अनुसन्धान
जीवनभरको बौद्धिक सक्रियताले अल्जाइमर्सको जोखिम ५ वर्ष पर धकेल्ने: नयाँ अध्ययन
काठमाडौँ – जीवन भर नयाँ कुरा सिक्ने, नियमित पढ्ने लेख्ने र बौद्धिक गतिविधिमा संलग्न रहने व्यक्तिहरूमा अल्जाइमर्सको जोखिम कम हुने र मानसिक क्षमतामा आउने ह्रास ढिलो हुने एक अध्ययनले देखाएको छ।
यो अध्ययन अमेरिकन एकेडेमी अफ न्यूरोलोजीको मेडिकल जर्नल न्यूरोलोजी मा फेब्रुअरी ११, २०२६ मा प्रकाशित भएको हो जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। उक्त अनुसन्धान अनुसार बौद्धिक रूपमा सक्रिय व्यक्तिहरूमा अल्जाइमर्सका लक्षण देखिने समय औसत पाँच वर्ष र सामान्य मानसिक कमजोरी (माइल्ड कग्निटिभ इम्पेयरमेन्ट) देखिने समय करिब सात वर्षपछि सरेको पाइएको छ।
शिकागो स्थित रस युनिभर्सिटी मेडिकल सेन्टरकी अनुसन्धानकर्ता डा. एन्ड्रिया जामिटको नेतृत्वमा गरिएको यस अध्ययनमा औसत ८० वर्ष उमेरका १,९३९ जना सहभागी थिए। अध्ययन सुरु हुँदा उनीहरूमा डिमेन्सियाको कुनै लक्षण थिएन। सहभागीहरूलाई करिब आठ वर्ष सम्म अनुगमन गरिएको थियो।
अनुसन्धान टोलीले सहभागीहरूको बौद्धिक सक्रियतालाई जीवनका तीन चरणमा मूल्यांकन गरेको थियो। बाल्यकालमा घरमा पढाइका सामग्रीको उपलब्धता र विदेशी भाषा सिकेको अनुभव, मध्य उमेरमा पुस्तकालय सदस्यता, पढ्ने बानी र सांस्कृतिक गतिविधिमा सहभागिता, तथा वृद्धावस्थामा नियमित पढ्ने, लेख्ने र खेल खेल्ने गतिविधिलाई आधार बनाइएको थियो।
अनुगमन अवधिमा ५५१ जनामा अल्जाइमर्स र ७१९ जनामा सामान्य मानसिक कमजोरी देखिएको थियो। बौद्धिक रूपमा सबैभन्दा सक्रिय समूह (शीर्ष १० प्रतिशत) मा अल्जाइमर्सको जोखिम ३८ प्रतिशत र मानसिक कमजोरीको जोखिम ३६ प्रतिशतले कम रहेको अध्ययनले देखाएको छ। उच्च सक्रियता भएका व्यक्तिहरूमा अल्जाइमर्स औसत ९४ वर्षमा देखिएको थियो भने कम सक्रिय समूहमा ८८ वर्षमै लक्षण देखा परेको थियो।
मृत्यु भएका केही सहभागीको मस्तिष्क परीक्षण गर्दा अल्जाइमर्ससँग सम्बन्धित एमाइलोइड र टाउ प्रोटिनको जमावट देखिए पनि जीवन भर बौद्धिक रूपमा सक्रिय रहेकाहरूको स्मरण शक्ति र सोच्ने क्षमता तुलनात्मक रूपमा राम्रो रहेको अनुसन्धानकर्ताहरूले बताएका छन।
‘बाल्यकालदेखि वृद्धावस्था सम्मको बौद्धिक वातावरणले पछिल्लो जीवनको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ,’ डा. जामिटले भनिन । उनका अनुसार पुस्तकालय, प्रारम्भिक शिक्षा र सिकाइ प्रवर्द्धन गर्ने कार्यक्रमहरूमा सार्वजनिक लगानी बढाउनु दीर्घकालीन रूपमा डिमेन्सियाको दर घटाउन सहयोगी हुन सक्छ।
अनुसन्धान सहभागीहरूको विगतका सम्झनामा आधारित भएकाले केही जानकारी पूर्ण रूपमा सही नहुन सक्ने सीमितता रहेको पनि अध्ययनमा उल्लेख गरिएको छ। यो अनुसन्धानलाई अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले सहयोग गरेको हो।

प्रतिक्रिया दिनुहोस