अनुसन्धान

मात्र १० मिनेटको तीव्र व्यायामले आन्द्राको क्यान्सरसँग लड्न मद्दत गर्न सक्छ


छोटो समयको तर तीव्र शारीरिक व्यायामले आन्द्रा क्यान्सरको जोखिम घटाउन सहयोग गर्ने नयाँ अध्ययनले देखाएको छ। अनुसन्धान अनुसार करिब १० मिनेटको तीव्र व्यायामले रगतमा तत्कालै जैविक परिवर्तन ल्याई क्यान्सर कोषको वृद्धि रोक्न र डीएनए क्षति मर्मत प्रक्रियालाई सक्रिय बनाउन सक्छ।

न्यूक्यासल विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनमा व्यायाम पछि रगतमा केही साना अणुहरूको मात्रा बढेको पाइएको छ। ती अणुहरू सूजन घटाउने, रक्तनलीको कार्य सुधार गर्ने र शरीरको मेटाबोलिजमसँग सम्बन्धित छन्।

प्रयोगशालामा ती व्यायाम प्रेरित अणुहरू आन्द्रा क्यान्सरका कोषमा प्रयोग गर्दा १ हजार ३ सय भन्दा बढी जीनको गतिविधिमा परिवर्तन आएको अनुसन्धानकर्ताले बताएका छन्। ती जीनहरू डीएनए मर्मत, ऊर्जा उत्पादन र क्यान्सर कोषको वृद्धिसँग सम्बन्धित रहेका छन्।

रगत मार्फत जीनमा असर

यो अध्ययन इन्टरनेशनल जर्नल अफ क्यान्सरमा प्रकाशित छ जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ । अध्ययनले व्यायामले आन्द्रा क्यान्सरबाट कसरी सुरक्षा दिन्छ भन्ने एउटा जैविक प्रक्रिया स्पष्ट गरेको छ। अनुसन्धान अनुसार व्यायाम पछि रगत मार्फत जाने संकेतहरूले ट्युमरको वृद्धि र जीनको अस्थिरतालाई नियन्त्रण गर्ने जीनहरूको गतिविधिमा प्रभाव पार्छन्।

अध्ययनका प्रमुख अनुसन्धानकर्ता तथा न्यूक्यासल विश्वविद्यालयका क्लिनिकल एक्सरसाइज फिजियोलोजीका वरिष्ठ प्राध्यापक डा. साम ओराञ्जका अनुसार, ‘व्यायामले स्वस्थ तन्तुहरूलाई मात्र फाइदा दिँदैन, यसले रगत मार्फत क्यान्सर कोष भित्र रहेका हजारौं जीनको गतिविधिमा प्रत्यक्ष असर पार्छ।’

उनका अनुसार यसले भविष्यमा व्यायामको जैविक प्रभाव नक्कल गर्ने वा बढाउने नयाँ उपचार विधि विकासको सम्भावना पनि खोलिदिएको छ, जसले क्यान्सर उपचार र बिरामीको नतिजा सुधार गर्न सक्छ।

क्यान्सर कोषको वृद्धि सुस्त

अनुसन्धानले व्यायामले माइटोकन्ड्रियल ऊर्जा मेटाबोलिजम सँग सम्बन्धित जीन सक्रिय बनाएको र कोषले अक्सिजन प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने देखाएको छ। यस सँगै तीव्र कोष वृद्धि गर्ने जीनहरू निष्क्रिय भएका छन्, जसले क्यान्सर कोषको आक्रामकता घटाउन सक्छ। साथै व्यायाम पछि सङ्कलित रगतले डीएनए मर्मत प्रक्रियालाई प्रोत्साहन गर्दै पिएनकेपी नामक महत्वपूर्ण जीन सक्रिय गरेको पाइएको छ।

अध्ययनमा ५० देखि ७८ वर्ष उमेर समूहका ३० जना पुरुष तथा महिला सहभागी थिए। उनीहरू सबै तौल बढी भएका थिए जसलाई क्यान्सरको जोखिम कारक मानिन्छ तर  स्वस्थ थिए । सहभागीहरूले करिब १० मिनेटको तीव्र साइकलिङ गरे पछि रगतका नमुना सङ्कलन गरी २४९ प्रोटिनको विश्लेषण गरिएको थियो। व्यायामपछि १३ प्रोटिनको मात्रा बढेको पाइएको छ, जसमा डीएनए मर्मतमा सहयोग गर्ने इन्टरल्यूकिन-६ (आई एल-६) पनि समावेश छ।

आन्द्रा क्यान्सर र शारीरिक सक्रियता

बेलायतमा आन्द्रा क्यान्सर चौथो सबै भन्दा धेरै देखिने क्यान्सर हो। प्रत्येक वर्ष करिब ४४ हजार मानिसमा यो रोग पत्ता लाग्ने र हरेक ३० मिनेटमा एक जनाको मृत्यु हुने तथ्यांक छ। अध्ययनहरूका अनुसार नियमित शारीरिक सक्रियताले आन्द्रा क्यान्सरको जोखिम करिब २० प्रतिशतले घटाउन सक्छ।

व्यायाम जिम वा खेलकुदमा मात्र सीमित नभई हिँडडुल, साइकल चलाउने, बगैँचा स्याहार गर्ने वा घरायसी कामबाट पनि गर्न सकिने अनुसन्धानकर्ताको भनाइ छ।

भविष्यमा अनुसन्धान टोलीले नियमित र दोहोरिने व्यायामले दीर्घकालीन जैविक परिवर्तन ल्याउँछ कि ल्याउँदैन भन्ने विषयमा अध्ययन गर्ने र यी प्रभावहरू केमोथेरापी तथा रेडियोथेरापी जस्ता क्यान्सर उपचारसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने पनि परीक्षण गर्ने जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!