अनुसन्धान

मानव एन्टिबडी र भाइरस बीचको सम्बन्धबारे नयाँ खुलासा: उमेर र जीनले यसरी पार्छ प्रभाव


काठमाडौँ – मानव शरीरमा भाइरस विरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) कसरी विकसित र सञ्चालित हुन्छ भन्ने विषयमा हालै गरिएको एक विस्तृत अध्ययनले नयाँ तथ्यहरू उजागर गरेको छ ।

प्रतिष्ठित वैज्ञानिक जर्नल नेचर इम्युनोलोजी मा प्रकाशित यो अध्ययन प्रतिवेदन लाइ 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ । अध्ययन अनुसार, मानिसको उमेर, लिङ्ग, जन्मस्थान र आनुवंशिक बनावटले भाइरस विरुद्ध शरीरले दिने प्रतिक्रियालाई प्रत्यक्ष रूपमा निर्देशित गर्दछन।

१,२१२ जना स्वस्थ वयस्कहरूमा गरिएको यो अनुसन्धानले ९७,००० भन्दा बढी भाइरल पेप्टाइड्स विरुद्ध शरीरको प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ भन्ने विश्लेषण गरेको थियो।

यो अध्ययनले मानव शरीरको प्रतिरक्षा प्रणालीलाई बुझ्न र खोप रणनीतिहरूलाई थप प्रभावकारी बनाउन एउटा मार्गचित्र तयार गरेको छ। व्यक्तिगत स्वास्थ्य र आनुवंशिक संरचना अनुसारको उपचार पद्धति विकास गर्न यो खोज महत्त्वपूर्ण सावित हुन सक्छ।

इन्फ्लुएन्जा विरुद्धको प्रतिक्रियामा उमेरको प्रभाव

अध्ययनका अनुसार, इन्फ्लुएन्जा अर्थात रुघा खोकी (फ्लु) भाइरसको हकमा उमेरले एन्टिबडीको प्रकृति परिवर्तन गरिदिन्छ। युवा अवस्थामा मानिसको शरीरले भाइरसको छिटो परिवर्तन भइ रहने ‘ग्लोबुलर हेड’ लाई निशाना बनाउँछ भने उमेर बढ्दै जाँदा शरीरले भाइरसको स्थिर रहने भाग ‘स्टाल्क डोमेन’ विरुद्ध एन्टिबडी निर्माण गर्न थाल्छ । यो निष्कर्षले भविष्यमा अझ बढी प्रभावकारी र दीर्घकालीन खोपको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ।

लिङ्ग र वातावरणीय प्रभाव

अनुसन्धानले महिला र पुरुषको प्रतिरक्षा प्रणालीमा पनि भिन्नता फेला पारेको छ। ‘हर्पिसभाइरस’ जस्ता केही विशेष भाइरसहरू विरुद्ध महिलाहरूमा पुरुषको तुलनामा बढी एन्टिबडी सक्रियता देखिएको छ। त्यस्तै मानिस कुन भूगोलमा जन्मियो र हुर्कियो भन्ने कुराले पनि उसको एन्टिबडी प्रोफाइल निर्धारण गर्ने अध्ययनले देखाएको छ। युरोप र अफ्रिकामा जन्मिएका व्यक्तिहरू बीचको एन्टिबडी भिन्नता मुख्यतया उनीहरूले विगतमा सामना गरेका भाइरसहरूको संसर्ग (एक्सपोजर) का कारण भएको पाइएको छ।

धुम्रपान र प्रतिरक्षा प्रणाली

धुम्रपानले विशेष गरी रुघाखोकी लगाउने ‘राइनोभाइरस’ विरुद्धको एन्टिबडी क्षमतामा नकारात्मक प्रभाव पार्ने देखिएको छ। यद्यपि, धुम्रपान त्यागेका व्यक्तिहरूमा यो क्षमता बिस्तारै पूर्ववत अवस्थामा फर्किनुले यसको असर उल्टाउन सकिने सकारात्मक संकेत दिएको छ।

आनुवंशिक सम्बन्ध र रोगको जोखिम

वैज्ञानिकहरूले आनुवंशिक गुण (एचएलए, एफयूटी २, आईजीएच र आईजीके लोसाई) र एन्टिबडी बीच गहिरो सम्बन्ध फेला पारेका छन । चाखलाग्दो कुरा के छ भने भाइरस विरुद्ध लड्ने कतिपय आनुवंशिक गुणहरूले मानिसमा भविष्यमा ‘टाइप वान डाइबिटिज’ र ‘रुमाटोइड आर्थराइटिस’ जस्ता अटोइम्यून रोगहरूको जोखिम समेत बढाउन सक्ने अध्ययनले औंल्याएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!