अनुसन्धान
मुटुको शल्यक्रियामा ‘समय” को प्रभाव: बिहान ढिलो अपरेशन गर्दा जोखिम बढी रहने अध्ययनको खुलासा
काठमाडौँ- मुटुको शल्यक्रिया कुन समयमा सुरु गरिन्छ भन्ने कुराले बिरामीको जीवन रक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने एक अध्ययनले देखाएको छ। बेलायतको प्रतिष्ठित स्वास्थ्य जर्नल ‘एनेस्थेसिया’ मा प्रकाशित एक अनुसन्धान प्रतिवेदन अनुसार, बिहान ढिलो गरी सुरु गरिएका मुटुका शल्यक्रियाहरूमा मृत्युको जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ।
एसोसिएसन अफ एनेस्थेटिस्टको आधिकारिक जर्नल ‘एनेस्थेसिया’ मा प्रकाशित भएको यो अनुसन्धान लाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अध्ययनले सन् २००९ देखि २०१६ सम्म शल्यक्रिया गराएका २४ हजार ६८ जना बिरामीको तथ्यांकलाई सुक्ष्म विश्लेषण गरेको थियो।
समय खण्ड र जोखिमको अनुपात
अध्ययनमा शल्यक्रिया सुरु हुने समयलाई चार भागमा विभाजन गरिएको थियो। जस अनुसार बिहान चाँडो (०७:००–०९:५९) सुरु गरिएका शल्यक्रियाको तुलनामा बिहान ढिलो (१०:००–११:५९) सुरु गरिएका शल्यक्रियामा हृदय सम्बन्धी कारणले हुने मृत्युको जोखिम १८ प्रतिशतले बढी पाइएको छ।
यद्यपि, दिउँसो गरिएका शल्यक्रियाहरूमा भने यस्तो जोखिमको स्तर फरक देखिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार अन्य सूचकहरू जस्तै, अस्पताल बसाइको अवधि, गम्भीर हृदयघात, र समग्र मृत्युदरमा भने समयका कारणले खासै ठूलो अन्तर देखिएको छैन।
जैविक घडीको भूमिका
वैज्ञानिकहरूले यसको मुख्य कारण मानव शरीरको जैविक घडी अर्थात ‘सर्केडियन रिदम’ हुन सक्ने अनुमान गरेका छन । शरीरको आन्तरिक प्रणालीले दिनको निश्चित समयमा सूजन (inflammation) र मुटुको तन्तुहरूमा हुने क्षतिलाई फरक तरिकाले प्रतिक्रिया दिने गर्दछ।
अनुसन्धानकर्ताहरूले बिरामीको उमेर, लिङ्ग, रोगको गम्भीरता र शल्यक्रियाको अवधिलाई समेत समायोजन गरेर हेर्दा पनि बिहान ढिलो गरिने शल्यक्रियामा जोखिमको मात्रा उच्च नै भेटिएको बताएका छन।
निचोड र भविष्यको बाटो
अध्ययनको निष्कर्षमा भनिएको छ, ‘यो नतिजाले शल्यक्रियाको समय, अस्पतालको व्यवस्थापन र बिरामीको जैविक घडी बीचको सम्बन्धलाई थप अध्ययन गर्नुपर्ने आवश्यकता देखाउँछ।’ वार्षिक २५ हजार भन्दा बढी मुटुको शल्यक्रिया हुने बेलायत जस्तो मुलुकमा जोखिमको यो सामान्य देखिने अन्तरले पनि जनस्वास्थ्यमा ठूलो प्रभाव पार्न सक्छ।
विशेषज्ञहरूले भविष्यमा बिरामीको व्यक्तिगत अवस्था र जैविक घडीलाई ध्यानमा राखेर ‘व्यक्तिगत शल्यक्रिया तालिका’ निर्माण गर्नुपर्ने सुझाव दिएका छन्। यसले शल्यक्रिया पछिको जोखिमलाई न्यून गर्न र बिरामीको उपचार प्रक्रियालाई थप सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस