मोटोपन र कम तौल दुवै युवाको मानसिक स्वास्थ्यका लागि उत्तिकै जोखिमपूर्ण: अध्ययन


काठमाडौँ – युवावस्थामा आफ्नो शारीरिक बनावट (बडी इमेज) र तौललाई लिएर गरिने चिन्ताले मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको एक अध्ययनले देखाएको छ।

यो अध्ययन ‘जर्नल अफ एडुकेसन एन्ड हेल्थ प्रमोसन’ मा हालै प्रकाशित भएको हो जसलाई यहाँ 👉 क्लिक गरेर पढ्न सकिन्छ। अध्ययन अनुसार, शारीरिक छवि सँग जोडिएको तनावले युवाहरूमा आत्मविश्वासको कमी, चिन्ता र एक्लोपन जस्ता समस्याहरू निम्त्याइरहेको छ।

छिमेकी मुलुक भारतमा १८ देखि ३० वर्ष उमेर समूहका १ हजार ७१ जना युवाहरू माझ गरिएको यो अध्ययनले तौलको उतार चढाव र मानसिक स्वास्थ्य बीच सिधा सम्बन्ध रहेको पुष्टि गरेको हो।

अध्ययनमा सहभागी मध्ये औसत उमेर २२.३ वर्ष रहेको थियो, जसमा ६३.६ प्रतिशत विद्यार्थी र ५७.१ प्रतिशत महिलाको सहभागिता थियो।

मोटोपन र कम तौल दुवै उत्तिकै जोखिमपूर्ण

अध्ययनको तथ्याङ्क अनुसार २५.२ प्रतिशत सहभागी मोटोपनको श्रेणीमा र ११.५ प्रतिशत कम तौलको समूहमा थिए। मोटोपन र कम तौल भएका करिब आधा युवामा मध्यम देखि गम्भीर स्तरको ‘बडी इमेज’ चिन्ता पाइएको छ।

तुलनात्मक रूपमा हेर्दा, सामान्य तौल भएका युवाको तुलनामा कम तौल भएकाहरूमा शारीरिक असन्तुष्टिको जोखिम १.८९ गुणा बढी देखियो भने मोटोपन भएका युवामा यो जोखिम २.८९ गुणा बढी पाइयो।

मोटोपन भएकाहरूमा अरूले आफूलाई नियालिरहेको अनुभूति र आत्मविश्वासको कमी बढी देखिँदा, कम तौल भएकाहरूमा भने लज्जा, एक्लोपन र सामाजिक अप्ठ्यारोपनको समस्या प्रबल देखियो।

सामाजिक सञ्जाल र अवास्तविक मापदण्डको प्रभाव

अध्ययनले ५५.८ प्रतिशत युवाले आफ्नो तौल प्रति बारम्बार सचेत महसुस गर्ने र ३३.२ प्रतिशतले आत्मविश्वासको कमी अनुभव गर्ने गरेको तथ्य उजागर गरेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार सामाजिक सञ्जालमा देखाइने सौन्दर्यका अवास्तविक मापदण्ड र शारीरिक बनावटलाई लिएर गरिने सामाजिक टिप्पणीले युवाहरूमा यस्तो मनोवैज्ञानिक दबाब सिर्जना गरेको हो।

समाधानका लागि विज्ञको सुझाव

अनुसन्धानले केवल मोटोपन घटाउने वा तौल बढाउने कुरामा मात्र केन्द्रित नभई युवाको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्न सुझाव दिएको छ। अध्ययनको निष्कर्षमा भनिएको छ, ‘तौल व्यवस्थापनका कार्यक्रमहरूमा मानसिक स्वास्थ्य सहयोग र आत्मसम्मान बढाउने पहलहरू अनिवार्य रूपमा समेटिनु पर्छ।’

विज्ञहरूले शैक्षिक संस्था र स्वास्थ्य प्रणालीले ‘शरीर छवि साक्षरता’ (वड़ी ईमेज लिट्रेसी) सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने र तौलका आधारमा गरिने सामाजिक भेदभाव (वाडी सेमिड्ग) अन्त्य गर्न ठोस नीति आवश्यक रहेको औँल्याएका छन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!