डन्डीफोरको उपचारमा नयाँ आशा: कम खर्चिलो ‘इन्टरमिटेन्ट’ पद्धति पनि समान प्रभावकारी


नयाँ दिल्ली (ब्युरो) – मध्यम स्तरको डन्डीफोर अर्थात पिम्पल (ग्रेड–२ एक्ने भल्गारिस) बाट पीडित बिरामीका लागि एउटा खुसीको खबर छ। चिकित्सा विज्ञानको नयाँ अनुसन्धानले डन्डीफोरको उपचारमा प्रयोग हुने महँगो औषधि ‘आइसोट्रेटिनोइन’ लाई महिनाको एक हप्ता मात्र खाँदा पनि (इन्टरमिटेन्ट पद्धति), एक दिन बिराएर खाने परम्परागत विधि जत्तिकै प्रभावकारी र सुरक्षित भुमिका खेल्ने देखाएको छ। यसले उपचारको लागत झन्डै आधा घटाउने प्रमाणित भएको छ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसिएमआर) अन्तर्गत को  इन्डियन जर्नल अफ मेडिकल रिसर्च मा प्रकाशित यो अध्ययनलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ । यो अध्ययन उत्तर – पूर्वी भारतको इन्दिरा गान्धी रिजनल इन्स्टिचुट अफ हेल्थ एन्ड मेडिकल साइन्समा गरिएको हो।

अनुसन्धानमा १८ वर्ष वा सो भन्दा माथिका ६० जना ग्रेड-२ अनुहारको डन्डीफोर भएका बिरामीलाई दुई समूहमा विभाजन गरिएको थियो। पहिलो समूहलाई चार महिना सम्म एक दिन छाडेर २० मिलिग्राम आइसोट्रेटिनोइन दिइयो भने दोस्रो समूहलाई चार महिना सम्म प्रत्येक महिना लगातार एक हप्ताका लागि दैनिक ३० मिलिग्राम औषधि दिइयो।

अध्ययन अनुसार उपचार सुरु हुनु अघि दुवै समूहमा डन्डीफोरको औसत भार (एक्ने लोड) उच्च थियो। चार महिना पछि दुवै समूहमा उल्लेखनीय सुधार देखियो। ५० प्रतिशत भन्दा बढी सुधार हासिल गर्ने बिरामीको अनुपात अल्टरनेट डे समूहमा ९६.७ प्रतिशत र इन्टरमिटेन्ट समूहमा ९३.३ प्रतिशत रहेको थियो। यी परिणामबीच सांख्यिकीय रूपमा उल्लेखनीय अन्तर नदेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन ।

अध्ययनमा उपचार पछि पनि बिरामीमा डन्डीफोर पुनः पुरानै स्तरमा फर्किएको (रिल्याप्स) अवस्था देखिएन। उपचार अवधिभर डन्डीफोरको तीव्रता निरन्तर घट्दै गएको पनि उल्लेख गरिएको छ।

दुष्प्रभावका हिसाबले दुवै समूहमा समान अवस्था देखिएको थियो। सबै भन्दा धेरै देखिएको समस्या छाला सुख्खा हुने थियो। केही बिरामीमा ओठ सुक्ने, मुख सुक्ने र अनुहार रातो हुने समस्या देखिए पनि कलेजोको कार्य र बोसो सम्बन्धी परीक्षणहरू सामान्य सीमा भित्र रहेको अध्ययनले जनाएको छ।

लागतको हिसाबले भने अन्तर देखियो। अल्टरनेट डे उपचारको औसत खर्च भारतीय रुपैयाँ १,१५२ अर्थात नेपाली १८४३ रुपैयाँ  रहेको थियो भने इन्टरमिटेन्ट उपचारको खर्च औसत भारतीय रुपैया ६८९ अर्थात नेपाली ११०२ रुपैयाँ मात्रै थियो।

अनुसन्धानकर्ताहरूका अनुसार ग्रेड–२ अनुहारको डन्डीफोर भएका र हार्मोन सम्बन्धी समस्या नभएका बिरामीमा ३० मिलिग्रामको इन्टरमिटेन्ट उपचार कम खर्चिलो, प्रभावकारी र समान दुष्प्रभाव भएको विकल्प हुन सक्छ। यद्यपि, दीर्घकालीन रूपमा डन्डीफोर दोहोरिने दर मूल्याङ्कन गर्न ठूलो नमुना र लामो अनुगमन सहित थप अध्ययन आवश्यक रहेको उनीहरूको निष्कर्ष छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!