राहदानी विभाग अगाडि जलेका गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि दिल्लीको एम्स लगिँदै


काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। वीर अस्पतालमा उपचाररत नेपालीको अवस्था जटिल भएपछि प्रधानमन्त्री बालेन्द्र शाहको पहलमा उनलाई थप विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) लैजाने तयारी अन्तिम चरणमा पुगेको छ।

घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गृहमन्त्री सुदन गुरुङ तथा प्रधानमन्त्री सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुगेका थिए। उनीहरूले उपचारमा संलग्न चिकित्सकसँग बिरामीको पछिल्लो अवस्था, उपचारको प्रगति तथा आवश्यक थप व्यवस्थाबारे छलफल गरेका थिए।

चिकित्सकको परामर्श र बिरामीको गम्भीर अवस्थालाई ध्यानमा राख्दै उनलाई तत्काल भारत पठाउन आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको पहलमा गणेश नेपालीलाई भारतमा उपचार गराउने प्रक्रिया अघि बढाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयले आवश्यक समन्वय तथा व्यवस्थापनको काम गरिरहेको जनाइएको छ।

उक्त घटनाको कारण बारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ। साथै प्रभावित नागरिकको उपचार, सुरक्षा र उद्धारलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!