अनुसन्धान

सास फिंगर प्रिन्ट: अब श्वास पनि पहिचानको माध्यम बन्न सक्ने वैज्ञानिक निष्कर्ष


काठमाडौं — मानिसको श्वास लिने तरिका पनि औंठा छाप (फिंगरप्रिन्ट) वा डीएनए जत्तिकै व्यक्तिगत र अनौठो हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन्। इजरायलको वाइजम्यान इन्स्टिच्युट अफ साइन्सका वैज्ञानिक नोआम सोबेल नेतृत्वको टोलीले गरेको अध्ययनमा श्वासप्र श्वासको ढाँचाबाट ९६.८ प्रतिशत सटीकताका साथ व्यक्तिको पहिचान गर्न सकिने देखिएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार, श्वासप्र श्वासको विश्लेषणका लागि उनीहरूले पहिला नाकबाट आउने वायु प्रवाहलाई ध्यान पूर्वक २४ घण्टा सम्म ट्रयाक गर्ने उपकरण तयार पारे। त्यस पछि झण्डै १०० जना स्वस्थ युवा वयस्कलाई उक्त उपकरण लगाएर आफ्ना दैनिकीमा व्यस्त रहन अनुरोध गरियो। उपकरणले सहभागीहरूका नाकको प्वाल मुनि राखिएको सानो ट्युब मार्फत वायु प्रवाहको निरन्तर डेटा सङ्कलन गर्‍यो।

अध्ययनको निष्कर्ष ‘करेन्ट बायोलोजी’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार, मानिसको श्वास लिने ढाँचा न केवल व्यक्तिगत पहिचानको संकेत दिन्छ, तर त्यो व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य, तौल (बीएमआई), निद्रा जागरण चक्र, चिन्ता र डिप्रेशनको स्तर जस्ता पक्षहरू सँग समेत सम्बन्धित हुन्छ।

सोबेल भन्छन्, ‘मानिसले कसरी सास लिन्छ भन्ने कुरा दिमागले गन्ध प्रति कसरी प्रतिक्रिया जनाउँछ भन्ने आधारमा फर्किन्छ। जब प्रत्येक मस्तिष्क अलग हुन्छ भने सास लिने ढाँचा पनि भिन्न हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।’

यो अनुसन्धानले अब ‘श्वसन फिंगरप्रिन्ट’ लाई पहिचानका वैकल्पिक, नन-इनभेसिभ र वैज्ञानिक आधारमा प्रयोग गर्न सकिने संकेत दिएको छ। साथै, मानसिक स्वास्थ्यको मूल्याङ्कनका लागि पनि सास प्रश्वासको ढाँचा एक नयाँ झ्याल बन्ने सम्भावना देखिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!