अनुसन्धान

उमेरसँगै खिइएको जोर्नीको कार्टिलेज फेरि पलाउने घुँडा फेर्नु नपर्ने: चिकित्सा क्षेत्रमा नयाँ सफलता


काठमाडौँ-उमेर ढल्किँदै गए पछि धेरैको साझा दुःख हुन्छ ‘घुँडा खिइने’ समस्या । जोर्नीको बीचमा हुने नरम हड्डी (कार्टिलेज) खिइए पछि हिँडडुल गर्न गाह्रो हुने र अन्त्यमा महँगो शल्यक्रिया गरेर घुँडा नै फेर्नु पर्ने अवस्था आउँछ। तर, अब यो समस्याबाट मुक्ति मिल्ने नयाँ आशा पलाएको छ।

प्रतिष्ठित अमेरिकी विश्वविद्यालय स्ट्यानफोर्ड मेडिसिनका वैज्ञानिकहरूले एउटा यस्तो औषधि पत्ता लगाएका छन, जसले उमेर सँगै खिइएको जोर्नीको कार्टिलेजलाई फेरि प्राकृतिक रूपमै पलाउन मद्दत गर्छ। साइन्स जर्नलमा यो अध्ययनको प्रकाशित भएको हो, जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ

के हो यो नयाँ खोज?

वैज्ञानिकहरूले मुसामा गरेको प्रयोगमा बुढ्यौली लागेका मुसाको घुँडामा फेरि नयाँ र बलियो कार्टिलेज पलाएको पाइएको छ। यो चमत्कार एउटा विशेष प्रोटिनलाई रोक्नाले सम्भव भएको हो।

हाम्रो शरीरमा उमेर बढ्दै जाँदा ‘१५-पीजीडीएच’ (15-PGDH) नामक प्रोटिन बढ्दै जान्छ। यसले जोर्नीका तन्तुहरूलाई बुढो बनाउने र खिइने प्रक्रियालाई तीव्र पार्छ। वैज्ञानिकहरूले यो प्रोटिनको कामलाई रोक्ने एउटा सानो औषधि प्रयोग गर्दा चमत्कारिक नतिजा फेला पारे:

  • खिइएको र पातलो भएको कार्टिलेज फेरि बाक्लो र बलियो भयो।
  • जोर्नीहरू युवा अवस्थामा जस्तै कार्यक्षम बन्न थाले।
  • चोट लागेपछि हुने ‘बाथ’ (गठिया) को जोखिमलाई पनि यसले कम गरिदियो।

मानिसमा पनि सफल परीक्षण

सबै भन्दा उत्साहजनक कुरा त के छ भने, यो औषधिको परीक्षण मानिसबाट निकालिएको तन्तुमा पनि गरिएको थियो। घुँडा फेर्ने शल्यक्रिया गर्दा निकालिएका खराब कार्टिलेजहरूमा यो औषधि प्रयोग गर्दा मात्र एक सातामा नयाँ र स्वस्थ कोषिकाहरू बन्न थालेको पाइयो।

अनुसन्धानको नेतृत्व गरेकी प्राध्यापक हेलेन ब्लाउ भन्छिन’, ‘हामीले स्टेम सेल खोजिरहेका थियौँ, तर यो त त्यो भन्दा पनि अनौठो देखियो। औषधि पाए पछि कार्टिलेज बनाउने पुराना कोषिकाहरू आफैं युवा अवस्थामा फर्किए जस्तै व्यवहार गर्न थाले।’

बिरामीलाई के फाइदा हुन्छ?

हाल सम्म संसार भर’ओस्टियोआर्थ्राइटिस’ (गठिया) को उपचार भनेकै दुखाइ कम गर्ने औषधि खाने वा अन्तिममा शल्यक्रिया गरेर जोर्नी फेर्ने मात्र थियो। तर यो नयाँ औषधिले:

  • शल्यक्रिया नै नगरी जोर्नीलाई प्राकृतिक रूपमा निको पार्न सक्छ।
  • सुई मार्फत सिधै जोर्नीमा औषधि दिएर उपचार गर्न सकिनेछ।
  • उमेरका कारण हुने अपाङ्गतालाई रोक्न ठूलो सहयोग पुग्नेछ।

यो अध्ययनले अबको केही वर्षमा मानिसका लागि यो उपचार सहजै उपलब्ध हुन सक्ने संकेत गरेको छ। हाल यो औषधिको अर्को संस्करण मांसपेशीको कमजोरी सम्बन्धी उपचारका लागि क्लिनिकल परीक्षणको क्रममा छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!