अतिरिक्त सचिव डा. सङ्गीता मिश्रा स्वास्थ्य मन्त्रालयको नियमित जिम्मेवारी मा फर्किइन
काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्रा विशेष अदालतबाट सफाइ पाए लगत्तै आफ्नो नियमित जिम्मेवारीमा फर्किएकी छन। स्वास्थ्य सेवा विभागको ३डी म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा लागेको भ्रष्टाचार मुद्दामा सफाइ पाए पछि उनी सोमबार मन्त्रालय हाजिर भएकी हुन। त्यसपछि पुन मङ्गलबार उनले मन्त्रालयमा हाजिर गरेकी छिन।अदालतले डा. मिश्रा सहित ८ जनालाई निर्दोष ठहर गरे पनि विभागका ५ कर्मचारी र आपूर्तिकर्ता कम्पनीका सञ्चालकलाई भने दोषी प्रमाणित गरेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार डा. मिश्रा नियमित कार्यसम्पादन का लागि मन्त्रालय फर्किएकी हुन। ‘उहाँले सोमबार नै मन्त्रालयमा हाजिर गरिसक्नु भएको छ’, डा. अधिकारीले नेपालहेल्थप्रेस लाई भने।
विशेष अदालतले एक साता अघि स्वास्थ्य सेवा विभागका लागि गरिएको ३डी म्यामोग्राफी मेसिन खरिद प्रक्रिया सम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन महानिर्देशक समेत रहेकी डा. मिश्रालाई आरोपबाट सफाइ दिएको थियो।
अदालत ले डा. मिश्रा सहित डा. विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद देवकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकाल गरी आठ जनालाई आरोपबाट सफाइ दिएको हो।
उक्त मुद्दामा अदालतले विभागका पाँच कर्मचारी र आपूर्तिकर्ता कम्पनीका सञ्चालकलाई भने दोषी ठहर गरेको छ। अदालतले श्रवणकुमार थापा, सुरेन्द्रप्रसाद चौरसिया, आशिष चौहान, पद्मा मिश्र र सञ्जयकुमार साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दोषी ठहर गरेको छ। यस्तै आपूर्तिकर्ता कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिका सञ्चालक सुन्दर भुषाललाई मतियारको रूपमा दोषी ठहर गरिएको छ।
अदालतले खरिद प्रक्रियामा सम्झौता अनुसार ढिलो आपूर्ति हुँदा लाग्नुपर्ने क्षतिपूर्ति नलगाई आपूर्तिकर्तालाई लाभ पुर्याइएको तथा प्रक्रिया विपरीत भुक्तानी गरिएको ठहर गरेको थियो।

प्रतिक्रिया दिनुहोस