अनुसन्धान

बन्द कोठामा रुघा खोकी, फ्लु बिरामीसँगै बस्दा पनि किन सरेन संक्रमण? अमेरिकी अनुसन्धानको रोचक निष्कर्ष


काठमाडौँ – फ्लु (इन्फ्लुएन्जा) जसलाई हामी बोलचालको भाषामा रुघाखोकी भन्छौं, यसको नयाँ भेरियन्ट ‘सबक्लेड के’ तीव्र रूपमा फैलिरहेका बेला अमेरिकामा गरिएको एउटा अनौठो प्रयोगले संक्रमण रोकथाम बारे नयाँ तथ्य उजागर गरेको छ।

प्रयोगले राम्रो हावा प्रवाह, कम खोकी र सही सुरक्षा उपाय अपनाएमा बन्द कोठामै पनि फ्लु सर्न नदिन सकिने देखाएको छ।

युनिभर्सिटी अफ मेरील्याण्डका अनुसन्धानकर्ताहरूले गरेको अध्ययन अनुसार, फ्लु संक्रमित र स्वस्थ व्यक्ति एउटै कोठामा लामो समय सँगै बस्दा पनि केही खास सावधानी र अवस्थाका कारण संक्रमण नफैलिन सक्छ।

यो अध्ययन ‘प्लोस प्याथोजेन्स’ जर्नलमा ७ जनवरी सन २०२६ मा प्रकाशित छ जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

स्मरण रहोस् विश्वभर वार्षिक करिब एक अर्ब मानिस मौसमी रुघा खोकी अर्थात फ्लुबाट प्रभावित हुने गरेका छन ।

के थियो प्रयोग?

बाल्टिमोरको एक होटलमा गरिएको यस ‘क्लिनिकल ट्रायल’ मा ५ जना फ्लु संक्रमित विद्यार्थी र ११ जना स्वस्थ स्वयंसेवकलाई दुई साता सम्म एउटै कोठामा राखिएको थियो। उनीहरू बीच कुराकानी, योग, नृत्य र साझा सामग्रीको प्रयोग समेत गराइयो। तर, आश्चर्यजनक रूपमा कुनै पनि स्वस्थ व्यक्तिमा फ्लु सरेन।

संक्रामक रोग विज्ञ डा. डोनाल्ड मिल्टनका अनुसार, यो अध्ययनले फ्लु सर्ने प्रक्रिया बारे विद्यमान मान्यतामा गम्भीर प्रश्न उठाएको छ ।

संक्रमण नफैलिनुका तीन मुख्य कारण

अनुसन्धानकर्ताहरूले संक्रमण नहुनुमा निम्न पक्षहरूलाई जिम्मेवार मानेका छन ।

  • कम खोकी: संक्रमित विद्यार्थीहरूको नाकमा भाइरसको मात्रा उच्च भए पनि उनीहरूलाई खोकी कम लागेको थियो। खोकी नहुँदा भाइरस हावामा मिसिन पाएन।
  • हावाको उचित प्रवाह: कोठामा हिटर र डिह्युमिडिफायरको प्रयोगले हावा निरन्तर चलायमान (सर्कुलेट) थियो, जसले गर्दा हावामा रहेका भाइरसका कणहरू पातलो भए।
  • प्रतिरोधात्मक क्षमता: अध्ययनमा सहभागी स्वस्थ स्वयंसेवकहरू मध्यम उमेरका थिए, जसमा युवाहरूको तुलनामा फ्लु विरुद्ध लड्ने क्षमता बढी देखिएको हुन सक्छ।

अनुसन्धानकर्ता डा. डोनाल्ड मिल्टन भन्छन्- ‘हावा नचल्ने बन्द कोठामा आमने सामने बस्नु सबै भन्दा जोखिम पूर्ण हुन्छ। तर यदि हावाको प्रवाह राम्रो छ र मानिसहरू खोकिरहेका छैनन् भने संक्रमणको जोखिम निकै कम हुन्छ।’

सुरक्षाका लागि सुझाव

प्लोस पैथोजेन्स जर्नलमा प्रकाशित यो अध्ययनले फ्लु अर्थात मौसमी रुघा खोकी बाट जोगिन केही व्यवहारिक उपायहरू सुझाएको छ ।

  • बन्द कोठामा बस्दा एयर प्युरिफायर प्रयोग गरी हावा सफा र चलायमान राख्ने।
  • नजिकै कोही खोकिरहेको छ भने एन-९५ मास्क अनिवार्य लगाउने।
  • नियमित रूपमा हावा आउजाउ हुने (भेन्टिलेसन) स्थान रोज्ने।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!