प्रत्येक वर्षको फागुन मसान्त भित्र काउन्सिलमा पेश गर्ने, काउन्सिलबाट स्वीकृत बजेट, योजना तथा कार्यक्रमको कार्यान्वयन गर्ने,  काउन्सिल र काउन्सिलमा नाम दर्ता भएका चिकित्सकहरू बीच सम्पर्क अधिकारीको रूपमा काम गर्ने, काउन्सिलबाट आदेश तथा निर्देशन दिए बमोजिमको अन्य कार्यहरू गर्ने गराउने।
(७) काउन्सिलसँग पूर्व परामर्श लिई नेपाल सरकारले तोकिदिएको अरु कुनै काम गर्ने।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!