क्रुज जहाजमा हन्टाभाइरसको संक्रमण: तीन जनाको मृत्यु, डब्लुएचओंद्वारा उच्च सतर्कता आह्वान


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओं) ले ‘एमभी होन्डियस’ क्रुज जहाजमा देखिएको घातक हन्टाभाइरस संक्रमणबारे विश्वव्यापी सतर्कता अपनाउन अपिल गरेको छ। मानिसबाट मानिसमा सर्न सक्ने ‘एन्डिज भाइरस’का कारण हालसम्म ३ जनाको मृत्यु र ८ जना संक्रमित भेटिएपछि डब्लुएचओले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली अनुसार संकट व्यवस्थापन सुरु गरेको हो।

डब्लुएचओंका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले बिहीबार मिडिया ब्रिफिङ गर्दै उक्त क्लस्टर संक्रमण र त्यसको नियन्त्रणका लागि भइरहेका प्रयासबारे जानकारी दिएका हुन ।

हालसम्म यस जहाजसँग सम्बन्धित आठ जनामा संक्रमण देखिएको छ भने तीमध्ये तीन जनाको मृत्यु भइसकेको छ। पुष्टि भएका पाँचवटा केसमा ‘एन्डिज भाइरस’ देखिएको छ। यो हन्टाभाइरसको यस्तो प्रजाति हो, जुन संक्रमित व्यक्तिसँग लामो समय सम्म नजिकको सम्पर्कमा रहँदा मानिसबाट मानिसमा सर्न सक्ने क्षमता राख्दछ।

घटनालाई गम्भीरताका साथ लिइएको बताउँदै महानिर्देशक डा. टेड्रोसले भने – ‘अहिलेको अवस्थामा सार्वजनिक स्वास्थ्यमा यसको जोखिम न्यून रहेको संगठनको मूल्याङ्कन छ। यद्यपि, भाइरसको प्रकृति र लक्षण देखिने अवधिलाई मध्यनजर गर्दा थप संक्रमित फेला पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।’

यो संकटले सीमाविहीन स्वास्थ्य चुनौतीहरू सामना गर्न विश्वव्यापी ऐक्यबद्धता र अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको कुरालाई पुनः पुष्टि गरेको महानिर्देशक डा. टेड्रोसले उल्लेख गरे ।

डब्लुएचओं को सक्रियता र रणनीति

संक्रमण पुष्टि भए लगत्तै अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (आइएचआर) अन्तर्गत डब्लुएचओं ले विभिन्न देशहरूसँग निकट समन्वय सुरु गरिसकेको छ। प्रभावित बिरामीको उपचार, बाँकी यात्रुको सुरक्षा र भाइरसको थप फैलावट रोक्नु नै मुख्य प्राथमिकता रहेको संगठनले जनाएको छ । महामारी नियन्त्रणका लागि संगठनले निम्न कदमहरू चालेको छ ।

  • विज्ञ टोलीको परिचालन: जहाज मै पुगेर यात्रु र चालक दलका सदस्यहरूको विस्तृत स्वास्थ्य परीक्षण गर्न र संक्रमणको जोखिम विश्लेषण गर्न विज्ञ टोली खटाइएको छ।
  • परीक्षण सामग्रीको व्यवस्था: अर्जेन्टिनाबाट २५०० वटा डायग्नोस्टिक किटहरू ल्याएर पाँच देशका प्रयोगशालाहरूमा पठाइएको छ, जसले परीक्षण क्षमतालाई मजबुत बनाउनेछ।
  • सुरक्षित अवतरण कार्यविधि: जहाज गन्तव्यमा पुगेपछि यात्रुहरूलाई सुरक्षित र सम्मानजनक ढंगले ओराल्न तथा उनीहरूको आगामी यात्रा व्यवस्थापन गर्न विशेष निर्देशिका तयार पारिएको छ।

हन्टाभाइरस: मुसाबाट सर्ने घातक रोग र यसबाट बच्ने उपाय

विश्व स्वास्थ्य संगठन का अनुसार हन्टाभाइरस मुसाका माध्यमबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको भाइरस समूह हो। यो भाइरसले मानिसमा कतिपय अवस्थामा ज्यानै जाने खालका समस्याहरू निम्त्याउन सक्छ।

यस भाइरसका बारेमा आम मानिसले जान्नै पर्ने मुख्य कुराहरू तल दिइएको छ ।

१. हन्टाभाइरस कसरी सर्छ?

