भविष्यका डाक्टर नै चरम मानसिक संकटमा: मेडिकल विद्यार्थीमा डिप्रेसनको लक्षण ९४ प्रतिशत सम्म


काठमाडौँ -भविष्यमा अरूको ज्यान बचाउने जिम्मेवारी बोक्ने मेडिकल विद्यार्थीहरू आफैँ चरम मानसिक संकटमा रहेको पाइएको छ। दक्षिण एसियाली मुलुक पाकिस्तानका करिब २३ हजार मेडिकल विद्यार्थी माझ गरिएको एक वृहत् अन्तर्राष्ट्रिय अध्ययनले उनीहरूमा डिप्रेसन (उदासी रोग) को लक्षण चिन्ताजनक र बढ्दो क्रममा रहेको देखाएको हो।

चिकित्सा क्षेत्रको प्रतिष्ठित ब्रिटिश मेडिकल जर्नल (बिएमजे ओपेन) मा प्रकाशित यो अध्ययनले नेपाल, भारत लगायत उस्तै शैक्षिक परिवेश भएका देशका मेडिकल कलेजहरूको आन्तरिक वातावरण र विद्यार्थीको मानसिक स्वास्थ्य माथि गम्भीर प्रश्न खडा गरिदिएको छ।

बिएमजे ओपेन मा प्रकाशित यो अध्ययनलाई पढ्न 👉 यहाँ क्लिक गर्नुहोस । यो प्रकाशित प्रणालीगत समीक्षा तथा मेटा विश्लेषणले मेडिकल शिक्षामा अध्ययनरत विद्यार्थीहरू गम्भीर मानसिक दबाबमा रहेको औँल्याएको हो।

सन २०२५ को सेप्टेम्बर सम्म प्रकाशित अध्ययनहरूको समीक्षा गरिएको उक्त अनुसन्धानमा पाकिस्तानका विभिन्न मेडिकल कलेजका करिब २३ हजार विद्यार्थी समेटिएका ७१ वटा अध्ययनबाट प्राप्त ७२ वटा प्रचलन अनुमानको विश्लेषण गरिएको थियो।

अध्ययन अनुसार मेडिकल विद्यार्थीहरूमा डिप्रेसनका लक्षण ९ प्रतिशत देखि ९४ प्रतिशत सम्म फेला परेका छन। अध्ययनहरू बीच प्रयोग भएका विधि, नमुना र मूल्याङ्कन उपकरणमा ठूलो भिन्नता रहेकाले एउटै साझा दर निर्धारण गर्न कठिन भए पनि समग्रमा मानसिक स्वास्थ्य समस्याको भार निकै उच्च रहेको निष्कर्ष निकालिएको छ।

अनुसन्धानकर्ताहरूले समय सँगै डिप्रेसनका लक्षण बढ्दै गएको तथ्य पनि औँल्याएका छन। पछिल्ला वर्षहरूमा प्रकाशित अध्ययनहरूले पुराना अनुसन्धानको तुलनामा बढी विद्यार्थीमा डिप्रेसनका लक्षण देखाएको पाइएको छ, जसले समस्या क्रमशः गम्भीर बन्दै गएको संकेत गर्छ।

भौगोलिक रूपमा हेर्दा सिन्ध प्रदेशका मेडिकल विद्यार्थीहरूमा डिप्रेसनको प्रचलन पन्जाब र अन्य क्षेत्रको तुलनामा केही बढी देखिए पनि यो अन्तर सांख्यिकीय रूपमा महत्वपूर्ण नभएको अध्ययनले जनाएको छ। खैबर पख्तुनख्वा, इस्लामाबाद र कश्मीरका अध्ययनहरूमा पनि उच्च तथा परिवर्तनशील दर देखिएको थियो।

अध्ययनमा पेसेन्ट हेल्थ क्वेस्चनेयर–९ (पीएचक्यू–९), डिप्रेसन एन्जाइटी स्ट्रेस स्केल–२१ (ड्यास–२१), बेक डिप्रेसन इन्भेन्टरी र अन्य मान्यता प्राप्त मनोवैज्ञानिक परीक्षण विधिहरू प्रयोग गरिएको थियो। ती मध्ये पीएचक्यू–९ र ड्यास–२१ प्रयोग गरिएका अध्ययनहरूमा डिप्रेसनको प्रचलन तुलनात्मक रूपमा बढी पाइएको छ।

अनुसन्धान प्रतिवेदनमा मेडिकल विद्यार्थीहरूमा मानसिक स्वास्थ्य समस्या बढ्नुका प्रमुख कारणका रूपमा अत्यधिक शैक्षिक दबाब, लामो अध्ययन तथा क्लिनिकल अभ्यास, बिरामीहरूको पीडा र मृत्यु सँगको प्रत्यक्ष सम्पर्क, आर्थिक कठिनाइ, मानसिक स्वास्थ्य सेवाको सीमित उपलब्धता तथा मानसिक रोग प्रतिको सामाजिक कलंकलाई उल्लेख गरिएको छ।

डिप्रेसनलाई निरन्तर उदासी, रुचि वा आनन्दको कमी, थकान, निद्रामा समस्या र एकाग्रतामा ह्रास ल्याउने मानसिक स्वास्थ्य समस्या मानिन्छ। यसले शैक्षिक उपलब्धि, निर्णय क्षमता र जीवनको समग्र गुणस्तरमा प्रतिकूल असर पार्न सक्छ।

अनुसन्धानकर्ताहरूले अध्ययनहरू बीच रहेको उच्च भिन्नता, विभिन्न मूल्याङ्कन उपकरण र फरक मापदण्डका कारण नतिजाको व्याख्या सावधानीपूर्वक गर्नुपर्ने बताएका छन। यद्यपि, मेडिकल विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई तत्काल प्राथमिकतामा राख्नु पर्ने सन्देश भने स्पष्ट रहेको उनीहरूको भनाइ छ।

अध्ययनले मेडिकल कलेज तथा विश्वविद्यालयहरूमा नियमित मानसिक स्वास्थ्य परीक्षण, सहज परामर्श सेवा, सहपाठी आधारित सहयोग प्रणाली तथा अत्यधिक शैक्षिक बोझ कम गर्ने गरी पाठ्यक्रम र तालिम प्रणालीमा सुधार गर्न सुझाव दिएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार भविष्यका चिकित्सकहरूको मानसिक स्वास्थ्य संरक्षण नगरे यसले स्वास्थ्य सेवा प्रणालीको गुणस्तरमा समेत दीर्घकालीन असर पार्न सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!