भारतमा डेंगु विरुद्धको पहिलो खोप ‘क्यूडेङ्गा’ लाई स्वीकृति, अस्पताल भर्ना हुनु पर्ने जोखिम ९०% सम्म घट्ने
नयाँ दिल्ली (ब्युरो)- भारतमा डेंगु विरुद्धको पहिलो खोप ‘क्यूडेङ्गा’ लाई स्वीकृति मिलेको छ। जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको र ४ देखि ६० वर्ष उमेर समूहका लागि प्रयोग गर्न सकिने यो खोपले डेंगुको जोखिमलाई ९० प्रतिशत सम्म घटाउने क्लिनिकल परीक्षणले देखाएको छ।
भारतको औषधि नियामक निकाय ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले यो खोपको प्रयोगलाई अनुमति दिएको हो।
भारतमा यसको उत्पादन बायोलोजिकल ई कम्पनीको सहकार्यमा हुने र वार्षिक करिब ५ करोड डोज उत्पादन गर्ने योजना रहेको जनाइएको छ।
क्यूडेङ्गा डेंगु भाइरसका चारै सेरोटाइप विरुद्ध प्रतिरक्षा विकास गर्न सक्षम खोप हो। यसलाई लगाउनु अघि व्यक्तिलाई पहिले डेंगु संक्रमण भएको थियो वा थिएन भन्ने पूर्व परीक्षण आवश्यक पर्दैन। पहिले डेंगु भइसकेका वा नभएका दुवै व्यक्तिले यो खोप लगाउन सक्नेछन।
यो खोप ०.५ मिलिलिटरका दुई डोज छालामुनि (सबक्युटेनियस) दिइनेछ, जस बीच तीन महिनाको अन्तर रहनेछ।
क्लिनिकल परीक्षणका अनुसार क्यूडेङ्गा डेंगु संक्रमण विरुद्ध ८०.२ प्रतिशत प्रभावकारी रहेको छ। साथै, डेंगुका कारण अस्पताल भर्ना हुनु पर्ने जोखिमलाई ८४ देखि ९० प्रतिशत सम्म कम गर्न सक्ने देखिएको छ।
हाल भारतमा यसको मूल्य निर्धारण गरिएको छैन। अन्तर्राष्ट्रिय बजारमा भने यसको एक डोजको मूल्य ३,३०० देखि ६,५०० भारतीय रुपैयाँ सम्म रहेको बताइएको छ।
यो खोपलाई ब्राजिल, अर्जेन्टिना, बेलायत, जर्मनी, इन्डोनेसिया, थाइल्यान्ड लगायत ४० भन्दा बढी देश ले स्वीकृति दिइसकेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि क्यूडेङ्गालाई डेंगुको उच्च जोखिम भएका क्षेत्रमा प्रयोग गर्न सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस