डाक्टर बन्ने दौडमा रहेका विद्यार्थी नै मानसिक तनावमा: किन डराउँछन सहयोग माग्न?
काठमाडौँ – अरूको उपचार गर्ने विधि सिकिरहेका मेडिकल विद्यार्थीहरू आफैँ गम्भीर मानसिक दबाबमा रहने गरेको पाइएको छ।
यो अध्ययन ‘बीएमजे ओपन’ जर्नल मा ९ फेब्रुअरी सन् २०२६ मा प्रकाशित भएको हो जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। उक्त अध्ययनका अनुसार, २६ प्रतिशत भन्दा बढी मेडिकल विद्यार्थी डिप्रेसन र चिन्ता (एन्जाइटी) बाट गुज्रिन्छन्। तर, अचम्मको कुरा के छ भने यी मध्ये ६ जनामा १ जनाले मात्रै उपचारका लागि पहल गर्ने गरेका छन।
चिकित्सा शिक्षाको कठिन पढाइ, लामा र थकाइ लाग्दा ड्युटीहरू अनि बिरामीको पीडासँग प्रत्यक्ष जुध्नुपर्ने बाध्यताले विद्यार्थीहरूमा ‘बर्नआउट’ र मानसिक समस्याको जोखिम बढाएको हो।
सन २०१३ देखि २०२३ सम्म प्रकाशित ११ अध्ययन समेटिएको यस समीक्षाले मेडिकल विद्यार्थीहरूमा मानसिक स्वास्थ्य सम्बन्धी सहयोग खोज्ने व्यवहार वा धारणा सुधार्न विश्वविद्यालय वा स्वास्थ्य संस्थाले सञ्चालन गरेका कार्यक्रमको प्रभाव मूल्याङ्कन गरेको हो। अध्ययनमा एशिया, उत्तर अमेरिका, युरोप र ओसियानाका कलेजहरू समावेश छन्।
किन खुल्दैनन् विद्यार्थी?
अध्ययनले मेडिकल विद्यार्थीहरू सहयोग माग्न नचाहनुको पछाडि केही गम्भीर कारणहरू फेला पारेको छ। धेरै जसो विद्यार्थीमा ‘चिकित्सक सधैँ उपचार गर्ने (केयर गिभर) पात्र मात्र हुनु पर्छ र ऊ आफैँ बिरामी पर्नु कमजोरी हो’ भन्ने पुरातन सोच हाबी देखिन्छ।
यस बाहेक, मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा गर्दा आफ्नो भविष्यको करियरमा असर पर्ने वा समाजले हेर्ने दृष्टिकोण बदलिने डरले पनि उनीहरू आफ्ना पीडा लुकाउन बाध्य छन ।
अनुभव साटासाट गर्दा प्रभावकारी
पछिल्लो १० वर्षका विभिन्न शैक्षिक पहलहरूको विश्लेषण गर्दा विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यको उपचारमा आकर्षित गर्न ‘अनुभव साटासाट’ सबै भन्दा प्रभावकारी देखिएको छ। मानसिक समस्यालाई जितेका व्यक्तिहरू वा स्वयम् चिकित्सकहरूले आफ्नो सङ्घर्षको कथा सुनाउँदा विद्यार्थीहरूमा ‘यो एउटा सामान्य समस्या हो र उपचार सम्भव छ’ भन्ने विश्वास पलाएको अध्ययनले देखाएको छ।
त्यस्तै, अस्पतालमा परामर्शका लागि झन्झटिलो प्रक्रियाको साटो इमेल वा अनलाइनबाट सजिलै समय लिन मिल्ने व्यवस्था गर्दा पनि सहयोग माग्ने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ।
किताबी ज्ञानले मात्र पुग्दैन
अध्ययनको एउटा महत्त्वपूर्ण निष्कर्ष के छ भने, मेडिकल विद्यार्थीले अस्पतालमा लिने ‘साइकियाट्री’ (मनोचिकित्सा) को नियमित तालिमले अरू बिरामी प्रतिको व्यवहारमा त सुधार ल्याउँछ, तर उनीहरूलाई आफ्नै समस्याको पहिचान र उपचार गर्न भने खासै मद्दत गर्दैन।
किताबी ज्ञानले मात्रै उनीहरूको मनमा रहेको सामाजिक लाञ्छना (स्टिग्मा) को डर हटाउन नसकेको शोधकर्ताहरूको ठम्याइ छ।
दिगो समाधानको खाँचो
शोधकर्ताहरूका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमहरू एक दुई पटक मात्र सञ्चालन गरेर पुग्दैन। कार्यक्रमको प्रभाव केही समय पछि कम हुँदै जाने भएकाले यसलाई मेडिकल कलेजहरू को नियमित पाठ्यक्रम कै हिस्सा बनाउनु पर्ने सुझाव दिइएको छ।
चिकित्सक बन्ने यात्रामा रहेका युवाहरूको मानसिक स्वास्थ्यलाई बेवास्ता गर्दा भविष्यमा बिरामीको उपचार र समग्र स्वास्थ्य सेवामै असर पर्न सक्ने भन्दै अध्ययनले कलेजहरूलाई संवेदनशील बन्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस