नेपालको मोडल अब अफ्रिकामा: घानामा पुनर्निर्माण शल्यचिकित्सा सेवा विस्तार गर्दै डा. सुनील साह
काठमाडौं- बेलायतमा कार्यरत नेपाली मूलका कन्सल्टेन्ट ओरल एन्ड म्याक्सिलोफेसियल सर्जन डा. सुनील साहको नेतृत्वमा घानामा टाउको तथा घाँटी (हेड एन्ड नेक) पुनर्निर्माण शल्यचिकित्सा सेवा विकासका लागि अन्तर्राष्ट्रिय पहल सुरु भएको छ। नेपालमा सफल रूपमा कार्यान्वयन गरिएको शल्यचिकित्सा शिक्षा र सेवा विकासको मोडललाई अब घानामा विस्तार गर्ने उद्देश्यका साथ यो अभियान अघि बढाइएको हो।
मिड योर्कशायर टिचिङ एनएचएस फाउन्डेसन ट्रस्टमा कार्यरत तथा ब्रिटिस एसोसिएसन अफ ओरल एन्ड म्याक्सिलोफेसियल सर्जन्स (बीएओएमएस) अन्तर्गतको परोपकारी संस्था नर्मन रो इन्टरनेसनल एजुकेसन फाउन्डेसनका अध्यक्ष समेत रहेका साहले जुलाई ७ देखि ९ सम्म घानामा पहिलो पटक आयोजित हेड एन्ड नेक फ्रि फ्ल्याप रेजिङ क्याडाभरिक सिमुलेसन कोर्सको नेतृत्व गरेका हुन ।
युनिभर्सिटी अफ घाना मेडिकल स्कुलसँगको सहकार्यमा सञ्चालन गरिएको तीन दिने तालिममा वरिष्ठ प्रशिक्षार्थी देखि कन्सल्टेन्ट सर्जन सम्म गरी २० जनाको सहभागिता रहेको थियो। यो कार्यक्रम न्यून तथा मध्यम आय भएका मुलुकहरूमा दिगो शल्यचिकित्सा क्षमता विकास गर्ने बीएओएमएसको दीर्घकालीन योजना अन्तर्गत सञ्चालन गरिएको हो।
तालिम पछि गरिएको मूल्याङ्कनले घानामा टाउको तथा घाँटीको क्यान्सर तथा अनुहारका गम्भीर विकृति वा चोट पटक भएका बिरामीका लागि आवश्यक पर्ने जटिल माइक्रोभास्कुलर पुनर्निर्माण शल्यचिकित्सा सेवामा ठूलो अभाव रहेको देखाएको छ। प्रतिवेदन अनुसार घानामा उन्नत पुनर्निर्माण शल्यचिकित्सा सेवाको आवश्यकता अत्यधिक रहेको छ।
कार्यक्रमले उल्लेखनीय शैक्षिक उपलब्धि पनि हासिल गरेको छ। क्याडाभरिक सिमुलेसनमा आधारित व्यावहारिक तालिम पछि सहभागी सर्जनहरूको फ्रि फ्ल्याप शल्यचिकित्सा गर्ने आत्मविश्वास ११७ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ, जसले सिमुलेसन तालिमको प्रभावकारिता पुष्टि गरेको छ।
डा. साहले भने, ‘यो कोर्स केवल एउटा शल्यक्रिया सिकाउने कार्यक्रम मात्र होइन। यसको उद्देश्य घानाका नागरिकका लागि दिगो पुनर्निर्माण शल्यचिकित्सा सेवा स्थापना गर्नु हो। हाम्रो लक्ष्य स्थानीय चिकित्सकहरूलाई दक्ष बनाउनु हो, ताकि बिरामीहरूले आफ्नै देशमा विश्वस्तरीय उपचार प्राप्त गर्न सकून।’
नेपालको अनुभव अब घानामा
नेपालमा जन्मिएका डा. साह लामो समय देखि अन्तर्राष्ट्रिय स्तरमा जटिल पुनर्निर्माण शल्यचिकित्सामा पहुँच विस्तारका लागि सक्रिय छन। बेलायतको एनएचएसमा कार्यरत रहँदै उनले नेपाल स्थित क्रानियोफेसियल सेन्टर च्यारिटी हस्पिटलको नेतृत्व पनि गरिरहेका छन, जहाँ उनले दिगो शल्यचिकित्सा शिक्षा र सेवा विकासमा महत्वपूर्ण योगदान दिएका छन। नेपालमा सफल भएको यही मोडललाई अहिले ३ करोड ५० लाख जनसंख्या रहेको घानामा लागू गर्ने अभियान उनले अघि बढाएका हुन।
स्वास्थ्य सेवा दिगो बनाउन एक पटकको भ्रमण भन्दा दीर्घकालीन साझेदारी आवश्यक हुने उल्लेख गर्दै डा. साहले घानामा नियमित रूपमा शैक्षिक भ्रमण गर्ने प्रतिबद्धता जनाएका छन। उनको अर्को भ्रमण सन २०२७ को जनवरीमा तय भएको छ, जहाँ उनले एडभान्स माइक्रोभास्कुलर रिकन्स्ट्रक्सन कोर्स सञ्चालन गरी स्थानीय सर्जनहरूको क्षमता थप अभिवृद्धि गर्नेछन । दीर्घकालीन रूपमा घानालाई पश्चिम अफ्रिका तथा उप सहारा अफ्रिकाका शल्यचिकित्सक हरूको क्षेत्रीय उत्कृष्टता केन्द्र (सेन्टर अफ एक्सिलेन्स) बनाउने लक्ष्य राखिएको छ।
डा. साहले बीएओएमएस काउन्सिल, नर्मन रो इन्टरनेसनल एजुकेसन फाउन्डेसन तथा युनिभर्सिटी अफ घाना मेडिकल स्कुल प्रति आभार व्यक्त गर्दै उनीहरूको सहयोग र प्रतिबद्धताले यो पहिलो कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
उनले भने, ‘हामी सबै मिलेर घाना मात्र होइन, समग्र क्षेत्रका बिरामीलाई लाभ पुग्ने दिगो टाउको तथा घाँटी पुनर्निर्माण शल्यचिकित्सा सेवाको आधार निर्माण गरिरहेका छौँ।’
यो पहिलो कोर्सको सफलताले अन्तर्राष्ट्रिय शल्यचिकित्सा शिक्षामा महत्वपूर्ण कोसेढुङ्गा थपेको विज्ञप्तिमा उल्लेख छ। बेलायत र घानाका सर्जन बीचको सहकार्य, निरन्तर तालिम र मार्गदर्शन मार्फत जटिल पुनर्निर्माण शल्यचिकित्सा सेवामा रहेको असमानता घटाउँदै घाना र समग्र क्षेत्रमा दीर्घकालीन रूपमा उच्चस्तरीय सेवा विकास गर्ने लक्ष्य कार्यक्रमले लिएको छ।


प्रतिक्रिया दिनुहोस