अनुसंधान

गर्भावस्थामा एनीमिया भएमा शिशुमा मुटु रोगको जोखिम ४७% ले बढ्ने


यूनाइटेड किंगडम (यूके) मा महिलाहरूमा गरिएको एक अध्ययनका अनुसार गर्भावस्थामा एनीमिया (रक्त अल्पता) भएमा जन्मिने शिशुमा जन्मजात मुटु रोग (कन्जेनटाइनल हर्ट डिजीज) विकसित हुने जोखिम ४७ प्रतिशतले बढ्न सक्छ। यो अध्ययन ब्रिटिश जर्नल अफ आब्सटेट्रिक्स एन्ड गायनेकोलोजीमा   प्रकाशित गरिएको हो।

एनीमियाले शरीरमा रातो रक्तकोषको कमी गराउँछ, जसले गर्दा अक्सिजनको प्रवाहमा अवरोध हुन्छ। अध्ययनहरूले देखाएका छन् कि जन्मजात मुटु रोग भएका व्यक्तिहरूमा एनीमिया वा फलामको कमी सामान्य पाइन्छ, जसले मुटुको कार्य प्रणालीमा असर पार्छ।

अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता डंकन बी. स्पैरोका अनुसार, ‘हामीलाई पहिले देखि नै थाहा छ कि विभिन्न कारणहरूले जन्मजात मुटु रोगको जोखिम बढाउन सक्छ, तर यो अध्ययनले एनीमिया र मुटु रोग बीचको सम्बन्ध बुझ्न थप मद्दत पुर्‍याउँछ। प्रारम्भिक मातृ एनीमिया कति घातक हुन सक्छ भन्ने कुरा जान्नु विश्वव्यापी रूपमा महत्त्वपूर्ण बन्न सक्छ।’

अनुसन्धानकर्ताहरूले जनवरी १९९८ देखि अक्टोबर २०२० सम्म गर्भवती भएका महिलाहरूका स्वास्थ्य अभिलेखहरूको विश्लेषण गरेका थिए। अध्ययन अनुसार २,७७६ महिलाका शिशुहरूमा जन्मको बेला मुटु रोग भेटिएको थियो भने १३,८८० महिलाका शिशुहरूमा त्यस्तो समस्या थिएन।

यदि भ्रूणको विकास क्रममा मुटुको वृद्धि अवरुद्ध हुन्छ भने शिशुमा जन्मजात मुटु रोगको सम्भावना बढ्न सक्छ। युकेको नेशनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सिलेन्सका निर्देशिका अनुसार गर्भावस्थाको पहिलो १०० दिन भित्र महिलाहरूको हीमोग्लोबिन स्तर जाँचिन्छ। जन्मजात मुटु रोग भएका १२० भन्दा बढी शिशुहरू र सामान्य मुटु भएका ३९० शिशुहरूमा एनीमिया देखिएको थियो।

युकेमा गरिएको पहिलो अध्ययन

अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् कि यो युकेको पहिलो यस्तो अध्ययन हो जसले प्रारम्भिक गर्भावस्थामा मातृ एनीमिया र सन्तानमा सीएचडी विकासको बीचको सम्बन्धलाई देखाएको छ। यो सम्बन्धले सन्तानमा ४७ प्रतिशत बढी सीएचडी विकास हुने जोखिम देखाएको हो ।

यस अघि सन् २०२१ मा नेचर कम्युनिकेशन्स जर्नलमा प्रकाशित एक अनुसन्धानमा गर्भवती मुसामा एनीमियाले सन्तानमा मुटु दोष उत्पन्न गर्ने जोखिम देखिएको थियो, जुन पहिले अज्ञात थियो।

फलामको कमी एनीमियाको मुख्य कारण

अनुसन्धान टोलीले भन्यो कि गर्भावस्थाको मध्यम र अन्तिम चरणमा एनीमियाले भ्रूणको विकासमा पार्ने प्रभाव बारे राम्रो सँग बुझिएको छ, जसमा जन्मको समयमा कम तौल जस्ता समस्याहरू सामेल छन्।

तर उनीहरूले गर्भावस्थाको प्रारम्भिक चरणमा एनीमिया र जन्मजात मुटु रोग बीचको सम्बन्धबारे प्रमाणहरू अहिले सम्म मिश्रित र कमजोर रहेको उल्लेख गरे।

यस अध्ययनमा प्रारम्भिक गर्भावस्थाको एनीमिया र सन्तानमा मुटु दोष विकास हुने जोखिम बीचको सम्बन्धलाई गहिरो विश्लेषण गरिएको हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!