अनुसन्धान

एन्टिबायोटिक किन असफल हुन्छ ? ब्याक्टेरियाको दुई ‘शटडाउन मोड’ पत्ता लाग्यो


काठमाडौं – नयाँ अध्ययनले एन्टिबायोटिक उपचार पछि पनि केही ब्याक्टेरिया किन बाँच्छन् भन्ने लामो समय देखिको वैज्ञानिक अन्योल स्पष्ट पारेको छ। इजराइलमा भएको अनुसन्धान अनुसार ब्याक्टेरिया केवल परम्परागत ‘डोर्मेन्सी’ अर्थात् निद्रा जस्तै अवस्थामा मात्र होइन, दुई फरक जैविक अवस्था मार्फत एन्टिबायोटिकबाट बच्न सक्छन ।

माइक्रोबायोलोजीको दुनियामा हलचल मचाउने र बारम्बार हुने सङ्क्रमणलाई रोक्ने आशा जगाउने यो अध्ययन साइन्स एडभान्सेज मा प्रकाशित छ 👉 जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

हिब्रु विश्वविद्यालयकी प्रोफेसर नाथाली बालाबानको निर्देशनमा पीएचडी विद्यार्थी आदी रोटेम नेतृत्वको टोलीले गरेको अध्ययनले ब्याक्टेरियामा दुई प्रकारको ग्रोथ अरेस्ट देखाएको छ। दुवैले एन्टिबायोटिक पर्सिस्टेन्स अर्थात उपचारपछि पनि केही ब्याक्टेरिया बाँचिरहने अवस्थालाई जन्म दिन्छन ।

पहिलो अवस्था नियन्त्रित ग्रोथ अरेस्ट हो। यसमा ब्याक्टेरियाले योजनाबद्ध रूपमा आफ्नो वृद्धि सुस्त बनाउँदै सुरक्षित डोर्मेन्ट अवस्थामा प्रवेश गर्छन । धेरै एन्टिबायोटिक सक्रिय रूपमा बढि रहेका ब्याक्टेरिया माथि मात्र प्रभावकारी हुने भएकाले यस्ता कोशिका मार्न कठिन हुन्छन ।

दोस्रो अवस्था भने अव्यवस्थित वा डिसरप्टेड ग्रोथ अरेस्ट हो। यो कुनै योजनाबद्ध ‘शटडाउन’ होइन, बरु कोषिकीय नियन्त्रण प्रणाली बिग्रिएको अवस्था हो। यस्ता ब्याक्टेरियामा कोषिकाको झिल्ली (सेल मेम्ब्रेन) को स्थिरता गम्भीर रूपमा कमजोर हुन्छ, जसलाई भविष्यमा उपचारको प्रमुख लक्ष्य बनाउन सकिने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।

प्रोफेसर बालाबानका अनुसार, ‘ब्याक्टेरिया एन्टिबायोटिकबाट बच्न दुई फरक बाटो अपनाउँछन। यी फरक अवस्थालाई छुट्याएर बुझ्दा वर्षौं देखि देखिएका विरोधाभासी नतिजाहरू स्पष्ट हुन्छन् र उपचार रणनीतिमा नयाँ दिशा खुल्छ।’

एन्टिबायोटिक पर्सिस्टेन्स दीर्घकालीन युरिनरी ट्र्याक्ट इन्फेक्सन देखि मेडिकल इम्प्लान्टसँग सम्बन्धित संक्रमण सम्म दोहोरिने रोगहरूको प्रमुख कारण मानिन्छ। आनुवंशिक प्रतिरोध नभए पनि संक्रमण फेरि फर्किनु यसको मुख्य चुनौती हो।

अध्ययनले वैज्ञानिकहरूले अहिले सम्म फरक फरक प्रकारका ग्रोथ अरेस्ट भएका ब्याक्टेरियालाई एउटै रूपमा बुझ्दा भ्रम सिर्जना भएको संकेत गरेको छ। अब भने डोर्मेन्ट पर्सिस्टर र अव्यवस्थित पर्सिस्टरका लागि फरक उपचार रणनीति विकास गर्न सकिने सम्भावना देखिएको छ।

अनुसन्धान टोलीले गणितीय मोडलिङ सँगै ट्रान्सक्रिप्टोमिक्स, माइक्रोक्यालोरिमेट्री र माइक्रोफ्लुडिक्स जस्ता उच्च स्तरीय प्रविधि प्रयोग गरी एकल ब्याक्टेरिया कोषिकाको व्यवहार अवलोकन गरेका थिए । ती विधिबाट नियन्त्रित र अव्यवस्थित ग्रोथ अरेस्ट बीच स्पष्ट जैविक फरक र अव्यवस्थित अवस्थाका कमजोरी पहिचान गर्न सफल भएको अध्ययनमा उल्लेख छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!