अनुसन्धान
मोटोपन नाप्ने नयाँ सुत्र: बड़ी मास इन्डेक्स भन्दा कम्मरको घेरा भरपर्दो!
बढ्दो उमेरसँगै धेरैलाई लाग्न सक्छ, ‘मेरो तौल त ठिकै छ, शरीर किन यस्तो भद्दा देखिएको होला ?’ यदि तपाईं पनि यस्तै दोधारमा हुनुहुन्छ भने, अब तौल मात्र जोखेर ढुक्क नहुनुहोस।
बेलायतमा हालै गरिएको एक अध्ययनले उमेर ढल्किँदै गएका व्यक्तिहरूका लागि तौल र उचाइको अनुपात अर्थात् बडी मास इन्डेक्स (बिएमआई) भन्दा कम्मर र उचाइको अनुपात (वेस्ट टु हाइट रेसियो) स्वास्थ्य जोखिम पत्ता लगाउन बढी सटीक हुने देखाएको छ।
वैज्ञानिक जर्नल ‘इन्टरनेसनल जर्नल अफ अभिसिटी’ मा प्रकाशित यो अध्ययनलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। यो नयाँ अध्ययनले मोटोपन मापन गर्ने परम्परागत तरिकामा पुनर्विचार गर्नुपर्ने देखाएको हो।
किन धोका दिन सक्छ बिएमआई ले?
अहिले सम्म हामी मोटोपन जाँच्न ‘बडी मास इन्डेक्स’ (बिएमआई) मा भर पर्दै आएका छौँ। तर, वृद्ध उमेरमा यसले झुक्काउन सक्छ। शेफिल्ड र नटिङ्घम विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार, उमेर बढे सँगै शरीरको मांसपेशी घट्दै जान्छ र बोसो बढ्छ। यस्तो बेला तौल उस्तै देखिए पनि भित्र भित्रै स्वास्थ्य जोखिम बढि रहेको हुन सक्छ।
बिएमआई ले मध्य उमेर सम्म मोटोपन बढेको देखाए पनि बुढ्यौलीमा मांसपेशी घट्ने हुनाले तौल कम भएको देखाउन सक्छ, जसले गर्दा मानिसमा ‘म स्वस्थ छु’ भन्ने भ्रम पैदा हुन सक्छ।
स्वास्थ्यको ‘गोल्डेन रुल’: कम्मर उचाइको आधा हुनुपर्छ
अनुसन्धानका सह लेखक डा. लरा ग्रेका अनुसार स्वास्थ्य जाँच्ने विधि एकदमै सरल छ: ‘आफ्नो कम्मरको घेराइ उचाइको आधा भन्दा कम राख्नुहोस्।’
- उदाहरणका लागि: यदि तपाईंको उचाइ ५ फिट (६० इन्च) छ भने, तपाईंको कम्मरको घेराइ ३० इन्च वा सो भन्दा कम हुनुपर्छ।
- कसरी नाप्ने ? एउटा सामान्य फित्ता (टेप) लिएर घर मै आफ्नो कम्मरको नाप लिन सकिन्छ। यो विधिले पेट वरिपरि जम्मा भएको ‘भिसेरल फ्याट’ (भित्री अंगलाई घेर्ने खतरनाक बोसो) लाई स्पष्ट सँग देखाउँछ।
पेटको बोसो: रोगको घर
पेट वरिपरि जम्मा हुने बोसोले मुटु रोग, स्ट्रोक र डिमेन्सिया (बिर्सने रोग) जस्ता समस्याको जोखिम बढाउँछ। कम्मर उचाइ अनुपातले यी जोखिमहरूलाई बिएमआई भन्दा स्पष्टसँग संकेत गर्छ। अध्ययनले के पनि देखाएको छ भने, मोटोपन बढ्नुमा हाम्रो व्यक्तिगत बानी मात्र नभई बदलिँदो वातावरण, खानपानको उपलब्धता र जीवनशैलीको पनि ठूलो हात छ ।
बुढ्यौलीमा थोरै तौल बढी हुनु स्वास्थ्यका लागि राम्रो हो भन्ने पुराना मान्यताहरूलाई यो अध्ययनले चुनौती दिएको छ। स्वस्थ र दीर्घायु रहनका लागि तौल मेसिनमा भन्दा बढी ध्यान आफ्नो कम्मरको घेराइमा दिनु बुद्धिमानी हुनेछ।
आजै आफ्नो कम्मर नाप्नुहोस्: के तपाईंको कम्मरको घेराइ तपाईंको उचाइको आधा भन्दा कम छ?

प्रतिक्रिया दिनुहोस