दुबी (भिटिलिगो) का बिरामीका लागि ‘जीवन बदल्ने’ नयाँ मलम अब एनएचएसमा उपलब्ध
काठमाडौँ – बेलायतको सरकारी स्वास्थ्य सेवा (नेशनल हेल्थ सर्विस/ एनएचएस) ले छालामा सेतो टाटा पर्ने रोग दुबी (भिटिलिगो) का कारण अनुहारमा सेतो दाग आएका हजारौँ मानिसका लागि छालाको रङ्ग फर्काउने पहिलो स्वीकृत औषधि उपलब्ध गराउने भएको छ।
विशेष गरी अनुहार र शरीरका दुवै तर्फ समान रूपमा सेतो दाग देखिने (नन सेग्मेन्टल भिटिलिगो) समस्या भएकाहरूले यो सुविधा पाउनेछन।
उपचार विधि र प्रभावकारिता
यो मलम प्रभावित ठाउँमा दिनको दुई पटक लगाउनु पर्छ। एनएचएसका अनुसार, साधारण स्टेरोइड क्रिमले काम नगरेका वा ती क्रिम प्रयोग गर्न नमिल्ने बिरामीलाई यो विकल्प दिइनेछ। उपचारको नतिजा सामान्यतया ६ महिना पछि जाँच गरिन्छ।
क्लिनिकल परीक्षणहरूले देखाए अनुसार, यो मलमले अनुहारको रङ्ग फर्काउन उल्लेखनीय भूमिका खेल्छ। धेरै बिरामीहरूमा प्रभावित क्षेत्रको ७५ प्रतिशत सम्म प्राकृतिक रङ्ग फर्किएको पाइएको छ।
दुबी को मनोवैज्ञानिक प्रभाव
दुबी शारीरिक रूपमा पीडादायी नभए पनि यसले मानिसको आत्मविश्वास र मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने गरेको छ। विशेष गरी अनुहारमा दाग आउँदा मानिसहरू आफ्नो पहिचान र सामाजिक घुलमिलमा हिनताबोध महसुस गर्छन।
बेलायतमा हरेक १०० मध्ये १ जनामा दुबी को समस्या छ। यो यस्तो अवस्था हो जहाँ शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) ले झुक्किएर छालालाई रङ्ग दिने ‘मेलेनोसाइटस’ कोषिकालाई नष्ट गरिदिन्छ।
पहिलेको भन्दा के फरक छ?
अहिले सम्म दुवेको उपचारका लागि दाग लुकाउने (क्यामोफ्लाज) वा स्टेरोइड क्रिमको प्रयोग गरिन्थ्यो। तर स्टेरोइड लामो समय प्रयोग गर्दा छाला पातलो हुने र क्षति पुग्ने जोखिम हुन्थ्यो। अर्को विकल्प ‘लाइट थेरापी’ भए पनि त्यसका लागि पटक पटक अस्पताल जानु पर्ने र नतिजा सधैँ स्थायी नहुने समस्या थियो।
एनएचएस इङ्ल्यान्डकी मेडिकल डाइरेक्टर प्राध्यापक मेघना पण्डित भन्छिन, ‘धेरैका लागि दुबी केवल छालाको रङ्ग फेरिनु मात्र होइन, यसले उनीहरूले आफूलाई हेर्ने दृष्टिकोण र दैनिक महसुस गर्ने भावनामा असर पार्छ। पहिलो पटक हामी सँग यस्तो औषधि छ जसले दाग लुकाउने मात्र होइन, छालाको रङ्ग नै फर्काउन मद्दत गर्छ।’
यो मलमलाई सुरुमा अगस्ट २०२५ मा अस्वीकृत गरिएको थियो। तर स्वास्थ्य निकायहरू र औषधि उत्पादक कम्पनी ‘इनसाइट’ बीचको वार्ता पछि अहिले यसलाई एनएचएसमा समावेश गर्ने बाटो खुलेको हो।

प्रतिक्रिया दिनुहोस