यो भाइरस मुख्यतया मुसाबाट मानिसमा सर्ने गर्दछ।

  • संक्रमित मुसाको सम्पर्क: मुसाको पिसाब, दिसा वा र्‍यालको प्रत्यक्ष सम्पर्कमा आउँदा।
  • हावाको माध्यम: मुसाको दिसा वा पिसाब सुकेर धूलोका कणसँगै हावामा मिसिन्छ। यस्तो प्रदूषित हावामा सास फेर्दा यो भाइरस फोक्सोसम्म पुग्न सक्छ।
  • मुसाले टोक्दा: कहिलेकाहीँ संक्रमित मुसाले टोकेमा पनि यो रोग सर्न सक्छ।
  • मानिसबाट मानिसमा: साधारणतया यो मानिसबाट मानिसमा सर्दैन। तर, दक्षिण अमेरिकामा पाइने ‘एन्डिज भाइरस’ भने नजिकको सम्पर्कमा रहेका मानिसहरूमा सरेको पाइएको छ।

२. रोगका लक्षणहरू

भाइरसको सम्पर्कमा आएको १ देखि ८ हप्ताभित्र लक्षणहरू देखिन थाल्छन।

सुरुवाती लक्षण: ज्वरो आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुने।

जटिल अवस्था: फोक्सो र मुटुमा असर: खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र फोक्सोमा पानी जम्ने। यसमा मृत्युदर ५०% सम्म हुन सक्छ।

मृगौला र रक्तश्राव :रक्तचाप कम हुने, शरीरका विभिन्न भागबाट रगत बग्ने र मृगौलाले काम नगर्ने।

३. निदान र उपचार

हन्टाभाइरसका सुरुवाती लक्षणहरू रुघाखोकी, डेंगु वा कोभिड-१९ सँग मिल्दाजुल्दा हुने भएकाले यसलाई चिन्न गाह्रो हुन सक्छ ।

  • उपचार: यसको हालसम्म कुनै निश्चित एन्टिभाइरल औषधि वा खोप छैन।
  • सहयोग: बिरामीलाई अस्पतालमा राखेर अक्सिजन दिने र लक्षण अनुसारको उपचार (सपोर्टिभ केयर) गरिन्छ। चाँडो उपचार सुरु गरेमा बिरामीलाई बचाउने सम्भावना बढी हुन्छ।

४. संक्रमणबाट बच्ने उपायहरू

यस रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै मुसाको सम्पर्कबाट टाढा रहनु हो।

  • घर र कार्यस्थल सफा राख्ने: मुसालाई आकर्षित गर्ने खानेकुरा वा फोहोर जथाभाबी नफाल्ने।
  • मुसा पस्ने बाटो बन्द गर्ने: घरका प्वालहरू टाल्ने र मुसा बस्न सक्ने ठाउँहरू सफा राख्ने।
  • सफाई गर्दा सावधानी: मुसाको दिसा वा र्‍याल भएको ठाउँ सफा गर्दा धूलो नउडाउने। सफा गर्नुअघि उक्त ठाउँलाई पानी वा कीटाणुनाशक औषधिले भिजाउने र मास्क तथा पञ्जाको प्रयोग गर्ने।
  • खाद्यान्न सुरक्षित राख्ने: खानेकुरा सधैं बिर्को भएको भाँडोमा राख्ने ताकि मुसाले छुन नपाओस।
  • विशेष सुझाव: यदि तपाईं मुसा बढी भएको क्षेत्रमा बस्नुहुन्छ वा त्यस्तो ठाउँमा काम गर्नुहुन्छ र ज्वरो सँगै सास फेर्न गाह्रो भइरहेको छ भने, तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। स्वास्थ्यकर्मीलाई आफू मुसाको सम्पर्कमा रहेको जानकारी दिनुहोला।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!