राष्ट्रिय कोदो दिवस

कोदो: परम्परागत अन्नदेखि भविष्यको स्मार्ट खाना सम्म


नेपाल सरकारले २०८२ साल देखि साउन १६ गते लाई राष्ट्रिय कोदो दिवस को रूपमा मनाउने निर्णय गरेको छ। यस निर्णयले नेपालको कृषि, पोषण र सार्वजनिक स्वास्थ्य क्षेत्रलाई एकै साथ जोड्ने प्रयास गरेको देखिन्छ।

यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरू लाई शुभकामना दिँदै कोदोको पोषणीय महत्त्व, स्वास्थ्य लाभ र खाद्य सुरक्षामा यसको योगदान बारे सामाजिक सञ्जाल मार्फत प्रकाश पारेका छन् ।

उनको भनाइमा –’कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ। ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र यसमा हुने फाइबरले हृदय स्वास्थ्यमा सुधार ल्याउन कोदो उपयोगी हुन्छ। सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी अन्नलाई प्रवर्द्धन गर्न सरकारले साउन १६ लाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको छ। कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरू उपभोग गरौं!’

नेपाल जस्तो कृषि प्रधान मुलुकमा परम्परागत बालीहरूमा आधारित पोषणको परम्परा लामो समय देखि मौलाएको भए पनि पछिल्लो समय आधुनिक खाद्यान्न प्रणाली र उपभोग्य बानीले पुराना बालीहरू ओझेलमा परेका छन्। कोदो पनि त्यस्तै अन्न हो, जसलाई लामो समय सम्म गरिब को खाना भनेर हेपिएको थियो। तर, वैज्ञानिक तथ्यहरूले देखाउँछ कि कोदो चामल, मकै वा गहुँ भन्दा गुणस्तरीय पोषणको भरपूर स्रोत हो।

नेपालका विभिन्न भाषामा यो अन्न फरक नामले चिनिन्छ – मैथिली भाषामा मडूवा, नेवारीमा डूसी र अंग्रेजीमा मिलेट भनिने यसको वैज्ञानिक महत्त्व र पोषणीय मूल्याङ्कनले पछिल्लो समय भविष्यको स्मार्ट खाना को रूपमा कोदोलाई स्थापित गर्न थालेको छ।

पोषणले समृद्धि

कोदोलाई जब अन्य अन्नहरूसँग तुलना गरिन्छ, यसमा पाइने पोषक तत्त्वको मात्रा चकित पार्ने खालको हुन्छः

  • क्याल्सियम: चामलभन्दा ३५ गुणा, गहुँभन्दा ८.७५ गुणा बढी
  • आइरन: मकैभन्दा ३७ गुणा, चामल भन्दा २३ गुणा, गहुँभन्दा १.४ गुणा बढी
  • फाइबर: अत्यधिक मात्रामा
  • भिटामिनहरू: बी६, फोलिक एसिड, नियासिन, बीटा-क्यारोटिन
  • खनिजहरू: फलाम, म्याग्नेसियम, फस्फोरस, पोटासियम
  • अन्य यौगिकहरू: लेसितिन, ट्यानिन, पीनोफेनल्स, फाइटोस्टेरोल्स

यसले देखाउँछ कि कोदो कुनै पनि उमेर समूह र अवस्था (गर्भावस्था, बाल्यावस्था, वृद्धावस्था) का व्यक्तिका लागि उपयुक्त, सन्तुलित र सम्पूर्ण खाद्य वस्तु हो।

वैज्ञानिक आधारमा पुष्टि भएको लाभ

कोदोको स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव माथि धेरै अध्ययनहरू भइसकेका छन्। छिमेकी मुलुक भारतको हैदराबाद स्थित इन्डियन इन्स्टिच्यूट अफ मिलेट रिसर्च (आईआईएमआर) का अनुसन्धानहरू अनुसार कोदोको नियमित सेवनले निम्न लाभहरू प्रदान गर्छ ।

