बुन्डुबुग्यो इबोलाको खोप छैन: अफ्रिकामा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन विज्ञहरूको आग्रह
काठमाडौँ -मध्य अफ्रिकामा फैलिरहेको घातक ‘बुन्डुबुग्यो इबोला’ प्रजातिका लागि हालसम्म कुनै खोप उपलब्ध नभएकाले संक्रमणबाट बच्नु नै एक मात्र विकल्प भएको विज्ञहरूले चेतावनी दिएका छन। गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित वेबिनारमा स्वास्थ्य विज्ञहरूले हावाबाट नफैलिने यो भाइरसको जोखिम न्यूनीकरणका लागि शारीरिक तरल पदार्थको सम्पर्कबाट टाढै रहन र उच्च सतर्कता अपनाउन अफ्रिकामा रहेका नेपाली प्रवासीहरूलाई आग्रह गरेका छन।
वेबिनारमा स्वास्थ्य विज्ञ डा. सञ्जीव सापकोटाले इबोला संक्रमित व्यक्तिको शारीरिक तरल पदार्थ तथा स्राव, जस्तै रगत, र्याल र म्यूकससँग प्रत्यक्ष सम्पर्क हुँदा संक्रमण सर्न सक्ने बताए। उनले जोखिम न्यूनीकरणका लागि शंकास्पद संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क नगर्न, वस्तु छोए पछि साबुन पानीले हात धुन, हात नधोई मुख वा नाक नछुन तथा खानेकुरा राम्रोसँग सफा र पकाएर मात्र सेवन गर्न सुझाव दिए। जाइरे इबोला विरुद्ध प्रयोग गरिने ‘इर्भिवो’ जस्ता खोपहरू बजारमा उपलब्ध भए पनि तिनले बुन्डिबुग्यो प्रजाति विरुद्ध काम गर्दैनन।
उनले संक्रमित व्यक्तिसँग सम्पर्क भएको आशंका र ज्वरो देखिएमा तुरुन्त आफैंलाई अलग राख्ने, ज्वरोको निगरानी गर्ने र स्वास्थ्यकर्मी सँग सम्पर्क गर्नुपर्ने बताए।
अर्का वक्ता डा. सागर पौडेलले स्वास्थ्य सम्बन्धी व्यवहारलाई संक्रमण नियन्त्रणको महत्वपूर्ण पक्ष भन्दै कुनै पनि शंका लागेमा ढिलाइ नगरी चिकित्सकीय परामर्श लिन आग्रह गरे। उनले इबोला भाइरस हावा मार्फत नफैलिने स्पष्ट पार्दै अनावश्यक त्रास नफैलाउन आग्रह गरे।
वेबिनारमा डेमोक्रेटिक रिपब्लिक अफ कंगो, युगान्डा र दक्षिण अफ्रिकाबाट सहभागी नेपाली प्रवासीहरूले विभिन्न प्रश्न राखेका थिए। कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय स्वास्थ्य समितिले प्रवासी, आप्रवासी तथा शरणार्थी स्वास्थ्य संरक्षण (पिएचओएमआइआर) सँगको सहकार्यमा आयोजना गरेको हो। कार्यक्रमको सञ्चालन दक्षिण अफ्रिका स्थित ईएनटी सर्जन तथा समितिकी सहअध्यक्ष डा. सरिता भट्टाराईले गरेकी थिइन। आयोजकले आगामी दिनमा पनि प्रवासी स्वास्थ्य सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस