अनुसन्धान

अब आँखा परीक्षणले स्ट्रोकको जोखिमको सही भविष्यवाणी


साधारण आँखा परीक्षणले परीक्षणले अब स्ट्रोक जोखिमको सही भविष्यवाणी गर्न मद्दत गर्न सक्छ । अनुसन्धान कर्ताहरूले ‘रेटिनल भास्कुलर फिंगर प्रिन्ट’, नामक विधि विकास गरेका छन् जसले आँखाको रेटिनामा रहेको रक्तनलीहरुको स्वास्थ्य लाई आधार बनाएर स्ट्रोक को जोखिम परम्परागत तरिका जस्तै प्रभावकारी तर नन इनभेसिभ तरिकाले भविष्यवाणी गर्न सक्छ । रेटिना, दृष्टि पटल भनेको आँखाका गेडीको सबै भन्दा भित्री वा तेस्रो पत्र जसमा नै दृष्ट वस्तु को प्रतिविम्ब बन्दछ ।

अष्ट्रेलियाको मेलबर्नमा रहेको सेन्टर फर आइ रिसर्च अष्ट्रेलिया (सिइआरए) द्वारा गरिएको एक अन्तर्राष्ट्रिय अनुसन्धानमा यो कुरा खुलासा भएको छ । यो अनुसन्धान जनवरी १३ तारिखको बिएमजे जर्नल ‘हर्ट’ मा प्रकाशित भएको छ ।

अनुसन्धान कर्ताहरूले आँखाको पछाडिको रक्त नलीहरूको ‘फिंगर प्रिन्ट’ पहिचान गरेका छन् जसले कुनै इनभेसिभ वा जटिल प्रक्रियाहरू बिना नै परम्परागत विधिहरू जस्तै स्ट्रोक जोखिमलाई सही रूपमा पत्ता लगाउन सक्छ ।  प्राथमिक स्वास्थ्य सेवा र न्यून स्रोत भएका क्षेत्रहरूमा यो विधि प्रभावकारी हुन सक्छ ।

अनुसन्धानले पत्ता लगायो कि यो ‘फिंगर प्रिन्ट’ रक्त नलीहरू को स्वास्थ्य लाई प्रतिबिम्बित गर्ने ११८ सूचकहरूमा आधारित छ । यी सूचकहरूको विश्लेषण फन्डस फोटोग्राफी (नियमित आँखा परीक्षणमा प्रयोग हुने उपकरण) द्वारा गर्न सकिन्छ।

४५,१६१ जनामा परीक्षण 

अनुसन्धान कर्ताहरूले रेटिना आधारित माइक्रोभास्कुलर हेल्थ एसेसमेन्ट सिस्टम (आरएचएमएएस) नामक मेसिन लर्निङ उपकरण प्रयोग गरेर ५५ वर्ष औसत उमेरका ४५,१६१ व्यक्तिहरूको आँखाको तस्विरहरूको अध्ययन गरे । १२.५ वर्षको औसत अनुगमन अवधिमा ७४९ सहभागीहरूलाई पहिलो पटक स्ट्रोक भयो।

स्ट्रोक सँग २९ सङ्केत को सम्बन्ध 

अध्ययनमा ११८ सङ्केत मध्ये, २९ वटा लाई पहिलो पटक स्ट्रोकको जोखिम सँग सम्बन्धित पाइयो । यी मध्ये १७ सूचकहरू रक्त नलीहरूको घनत्व (भास्कुलर डेन्सिटी) सँग सम्बन्धित थिए ।

अनुसन्धानले आँखा र मस्तिष्कमा रक्त नलीहरूको कम घनत्वले स्ट्रोकको जोखिम बढाउन सक्ने देखाएको छ ।

सङ्केतहरूमा परिवर्तनको प्रभाव 

  • रक्त नलीहरूको घनत्व घट्नुः स्ट्रोकको जोखिम १०–१९ प्रतिशत बढाउन सक्छ ।
  • रक्त नलीहरूको घुमाउरो संरचनामा कमीः स्ट्रोकको जोखिम १०.५–१९.५ प्रतिशत सम्म बढ्न सक्छ।

सजिलो र किफायती विधि 

अनुसन्धान कर्ताहरूको अनुसार उमेर र लिङ्ग जस्ता सामान्य तथ्याङ्क र फन्डस फोटोग्राफीबाट प्राप्त संकेतहरु प्रयोग गरेर, यो मोडेलले प्राथमिक स्वास्थ्य सेवा र संसाधन विहीन क्षेत्रहरूमा स्ट्रोक को जोखिम मूल्याङ्कन गर्ने व्यावहारिक र सरल तरिका प्रदान गर्दछ ।

स्ट्रोकको विश्वव्यापी चुनौती 

स्ट्रोकले प्रत्येक वर्ष विश्व भर १० करोड भन्दा बढी मानिसहरूलाई असर गर्छ । यसले करिब ६७ लाखको मृत्यु हुन्छ । यो अनुसन्धानले स्ट्रोकको जोखिममा रहेका व्यक्तिहरूलाई प्रारम्भिक रूपमा पहिचान गर्न सम्भव बनाउनेछ, जसले गर्दा स्ट्रोकबाट हुने अपाङ्गता र मृत्यु दर घट्नेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!