  • मधुमेह नियन्त्रण: कोदोको कम ग्लाइसेमिक इन्डेक्सले रगतमा चिनीको मात्रा स्थिर राख्छ ।
  • मुटु स्वास्थ्य: कोडोमा पाइने म्याग्नेसियम र पोटासियमले रक्तचाप घटाउने, कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ।
  • पाचन प्रणालीमा सुधार: कब्जियत, ग्यास, ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको जोखिम कम गर्छ।
  • क्यान्सरबाट सुरक्षा: स्तन, कोलोन र इसोफेजियल क्यान्सरबाट जोगाउने उल्लेखनीय सम्भावना।
  • शरीर शुद्धीकरण: एन्टिअक्सिडेन्ट सहितका फाइटोकेमिकल्सले विषाक्त पदार्थ हटाउन मद्दत गर्छन्।
  • मासपेशी र स्नायु सुदृढीकरण: लेसितिन र प्रोटिनको संयोजनले स्नायु प्रणालीलाई बलियो बनाउँछ।

खाद्य संस्कृतिमा कोदोको पुनर्स्थापना

कोदोको उपयोग परम्परागत खाना ढिँडो, रोटी वा लिटोमा मात्र सीमित छैन। आधुनिक भान्सामा यसलाई मल्टिग्रेन पिठोमा मिसाएर, बेकिङमा प्रयोग गरेर, सातु बनाईकन वा स्वस्थकर स्न्याकको रूपमा प्रयोग गरेर पनि लोकप्रिय बनाइएको छ।

स्तनपान गराउने आमाका लागि दूध उत्पादन बढाउने गुण पनि कोदोलाई अझ उपयोगी बनाउँछ।आज पनि अफ्रिकी मुलुकहरूमा कोदो निकै उच्च रूपमा सेवन गरिन्छ । सातु, खिचडी, पेय पदार्थ वा ब्रेडको रूपमा।

नेपालमा पनि कोदोबाट बनेका परिकारहरूको व्यावसायिकिकरण र प्रवर्द्धनले ग्रामीण किसानको आयमा वृद्धि सँगै आम नेपालीको स्वास्थ्य सुधार गर्न सक्नेछ।

सामाजिक र आर्थिक महत्त्व

नेपालको भूगोलमा कोदो खेती उच्च हिमाली क्षेत्र देखि मधेस सम्म सजिलै गर्न सकिन्छ। सिँचाइ, रासायनिक मल वा अत्यधिक देखभाल नचाहिने भएकाले कोदो विपन्न वर्गका लागि सदियौँ देखि जीवनको आधार बनेको छ। सस्तो, सजिलो र टिकाउ अन्नको रूपमा यसको प्रचुर सम्भावना अझै बाँकी छ।

अझ महत्वपूर्ण कुरा के हो भने, कोदोको उत्पादन र उपभोग बढाउन सकेमा नेपालमा कुपोषण, मधुमेह, हृदयघात लगायतका रोगहरूको जोखिम घटाउन सकिन्छ। यसले दीर्घकालीन स्वास्थ्य सुधार सँगै खाद्य सुरक्षाको ग्यारेन्टी पनि दिन सक्छ।

अन्तमा, राष्ट्रिय कोदो दिवस केवल एउटा सम्झना मात्र होइन, यो एक स्वस्थ समाज निर्माणको अभियान हो। पोषण, परम्परा र भविष्य बीच सेतु निर्माण गर्ने अन्नका रूपमा कोदोलाई अघि बढाउन सबै पक्षले हातेमालो गर्न आवश्यक छ।

हामीले बिर्सनु हुँदैन, हाम्रो विगतको परम्परा, आजको आवश्यकता र भविष्यको विकल्प, कोदोमा समेटिएको छ। यस कोदो दिवस, साँचो अर्थमा पोषित र स्वावलम्बी नेपाल निर्माणको शपथ गरौं। कोदो खाउँ, स्वस्थ रहौं! (विगत ३ दशक भन्दा बढी समय देखि पत्रकारिता गरिरहेका अतुल मिश्र स्वास्थ्य र विज्ञान पत्रकारितामा विशेष दखल राख्छन्। उनी नेपालहेल्थप्रेस डटकम का प्रधान सम्पादक समेत हुन्।)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!