अनुसन्धान
बुजुर्गमा कमजोरी र डिप्रेसन हुँदा डिमेन्सियाको जोखिम बढ्ने
एक अध्ययनले शारीरिक कमजोरी र डिप्रेसनबाट ग्रस्त बुजुर्गमा डिमेन्सिया (बिर्सिने रोग) को जोखिम उल्लेख्य रूपमा बढ्ने देखाएको छ। यी दुई अवस्था एकसाथ हुँदा कुल जोखिममा करिब १७ प्रतिशत योगदान पुग्ने अध्ययनले जनाएको छ।
जनरल साइकियाट्री मा प्रकाशित यो अध्ययन लाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अध्ययन अनुसार कमजोरी र डिप्रेसन दुवै आफैंमा डिमेन्सियाका जोखिम कारक हुन्। दुवै समस्या भएका व्यक्तिमा सामान्य व्यक्तिको तुलनामा डिमेन्सिया विकास हुने सम्भावना करिब तीन गुणा बढी हुन्छ।
चीनको झेजियाङ विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको यस अध्ययनमा बुजुर्गको शारीरिक र मानसिक अवस्थाको नियमित मूल्यांकन आवश्यक रहेको सुझाव दिइएको छ। अनुसन्धानकर्ताका अनुसार कमजोरी र डिप्रेसनको समय मै पहिचान तथा उपचारले डिमेन्सियाको जोखिम घटाउन मद्दत गर्न सक्छ।
यस अघि प्रकाशित अधिकांश अध्ययनले शारीरिक कमजोरी वा डिप्रेसन र डिमेन्सिया बीचको सम्बन्धलाई छुट्टा छुट्टै रूपमा मात्र विश्लेषण गरेका थिए।
नयाँ अध्ययनमा भने अमेरिका र बेलायतका दुई लाख भन्दा बढी व्यक्तिको तथ्यांक विश्लेषण गरिएको छ, जसमा बेलायतको बायोबैंक डाटासेट पनि समावेश छ। १३ वर्षको फलोअप अवधिमा ९ हजार ८८ जना सहभागीमा डिमेन्सिया देखिएको अध्ययनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस